पूर्व मन्त्री नमुनासहितको टोलीद्धारा बाँस हस्तकला तालिमको अनुगमन

लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताउनुभयो ।
अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको सराहना गर्नुभयो ।
उहाँले यस्ता सिपमूलक र रोजगारी सिर्जना गर्ने तालिमहरु ग्रामिण क्षेत्रमा बढी भन्दा बढी हुनुपर्ने जनाउँदै त्यसका लागि प्रदेस सरकारलाई आफुले पनि अनुरोध गर्ने बताउनुभयो ।
बाँस हस्तकला तालिममा सहभागि १४ जना युवतीहरूले कुर्सी, टेबल, बस्ने स्टुल, बच्चाको झुला र पूजा गर्ने टोकरी जस्ता विभिन्न बाँसका वस्तुहरू बनाउँदै सो तालिम लिइरहेका छन् । तालिम समापन भएपछि उनीहरूले गरेको उत्पादनलाई बिक्रीको लागि बजारसँग जोडिने कार्य गरिने बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।


सो तालिमको उद्देश्य बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्त समाजमा सम्मानजनक जीवन बिताउन युवतिहरुलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न रोजगारी सिर्जना गर्नु रहेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
उक्त तालिमको प्रशिक्षकमा विकास चौधरी रहनु भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया