बाँके : विद्युत प्रसारण क्षमता वृद्धि

देबेन्द्र राज पौडेल

नेपाल विद्युत प्राधिकरणको कोहलपुर सब स्टेशनको विद्युत प्रसारण क्षमता बिहीबारदेखि वृद्धि हुने भएको छ । प्राधिकरणले ३० केभिएको पावर ट्रान्सफरमर जडान गरी प्रसारण क्षमता वृद्धि गर्न लागेको हो ।

‘सोमबारदेखि ३० एम.भि.ए. पावर ट्रान्सफरमर जडान कार्य सुरु भएको छ’, प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र प्रमुख उमेश झाले भने, ‘बुधबारसम्म जडान कार्य सकिनेछ ।’ अहिले कोहलपुर सब स्टेशनमा १५ र ३० एमभिएका दुई वटा ट्रान्सफरमर मार्फत ३५ मेगावाट सम्म विद्युत प्रसारण क्षमता थियो ।

प्राधिकरणले १५ एमभिएको ट्रान्सफरमर हटाई ३० एमभिएको थप गर्न लागेको हो । ट्रान्सफरमर थपिएपछि कोहलपुर सब स्टेशनमा ३०/३० केभिएको दुई वटा टान्सफरमर हुनेछ । ‘ट्रान्सफरमरको क्षमता ८० प्रतिशत
सम्म प्रयोग गर्न सकिन्छ’, प्रमुख झाले भने, ‘यसबाट लोड भएका बेला नेपालको ४८ मेगावाट विद्युत सहजै प्रवाह गर्न सकिन्छ ।’

ट्रान्सफरमरको अभावमा चाहिएजति विद्युत राष्ट्रिय प्रसारणबाट लिन सकिएको थिएन । ‘अब आवश्यक परेका बेला नेपालगन्जका लागि पनि थप विद्युत उपलब्ध हुन्छ’, झाले भने । कोहलपुर सब स्टेशनबाट गुलरियाका लागि १० मेगावाट, सुर्खेतका लागि ८ देखि १० मेगावाट, कोहलपुरका लागि ८ देखि १० मेगावाट र नेपालगन्जका लागि ६ मेगावाट सम्म विद्युत प्रसारण हुदै आएको छ ।

ट्रान्सफरमर जडानका क्रममा रहेकाले आज बुधबार सम्म नेपालगन्जमा विद्युत प्रसारण अनियमित हुने वितरण केन्द्र प्रमुख झाले जानकारी दिएका छन् । नेपालगन्जमा अहिले भारतबाट १२ र नेपालबाट ६ मेगावाट विद्युत प्रसारण भैरहेको वितरण केन्द्रले जानकारी दिएको छ । ‘पिक आवरमा अझै विद्युत अपुग भैरहेको छ’, झाले भने ।

‘सानो क्षमताको ट्रान्सफरमर हुदा समस्या भैरहेको थियो’, विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख विनोद उपाध्यायले सिस्टमको लोड बढ्दै गएकाले ट्रान्सफरमरको क्षमता बढाउन लागेको प्रतिक्रिया दिंदै भने । ‘यसले कोहलपुर सब स्टेशनबाट विद्युत प्रसारण हुने क्षेत्रलाई आवश्यक परेका बेला राष्ट्रिय प्रसारणबाट थप विद्युत लिन सकिन्छ’, प्रमुख उपाध्यायले भने ।

प्रतिक्रिया

प्रतिक्रिया