बारद्वारा न्यायाधीशको बिदाई

बाँके जिल्ला अदालतमा अब ६ जना न्यायाधीश कार्यरत रहने

बसन्त गौतम

बार एशोसिएसनले बाँके जिल्ला अदालतबाट सरुवा भई अन्यत्र जान लागेका ४ जना न्यायाधीशहरुको मंगलबार बिदाई गरेको छ । जिल्ला बार एकाईको आयोजना भएको बिदाई समारोहमा जिल्ला न्यायाधीश बिष्णु सुवेदी, ओम प्रसाद अर्याल, रामराजा उप्रेती र अनिल कुमार शर्माको बिदाई गरिएको हो । ति न्यायाधीहरुको क्रमश महोत्तरी, काठमाडौं, नवलपुर र सिराहा जिल्ला अदालतमा सरुवा भएको छ ।

बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मोहम्मद अयुव सिद्धिकीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ताहरु भोला सिंह हमाल, श्याम गौतम, उच्च बारका अध्यक्ष बिकाश आचार्य, अधिवक्ताहरु कुसुमा सुवेदी, कौशल कुमार शर्मा र पुनम श्रेष्ठले बाँके जिल्ला अदालतमा कार्यरत रहदा न्यायाधीशहरुबाट भएको कार्यको प्रसम्सा गर्दै आगामी दिनमा पनि न्यायका उपभोक्तालाई गुणस्तरिय सेवा दिनमा सकारात्मक भुमिका हुने बिश्वास ब्यक्त गरेका थिए ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश बिष्णु सुवेदीले न्याय सम्पादनमा सहयोग गर्ने सबैलाई धन्यवाद गर्दै बाँकेका कानून ब्यवशायी, नागरिक समाज, पत्रकार लगायत सबैको सकारात्मक सहयोगले न्याय सम्पादनमा सहयोग मिलेको बताए ।
यसै गरि न्यायाधीशहरु ओम प्रसाद अर्याल, रामराजा र अनिल कुमार शर्माले प्रभावकारी न्याय सम्पादनमा उचित ध्यान दिने प्रयास गरेको भन्दै बार र यहाँका कानून ब्यवशायीको सकारात्मक र सक्रिय भुमिकाले न्याय सम्पादनमा सहज भएको बताए ।

बाँके जिल्ला अदालतमा १ नं जिल्ला न्यायाधीशको रुपमा मकवानपुरबाट षडानन्द तिवारी आउने भएका छन् । यस्तै बाँके जिल्ला अदातलतमा न्यायाधीशहरु राजेन्द्र नेपाल, धनेश्वर पौडेल र दुर्ग बहादुर भुषाल सरुवा भई आउदै छन् । न्यायपरिषद्ले एकै पटक उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ गरि जम्मा २४० न्यायाधीशहरुको सरुवा गरेको थियो ।
बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु राम प्रसाद बश्याल र दिलिप पन्तको भने सरुवा भएको छैन । न्यायपरिषदले गरेको नयाँ सरुवा लिष्ट अनुसार बाँके जिल्ला अदालतमा अब ६ जना न्यायाधीश कार्यरत रहने छन् ।

यसै गरि उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासबाट पनि २ जना न्यायाधीशको सरुवा भएको छ भने सरुवा भएको ठाउँमा अन्यत्रबाट २ जना न्यायाधीश आउदै छन् । नेपालगज उच्च अदालतबाट न्यायाधीश शान्ति सिंह थापाको बिशेष अदालत काठमाण्डौमा सरुवा भएको छ भने न्यायाधीश खुशी प्रसाद थारुको उच्च अदालत पाटनमा सरुवा भएको छ । नेपालगन्ज उच्च अदालतमा उच्च अदालत बुटवलबाट गोकर्ण डाँगी र उच्च अदालत पोखराबाट नर बहादुर शाहीको सरुवा भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया