योगसँगै सफलताका सुत्र सिकाउँदै डा. योगी विकासानन्द

नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सहयोगका लागि ६ दिने ध्यान, योग शिविर सुरु

नील सागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले नेपालगन्जमा ६ दिने ध्यान, योग शिविर सुरु गरेको छ । ज्येष्ठ, असहाय तथा अशक्त नागरिकहरुको आश्रय स्थलका रुपमा रहेको रहेको केन्द्रले भवन निर्माणमा सहयोग जुटाउन मनोक्रान्ति केन्द्र नेपालगन्जसँग मिलेर शिविर आयोजना गरेको हो ।
शुक्रबार शिविर उद्घाटन कार्यक्रममा बोल्दै डा. योगी विकासानन्दले संघर्षले सफलता प्राप्त हुने बताए । उनले भने, ‘दुःख पछि सुख मिल्छ, संघर्ष गर्नु भन्दा पहिल्यै सुख खोजेमा सफल हुन सकिंदैन ।’ सफलता सबैको चाहना भएको उल्लेख गर्दै डा. योगी विकासानन्दले ५ प्रतिशत मानिसमात्रै जीवनमा सफल हुने गरेको उल्लेख गरे ।
‘सफल हुन अरुलाई खुशी पार्न सक्नु पर्छ, अरुको विश्वास आर्जन गर्न सक्नुपर्छ’, डा. योगी विकासानन्दले भने, ‘सफलता भनेको अरुलाई खुशी पारिराख्ने विज्ञान पनि हो ।’ सफलता हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिनसक्नु चुनौतिपूर्ण रहेको बताउँदै उनले निरन्तर रुपमा सफलता टिकाउन लागि पर्नुपर्ने धारणा राखे ।
डा. योगी विकासानन्दले सफलताका लागि स्वस्थ हुन आवश्यक रहेको बताए । ‘नियमित योग, ध्यानले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ’, उनले भने, ‘सकारात्मक सोंचका लागि खाने, बस्ने तरिका पनि सही हुनुपर्दछ ।’ पछिल्लो समय डिप्रेसनका विरामीहरु बढ्नुको कारक मस्तिष्कमा अक्सिजन नपुग्नु भएको उल्लेख गर्दै डा. योगी विकासानन्दले नियमित योग गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो शरीर चल्नका लागि शक्ति चाहिन्छ’, डा. योगी विकासानन्दले स्वस्थ जीवनयापनका लागि खानामा पनि ध्यान दिन सुझाव दिंदै भने ।

 

मनोक्रान्ति केन्द्र नेपालगन्जका अध्यक्ष अमन सुवेदीले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज नगरप्रमुख डा. धवल समशेर राणाले एक महिना बराबरको तलब, भत्ता ५० हजार केन्द्रलाई सहयोग गरेका थिए । बागेश्वरी मन्दिरको पार्कमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख डा. राणाले नगरपालिकाले केन्द्रका लागि बजेट छुट्याएको जानकारी दिंदै आगामी बर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

 

त्यसक्रममा नगरप्रमुख डा. राणाले बागेश्वरी मन्दिरको सौन्र्दयीकरण बढ्दै गएको बताएका थिए । उनले बागेश्वरी मन्दिर प्रवेशमा रहेका पसलहरु व्यवस्थापन गर्न पूर्वपट्टी २२ वटा सटर निर्माण गरिएको जानकारी दिए । उनले मन्दिरलाई सौन्र्दयीकणको पहिलो चरणको काम तिहार लगत्तै सम्पन्न गर्ने जानकारी दिंदै पार्कमा बालबालिकाहरुलाई खेल्नका विभिन्न सामाग्री निर्माण भैरहेको जानकारी दिए । उनले मन्दिरको तलाउमा बोटिङ्गको व्यवस्था गरिएको उल्लेख गर्दै भने, ‘धार्मिक तथा सामाजिक कार्यका लागि सभा हल निर्माण गरेका हौं ।’

 

कार्यक्रम संयोजक विजयकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले डा. योगी विकासानन्दले प्रतिपादन गरेका ध्यान, योग तथा उपचार विधि नेपालगन्जमै सिक्न पाउनु अवसर भएको बताए ।
केन्द्र अध्यक्ष सरिता खनालले स्वागत गर्दै मनोक्रान्ति र प्रवचन र योगको लाभ लिन आग्रह गरिन् । उनले डा. योगीले सकारात्मक सोच, सहज र सरल योग ध्यानविधि, परिणाममुखी प्रणायाम, बुद्ध ज्ञान, महाज्ञान साधनाकाबारे प्रवचन दिने जानकारी दिइन् ।

 

नील सागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा झण्डै ४० जना अशक्त, असहाय र ज्येष्ठ नागरिक आश्रित रहेका छन् । केन्द्रीय विभिन्न व्यक्ति, संघ, संस्थाको सहयोगमा उनीहरुलाई बस्ने, खाने र औषधी उपचारको व्यवस्था गर्दै आएको छ ।

 

केन्द्रका अभिभावक विजय कुमार गुप्ताले केन्द्रमा आश्रितहरुलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले झण्डै ५ करोड लागतमा दानमा प्राप्त जग्गामा भवन निर्माणका लागि स्रोत जुटाउने प्रयास गरिएको बताएका छन् । ‘विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको आश्वासन पाएका छौं’, उनले स्रोत जुटे लगत्तै निर्माण कार्य सुरु हुने जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया