अब नरैनापुरमै उच्च शिक्षा

अहिले सम्म शिक्षा र विकासमा पछि परेको भन्दै दावी गरिएको बाँके नरैनापुर गाउँपालिका अब आफ्नो छुट्टै उच्चस्तरीय क्याम्पस स्थापना गर्ने तयारी गरेको छ ।


नरैनापुरका युवाहरुको सामूहिक प्रयास पछि आइतबार सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापनाका लागि आयोजित कार्यक्रममा विधिवत रुपले क्याम्पस संचालन प्रक्रिया अघि बढेको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद सुर्य ढकाल, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाको समेत सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नरैनापुरका युवाहरुको उत्साह हेरेर अब केहि बदलाव हुने तर्फ आफु विश्वस्त भएको बताए । सरकार संग मात्र आस गर्ने स्थानमा युवाहरु स्वस्फूर्त रुपमा क्याम्पस स्थापना तर्फ अग्रसर भएको देख्दा खुसी लाग्यो, उनले भने, गाउँपालिका र मेरो ब्यक्तिगत तर्फबाट समेत आफु क्याम्पस संचालनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छु ।


कार्यक्रममा सहभागी संघीय सांसद सुर्य ढकालले क्याम्पस संचालनका लागि आवश्यक आर्थिके ब्यवस्था मिलाउन आफु अघि बढ्ने बताए । म केन्द्र प्रदेश सबै तर्फ यो विषय उठाउँछु, उनले भने, नरैनापुरको शिक्षा तथा विकासका लागि आफु चिन्तित रहेको बताए ।


संधै पछि परेको उदाहरणबाट नरैनापुर अब मुक्त हुनु पर्छ, सांसद ढकालले भने, परिवर्तन स्थानीयस्तरबाट सुरु भएको छ अब सुधार अवस्य हुन्छ । कार्यक्रममा उपस्थित प्रदेश सांसद कृष्णा केसी नमुनाले नरैनापुर बदल्न आफु कुनै कसर बाँकी नराख्ने बताइन ।


नरैनापुरका लागि पछिल्लो समयमा भएको विकास मात्र प्रयाप्त होेइन, सांसद केसीले भनिन, यद्यपि नरैनापुर अब पुरानो अवस्थामा छैन । उनले क्याम्पसका लागि आफुले हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै नरैनापुरको विकासका लागि प्रत्यक्ष रुपमा आफ्नो भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता समेत ब्यक्त गरिन ।


नरैनापुरका शैक्षिक विकासका लागि चौतर्फी रुपमा सहयोग आवश्यक रहेको बताउँदै अधिवक्ता राम कुमार दीक्षितले क्याम्पस संगै महिला कलेजको अवधारणा पनि अघि बढाउनु पर्ने सुझाव दिए । नरैनापुरमा महिला शिक्षा अझै धेरै जटिल अवस्थामा रहेको जानकारी दिँदै उनले क्याम्पसका लागि २ लाख ५० हजार रुपैया आर्थिक सहयोगको पनि घोषणा गरे ।


नरैनापुर गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण कुमार चौधरीले शैक्षिक सुधारका लागि आफु सबै प्रकारले हातेमालो गर्न तयार रहेको बताए । पछिल्लो केहि समय यता नरैनापुरको विद्यालयहरुको अवस्था सुधार हुँदै गएको बताउँदै उनले स्थानीय स्तरमा क्याम्पस स्थापना हुँदा शिक्षा क्षेत्र थप बलियो हुने उनले बताए ।


२०६० साल तिरको नरैनापुर र अहिलेको नरैनापुरमा ब्यापक सुधार भएको बताउँदै अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्षक सुर्यलाल यादवले, नरैनापुरबाट अब बाँकी गाउँपालिकाले पनि केहि सिक्नु पर्ने अवस्था उत्पन्न भएको बताए । उनले कुनै बेला भारतको बाटो भएर नरैनापुर आउनु पर्ने बाध्यता रहेको स्मरण गराउँदै अब नरैनापुर दुर्गम नरहेको जिकिर गरे ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट ७ लाख ६१ हजार १ सय ६२ रुपैया सहयोग संकलन भएको बताइएको छ ।

यादवको नेतृत्वमा संचालक समिति गठन


बाँके नरैनापुर गाउँपालिका वडा नं.४ मा स्थापना हुन लागेको सन्तानेश्वर बहुमुखी क्याम्पसका लागि एक कार्यक्रम बिच स्थानीय युवा सोहन लाल यादवको संयोजकत्वमा विभिन्न समितिहरु गठन भएको छ ।


समितिको सह संयोजकमा बृजेन्द्र कुमार यादव, सचिवमा विनय दीक्षित चयन भएका छन् । सदस्यहरुमा क्रमशः शालिनी पाठक, संगिता कुमारी मौर्य, नरहरी नाथ योगी, राम निवास यादव, हासमा खाँ र विजयजीत सिंह चयन भएको संयोजक सोहन लाल यादवले बताए ।


त्यसैगरि आर्थिक ब्यवस्थापन समितिमा तेज प्रकाश दीक्षित, मनोज तिवारी, मनोज तमोली, लक्ष्मीकान्त मिश्रा, सालिकराम साहु, प्रकाश अधिकारीलाई चयन गरिएको छ । कानूनी तथा प्रशासनिक समितिमा अधिवक्ता राम कुमार दीक्षित, गिरवर प्रसाद यादव, भरत महतो, गुरुमूरत यादव र मुकद्दर अली मुकेरीलाई चयन गरिएको छ ।


सल्लाहकार सहयोग समितिमा वडा नं.४ का वडा अध्यक्ष मनोजक कुमार शर्मा संयोजक रहनेगरि वडा नं.१ का अध्यक्ष इसहाक जोलाह, वडा नं.२ का अध्यक्ष मसूद अहमद शाह, वडा नं.३ का वडा अध्यक्ष अजय कुमार मिश्रा, शिक्षा शाखा प्रमुख कृष्ण कुमार चौधरी, पूर्व प्र.अ.पेशकार सिंह र पत्रकार सुर्यलाल यादवलाई चयन गरिएको संयोजक यादवले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया