नेपालगन्जमा विश्व वातावरण दिवस मनाइयो

आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइदैछ । त्यसक्रममा नेपालगन्जमा पनि र्याली तथा नाटक प्रदर्शन गरिएको छ ।

१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकार गरिएको हो ।

दिवसको मुख्य उद्देश्य भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउनु नै हो । ‘म प्रकृति सगै छु’ भन्ने मूल नारा सहित मनाउन लागिएको दिवसका अवसरमा नेपालगन्जमा आज र्याली निकालिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको वातावरणलाई दुषित बनाउने प्रमुख कारणको रुपमा रहेको प्लाष्टिकजन्य वस्तुहरु रहेकोले विश्व वातावरण दिवसको उपलक्ष्यमा नगरलाई प्लाष्टिक मुक्त क्षेत्रको रुपमा अभियान चलाउने बताए ।

उपमहानगरपालिकाका बातावरण इन्जिीनियर प्रकाश डिसीले पछिल्लो चरणमा बातावरण स्वच्छताका लागि उपमहा–नगरपालिकाले सरसफाई लगायत सचेतनामुलक कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको जानकारी दिएका छन् ।

पुष्पलाल चोकबाट सुरु भएको र्याली नेपालगन्ज उपमहानगरपालिकामा समापन भएको थियो । त्यस अवसरमा चियर्स क्रियटिभ नेपालले सचेतनामूलक नाटक समेत प्रदर्शन गरेको थियो ।

र्यालीमा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल इन्जिनियररिङ्ग एशोसिएसन क्षेत्रीय केन्द्र नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका, विभिन्न विद्यालयका विद्यार्थी, उद्योगी, व्यवसायी लगायत सहभागी रहेका थिए ।

(तस्वीर : प्रदिप चौधरी/नेपालगन्जन्यूज)

 

 

प्रतिक्रिया

प्रतिक्रिया