बर्दिया/भावुक योगी
बर्दियाको गेरुवा गाउँपालिका–४ मा बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटे बाघ मरेको अवस्थामा फेला छ । मरेको बाघ जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो । खेतमा बँदेल लगायतका वन्यजन्तुका लागि थापेको करेन्ट पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका–४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमुनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । बाघ तीन देखि चार दिन अघि मरेको हुनसक्ने अनुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटेबाट करेन्ट लागेर मारिएको र बाघ मरेपछि स्थानीयले जमिनमुनि गाडेको भन्ने गोप्य सुचनाका आधारमा उत्खनन गरि निकालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । बाघ कसरी मरेको विषयमा पोष्टमाटर्म रिपोर्ट पछि जानकारी हुने भएकाले थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले करेन्ट लागेर जमिनमुनि गाडिएको बाघलाई उत्खनन गरि निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याइएको छ । करेन्ट पासो लगाएर बाघ मार्ने र मरेको बाघ जमिनमुनि गाडेको सन्दर्भमा अनुसन्धानका लागि स्थानीय चार जनालाई निकुञ्ज प्रशासनले पक्राउ गरेको छ । बाघ कसरी मारिएको बारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । चार पाँच वर्ष अघि बर्दियाको राजापुर र कर्मलामा स्थानीयले थापेको करेन्ट पासोमा परेर दुईवटा जंगली हात्ती पनि मरेका थिए ।