मलेशियाबाटै ‘तलाक’

विनय दीक्षित

आठ वर्ष अघि बाँके उढरापुर बस्ने एक युवक संग विवाह गर्दा सकिना(परिवर्तित नाम) निकै खुसी थिइन । विहे भएको एक सातामा उनका पति मलेशिया गए । त्यहाँबाट ४ वर्षपछि फर्किए । सकिनाले त्यस दौरान सासु ससुराबाट विभिन्न किसिमको यातना पाएको खुलाइन ।

तरपनि, पति संगै बस्ने र विस्तारै समस्या समाधान हुने सकिनाको आस मरेन । चार वर्षपछि आएका पति एक महिना पछि फेरि मलेशिया फिर्ता गए । त्यसपछि पतिले आठ वर्षपछि उनलाई तलाक दिए । भारत बहराईच घरभएकी सकिना संग विवाह भएको कुनै प्रमाण छैन । नागरिकता र विवाद दर्ता जस्ता अत्यावश्यक कागजात नभएपनि उनी न्यायका लागि अदालत पुगेकी हुन् ।

बाँके जिल्ला अदालतमा भेटिएकी सकिनाले दैनिक नेपालगन्ज संग भनिन्, ‘घर भित्र मैले झेल्नु परेको कतिपय समस्या भन्न सक्ने किसिमका छैनन् । तरपनि, पतिलाई छाड्नु भन्दा संगै बस्नुलाई मैले राम्रो ठानेकी थिएँ ।’ ८ वर्षमा एक महिना ७ दिन मात्र श्रीमान संगै बस्न पाएँ, उनले भनिन्, अहिले मलाई तलाक दिएर घरबाट निकाल गरिएको छ ।

आफ्नो आमा र दाई संग अंश तथा सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्न पुगेकी सकिनाले गाउँमा आफुझैं धेरै महिलाहरु तलाकबाट पीडित रहेको खुलासा गरिन । तलाक अर्थात सम्बन्ध विच्छेद मुस्लिम समुदायमा श्रीमतीलाई छोड्नु परेमा मौखिक रुपमा भन्ने तीन वटा शब्द हुन् । तीन पटक तलाक भनेपछि श्रीमान श्रीमतीको सम्बन्ध मुस्लिम धार्मिक मान्यता अनुसार विच्छेद भएको मानिन्छ ।

सबनम (परिवर्तित नाम)ले विवाह गरेको ४ वर्षपछि एउटा छोरा सहित तलाक खेप्नु पर्यो । बाँकेमै घर भएको उनी अहिले अदालतमा अंश मुद्दा र खाना खर्च मुद्दा लडिरहेकी छिन् । तलाक पाएकी महिलाहरुलाई समाजमा पनि सकारात्मक हिसाबले हेरिँदैन, उनले भनिन्, बुबाको घरमा पनि बोझ भएझैं कति दिन बस्न सकिन्छ ।

पतिले अर्कै विवाह गरेपछि सबनमलाई तलाक दिएका थिए । अंश मुद्दा दिएपछि उनका पति अहिले नयाँ पत्नी सहित भैरहवा बस्दै आएका छन् । दुबै महिला मुस्लिम समुदायमा ब्याप्त रहेको तलाक समस्याको प्रतिनिधी पात्र मात्रै हुन् । कानूनी उपचारको पहलमा आउन नसकेका तलाक समस्या जटिल रहेको अनुमान गर्न सकिन्छ ।

बाँकेमा मुस्लिम मात्रै होइन, अन्य समुदायमा पनि सम्बन्ध विच्छेद डरलाग्दो अवस्थामा रहेको अदालतको तथ्याँकले देखाएको छ । आर्थिक बर्ष २०७२/०७३ मा बाँके जिल्ला अदालतमा ३७४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको छ ।
०७०/०७१ मा ३१७ र ०७१ /०७२ मा सम्बन्ध विच्छेदका ३६३ मुद्दा दर्ता भएको अदालतको अभिलेखले देखाएको छ । ‘पुरुषको तुलनामा सम्बन्ध बिच्छेद गर्न महिलाका लागि सहज कानूनी ब्यवस्था भएका कारण स्वतन्त्र हुन चाहेका र घरेलु हिंसामा परेका महिलाहरुले सम्बन्ध बिच्छेद मुद्दा दर्ता गराउने गर्दछन् ।’

समाजमा कतिपय लोग्ने मानिस पनि हिंसामा परेका छन् तर लोग्ने मानिसका लागि सम्बन्ध बिच्छेद गराउने जटिल कानूनी ब्यवस्था भएका कारण केटाको तर्फबाट न्यून मात्रा उजुरी दर्ता हुने गरेको अधिवकता लोक बहादुर शाहको भनाई छ । पुरुषले सम्बन्ध विच्छेद गर्नु पर्ने गाउँपालिका वा नगरपालिकामा उजुरी दर्ता गर्नु र त्यहाँ टुंगो नलागेपछि मात्रै अदालतमा मुद्दा दर्ता गर्न पाउने कानूनी ब्यवस्था छ ।

यद्यपि तलाकलाई अदालत र नेपालको कानूनले स्वीकार गरेको छैन । अधिवक्ता शाह भन्छन्, ‘तलाकलाई अदालतले मान्दैन ।’ ‘तर महिलाले कानून अनुसार लिन मिल्ने सबै सुविधामा दावी गर्न पाउँछ’, उनले भने, ‘नागरिकता, विवाहदर्ता वा विवाह संग सम्बन्धित कुनै कागजातहरु नभएपनि साक्षी सर्जमीनलाई आधार मानेर अदालतले न्याय गर्दै आएको छ ।’

के छ कुरआनमा ?

मुस्लिम समुदायका पुरुषहरुले आफु खुसी सामान्य विषयमा रिसाएर महिलालाई दिने तलाक (सम्बन्ध विच्छेद) त्यति सजिलो नरहेको धार्मिक विश्लेषकको भनाई छ ।

मौलाना जियाउल मुस्तफा नुरानीले कुरआनलाई वास्तविक रुपमा अध्ययन गर्न नसकेका कारण मुस्लिम समुदायमा तलाक जस्ता समस्या देखा परेको बताएका छन् । ‘मुस्लिम समुदाय शिक्षामा पछि रहेकोले त्यसको असर कुरानमा पनि देखा परेको हो’, उनले भने, ‘तलाक कुनै साधन होइन यो अनुशासन हो ।’

‘तलाक अन्तिम विकल्प हो’, कुरानमा लेखिएको ब्यवस्थालाई ब्याख्या गर्दै मौलाना नुरानीले भने, ‘पतिपत्नि विचको समस्या समाधानमा कुनै विकल्प देखा नपरेमा मात्रै तलाक दिन सकिने प्रावधान छ ।’ ‘यो ब्यवस्थालाई अहिले दुरुपयोग गर्दै आफु खुसी तलाक दिने चलन बढेको हो, त्यो जायज होइन’, उनले भने ।

तलाक एकदमै कमजोर कडी हो, जीवन निर्वाहका लागि महिला संग विवाह गर्ने र सानो विषयमा तलाक भन्ने प्रचलनलाई कुरआनले नै जायज भनेको छैन । ‘तलाक पाएको महिलाले अदालतमा अंश, नाता कायम, खाना खर्च जस्ता ब्यवस्थाका लागि पहल गर्न सक्छ’, मौलाना नुरानीले भने । मदरसा वरकातिया हाईस्कूल नेपालगन्जका प्रबन्धक समेत रहेका मौलाना नुरानी समुदायमा कुरआनका विशेषज्ञको रुपमा मानिएका छन् ।

‘तलाक दिएको पतिले पत्नीलाई खाना खर्च र अंश दिनु पर्ने ब्यवस्था कुरानमा नै छ’, उनले भने, ‘साथै आमा बुबाको घरबाट पनि त्यस्तो महिलाले अंश प्राप्त गर्न पाउने धार्मिक ब्यवस्था छ ।’ ‘कुरानलाई वास्तविक रुपमा जान्नेहरुको संख्या मुस्लिम समुदायमा निकै कम छ’, मौलाना नुरानीले भने, ‘जब कुनै विकल्प बाँकी नबचोस अनि मात्र तलाकको विषयमा सोच्नु पर्छ ।’ ‘तलाक अनुशासनको एक कडी हो’, उनले भने, ‘महिलालाई यसको प्रभावबाट अनुशासित राख्न मद्दत मिलोस भनेर निर्धारण गरिएको ब्यवस्था हो, तर प्रयोग गलत तरिकाले भइरहेको छ ।’

‘कुरानमा मदिरा सेवन, जुवा खेल्न र बलात्कारलाई गम्भिर रुपमा बर्जित गरेको छ, तर घटनाहरु भइरहेको हामी माझनै छ’, मौलाना नुरानीले भने, ‘अहिलेको समयमा मुस्लिम समुदायलाई कुरान पढ्न आवश्यक छ । त्यसका लागि शिक्षामा ध्यान बढाउनु पर्छ ।’

कुन स्थितिमा हुन्छ सम्बन्ध विच्छेद ?

मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं अनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार ३ बर्ष सो भन्दा बढी समय देखि छोडी अलग बस्ने गरेमा सम्बन्ध विच्छेद गर्न सकिने कानूनी ब्यवस्था छ ।

अधिवक्ता विश्वजीत तिवारीका अनुसार लोग्नेको ज्यान जाने, अङभङ हुने वा अन्य कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम प्रपञ्च गरेमा वा स्वास्नीलाई निको नहुने यौन सम्बन्धि कुनै रोग लागेमा वा स्वास्नीले परपुरुषसंग करणी गराएको ठहरेमा त्यस्ती स्वास्नी मानिस संग लोग्नेले आफ्नो सम्बन्ध बिच्छेद गर्न पाउँछ ।

लोग्नेले अरु स्वास्नी ल्याएमा, राखेमा, स्वास्नीलाई घरबाट निकालेमा, खान लाउन नदिएमा, स्वास्नीको खोजखवर नलिई हेर बिचार नराखी लगातार ३ बर्ष वा सो भन्दा बढी समय देखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा, स्वास्नीको ज्यान जाने अङभङ हुने वा अरु कुनै ठुलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम, जाल प्रपञ्च गरेमा, लोग्ने नपुंसक हुन गएमा वा लोग्नेलाई निको नहुने यौनसम्बन्धि कुनै रोग लागेमा, लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा जवरजस्ती करणीको महलको ३ नम्बरको दफा ६ बमोजिम लोग्नेले स्वास्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्ने सित स्वास्नीले आफ्नो सम्बन्ध बिच्छेद गर्न पाउँ अधिवक्ता तिवारीले भने ।

‘उल्लेखित अवस्था बाहेक अरु अवस्थामा पनि दुवै पक्षको मंजुरी भएमा लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद हुन सक्ने कानूनी ब्यवस्था रहेको छ’, दैनिक नेपालगन्ज संग अधिवक्ता तिवारीले भने, ‘अहिले सामान्य विषयमा पनि सम्बन्ध विच्छेद गर्ने चलन बढेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया