परिवार नियोजन संघ बाँकेमा केसी सर्वसम्मत

सभापति बाहेकमा भने पद भन्दा बढीको उम्मेदवारी

 
झण्डै तीन बर्षदेखि किचलो रहेको नेपाल परिवार नियोजन संघ बाँके शाखाको नेतृत्व सर्वसम्मत चुनिएको छ । नेतृत्वकै गुटबन्दी र खिचातानीले थिलोथिलो परेको संघको किचलो नयाँ नेतृत्व चयनसँगै समाप्त हुने विश्वास गरिएको छ ।
निर्वाचन अधिकृत बल बहादुर चन्दका अनुसार, सोमबार भएको उम्मेदवारी दर्ताका क्रममा सभापति पदमा मुकुन्द बहादुर केसीको मात्र उम्मेदवारी परेको छ । ‘निर्वाचन कार्यतालिका अनुसार नतिजा घोषणा नगरिएपनि सभापति पद भने सर्वसम्मत भएको छ’, अधिवक्ता चन्दले दैनिक नेपालगन्जसँग भने ।

 
अध्यक्षका दाबेदार सुरेन्द्र बहादुर श्रेष्ठ र विनम कुमार श्रेष्ठले केसीलाई नेतृत्व दिन सहमत भएपछि सभापति सर्वसम्मत भएको हो । ‘२५ बर्षदेखि सेवारत मेरो आग्रहलाई प्रतिस्पर्धी दुै साथीहरुले कदर गरेर मलाई नेतृत्वमा सर्वसम्मत जिम्मेवारी सुम्पनुभयो’, केसीले तीन बर्षदेखि लथालिङ संघलाई संस्थागत विकासका दिशामा अगाडि बढाउने कार्ययोजना सुनाउँदै भने, ‘साथीहरुको विश्वासलाई जितेर अगाडि बढ्छु ।’

 
सर्वसम्मत चयन भएका सभापति केसीले संस्थामा गुटबन्दी हाबी हुन नदिने र सबै पक्षलाई मिलाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘व्यक्तिगत लडाईलाई संस्थामा हाबी हुन दिन्न ।’ उनले संस्था बदनाम हुँदै गएकाले संस्थाको शाख जोगाउन पनि आपसी एकता अपरिहार्य हुँदै गएको बताए ।

 
‘बीचबाट निकास दिन सर्वसम्मत नेतृत्व चयन गरियो’, सभापतिका दाबेदार समेत रहेका तदर्थ समितिका संयोजक सुरेन्द्र कुमार श्रेष्ठले परिणामपछि दैनिक नेपालगन्ज भने, ‘संस्थाको शाख जोगाउन पनि अर्को विकल्प थिएन ।’ उनले दाबेदार दुवै साथीले संस्थाको जिम्मेवारी सम्हालिसकेकाले पनि केसीलाई अघि सार्नु स्वभाविक भएको बताए । ‘अब सबै मिलेर संस्थालाई अगाडि बढाउनु पर्छ’, केसीले भने ।

 
१३ सदस्यीय कार्यसमितिमा सभापति बाहेकका पद भने सबैमा आवश्यकता भन्दा धेरै उम्मेदवारी परेको छ । निर्वाचन समितिका प्रवक्ता, अधिवक्ता प्रभाकर भट्टराईका अनुसार, ५ महिला सदस्य निर्वाचित गर्नुपर्नेमा ९ जनाको उम्मेदवारी परेको छ । खुला तर्फ ४ सदस्य रहने वैधानिक व्यवस्था रहेकोमा ७ जना र युवा सदस्यहरुमा ३ जना आवश्यक रहेकोमा ५ जनाको उम्मेदवारी परेको छ ।

 
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय भोलि बुधबार ३ बजेसम्म रहेकाले सर्वसम्मतको प्रयास जारी राखिएको छ । महिला सदस्यका लागि मुना श्रेष्ठ, पवित्रा बस्नेत, सुजिता श्रेष्ठ, सितादेवी वैश्य, शशी स्वाँर, संगीता वैश्य, लक्ष्मीकुमारी श्रेष्ठ, सञ्जु महाजु र नन्दकला श्रेष्ठले उम्मेदवारी दिएका छन् । खुलातर्फ सुरेन्द्र कुमार श्रेष्ठ, हंशराज गुप्ता, जितेन्द्र कुमार जोशी, महेन्द्र प्रताप सिंह, बदरुद्ददुजा खाँ, जन्मजयप्रताप वर्णवाल नवराज क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । युवा सदस्य तर्फ अमृतलाल वैश्य, मो. अर्श अन्सारी तथा युवा सदस्य किशोरी तर्फ अदिति वैश्य, ममता गुप्ता र साधना शर्माले उम्मेदवारी दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए । फिर्ता लिने समयसम्म उम्मेदवारी यथावत रहे बिहीबार मतदान गरिने निर्वाचन अधिकृत चन्दले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया