आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपाललाई कतारले ४ विकेटले हराएको हो।
हारसँगै विश्व छनोटमा पुग्न नेपालले बाँकी रहेका ३ खेलमा जित हात पार्नु पर्ने दबाब बढेको छ।
नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो।
कतारका लागि इनाम उल अकले सबैभन्दा बढी ४१ रन जोडे। उनले ३२ बलमा ६ चौका प्रहार गरे। करमान खानले २२ रन जोडेका थिए। नउमान सरवारले नटआउट १५ रनको योगदान गरे।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। तर उनले ४ ओभरमा ३३ रन खर्चिए। करण केसीले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गरेको थियो। नेपाल २० ओभरमा १२२ रनमै अलआउट भयो।
कमजोर ब्याटिङ गरेको नेपालका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभिलियन फर्किए।