बजेट छलफलमै स्थानीय सरकार

समाचारदाता
दैनिक नेपालगन्ज

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेका स्थानीय सरकारले छलफललाई वडा स्तरमा पुर्याएका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, जानकी गाउँपालिका लगायतले बजेट वडास्तरमा छलफल चलाएका हुन् ।

 
‘प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई वडा समितिमा पठाएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बिहिबार भनिन्, ‘वडा भेला गर्नेदेखि वडा समितिमा छलफल गर्नेसम्मका प्रक्रियाहरु पूरा गरेर नगरसभाको अर्को बैठकमा पेश गरिनेछन् ।’ उपप्रमुख थापाका अनुसार, प्रत्येक वडालाई बजेटको ‘बे्रक डाउन’ गरेर ल्याउन भनिएको छ । नेपालगन्जले २ अर्ब ४३ करोडको बजेट प्रस्ताव गरेको छ । ‘असार २१ गते नगरसभाको अर्को बैठकले बजेट र नीति कार्यक्रमलाई निष्कर्षमा पुर्याउने’ उपप्रमुख थापाको भनाइ छ ।

 
खजुराले भने छलफलका प्रक्रिया टुङ्ग्याएको जनाएको छ । बुधबार दिनभरजसो भएको गाउँ कार्यपालिकाको बैठकले बजेट छलफललाई टुङ्ग्याएको हो । ‘कार्यपालिका बोर्डबाट छलफल टुङ्ग्याएका छांै’, नीति तथा कार्यक्रम पारित गरिसकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘आगामी १९ गते मंगलबार गाउँसभाको दोस्रो बैठक डाकिएको छ ।’ सभामा नै बाँकी विषयले प्रवेश पाउने जानकारी दिंदै प्रमुख कक्षपतिले नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा घनिभूत छलफल गरिएको जानकारी दिए । खजुराले झण्डै ६० करोडको बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

 
कोहलपुरले आगामी २१ गते बिहिबार नगरसभाको दोस्रो बैठक डाकेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले त्यतिञ्जेल नीति तथा कार्यक्रम र बजेट नीतिलाई वडास्तरमा छलफल चलाइएको जानकारी दिए । ‘प्रत्येक वडास्तरमा नीति तथा कार्यक्रम र बजेट बारे छलफल चलिरहेको छ’, नगरप्रमुख रावतले दैनिक नेपालगन्जसँग भने ।
जानकी गाउँपालिकाको भने गाउँसभाको अर्को बैठक अनिश्चित छ । ‘बजेट र नीति तथा कार्यक्रम माथिको छलफल वडास्तरमा नटुङ्गिएसम्म गाउँसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ’, गाउँपालिका प्रमुख राम निवास यादवले दैनिक नेपालगन्जसँग भने, ‘नीति तथा कार्यक्रम र ३१ करोड १७ लाख रुपैयाँको बजेट प्रस्ताव प्रत्येक जनप्रतिनिधिलाई दिएर वडास्तरमा पठाइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया