नानपारा देखि प्रहरी सम्म सेटिङ्ग !
विनय दीक्षित
अवैध सामाग्री भारत तर्फ निर्यात रोक्न र भारतबाट हुने अवैध आयात रोक्न नेपालगन्ज जमुनाहा नाका देखि २ किलोमिटर भित्र क्षेत्र सम्म झण्डै ७ चरणमा चेकजाँच हुन्छ ।
नेपालबाट भारत तर्फ जाँदा चेकजाँचका लागि खटिएका प्रहरीलाई निगरानी राख्ने र उत्ताबाट फर्किंदा चेकजाँच र खान तलाशी लिन सक्ने कानूनी अधिकार प्राप्त छ । चेकजाँच र खान तलाशीको अवस्थालाई मध्य नजर गर्ने हो भने सजिलो छैन सिमा क्षेत्रमा तस्करी । तर, त्यसो रहेनछ ।
केहि रुपैयाको सेटिङ्गमै आफुले चाहेको वैध वा अवैध सामाग्री दुबै देशमा पुर्याउन सक्ने तस्करहरुको दावी छ । ७ चरणको चेकजाँच पछि भारतीय एसएसबीले बरामद गर्दै आएको अफिम, चरेस, ब्राउन सुगरको अवस्थाले प्रहरीले प्रभावकारी चेकजाँच नगरेको देखाएको हो ।
नेपालगन्जबाट जाने गाडी, रिक्सा, लगायत सवारी साधनलाई प्रहरीले चेकजाँच नगरी छाड्ने गरेपछि नेपाली क्षेत्रबाट अवैध सामाग्रीहरु भारतीय क्षेत्रमा पक्राउ हुँदै आएको पाइएको हो । नेपालगन्ज नाकाबाट भारतीय क्षेत्रमा लग्दै गरेको १ केजी ८ सय ग्राम अफिम पक्राउ गरेपछि नेपाली क्षेत्रमा सुरक्षा चेकजाँचले चर्चा लिएको हो ।
एसएसबी बीओपी रुपैडिहाका इन्चार्ज जगजीत सिंह जगुवारले शुक्रवार साँझको समयमा नेपालगन्जबाट रुपैडिहा तर्फ जाँदै गरेका सल्यान मगमर वडा नं.१ बस्ने धन बहादुर खत्रीलाई अफिम सहित पक्राउ गरेको हो । बरामद भएको अफिम नेपाली रुपैया करिब ५० लाख बराबरको रहेको एसएसबीले जनाएको छ ।
दुईमहिना अघि १ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका एक सेवनकर्ताले प्रहरीले नै ब्राउनसुगरको रेट बढाएको टिप्पणी गरे । उनले बाटोमै घूस दिने रकम नभएका कारण भित्र जानु परेको गुनासो गर्दै भने, ‘संगै पक्राउ भएको एक जना साथी पाँच हजार रुपैया तिरेर छुटेको थियो ।’
ब्राउनसुगर सहित जाँदा भन्सारमा रहेको प्रहरीले पक्राउ गरेको बताउँदै उनले भने, ‘घूसका लागि पर्याप्त रकम भए जतिपनि कारोबार गर्न सकिन्छ ।’ प्रहरीले बाँकेबाट लागुऔषध अन्त्य गर्ने दावी गरिरहेका बेला सेवनकर्ताले दिएको बयानले प्रहरी भित्रै समस्या रहेको देखाएको हो ।
एक जना तस्करले प्रहरीका केहि अधिकारीहरुको पनि नाम खुलासा गरे । उनले आफुले नै रकम लगेर बुझाउँदै आएको बताए । ‘जमुनाहा नाका देखि जिल्ला प्रहरी भित्र सम्म लागुऔषध तस्करीमा सघाउने ब्यक्तिहरु छन्’, उनले भने, ‘ठूला तस्करलाई पक्राउ गरिँदैन ।’
भारत नानपारा स्थित वकिल खाँबाट ब्राउन सुगर खरिद गरेर ल्याउने गरेको पक्राउ परेका अभियुक्तहरुले सजिलै खुलाउँदै आएको ५ वर्ष भयो । तर, नेपाल र भारत दुबै देशका प्रहरीको पहुँच वकिल खाँ सम्म पुग्न सकेन । दुबै देशका प्रहरीले अनुुसन्धान जारी रहेको दावी गर्दै आएका छन् ।
नानपाराबाट ब्यापार चलाउँदै आएका कारोबारी वकिल बाँके जयसपुरका बासिन्दा हुन् । २०६५ पछि उनी नानपारा बस्दै आएको प्रहरी श्रोतको दावी छ । ‘हाम्रो निसानामा उनी छन्’, एक अनुसन्धान अधिकृतले भने, ‘तर भारतीय सुरक्षा अधिकारीको असहयोगले गर्दा सफलता हात लाग्न सकेको छैन ।’
दैनिक नेपालगन्ज संग ३६ मिनटको कुराकानीमा तस्कर र सेवनकर्ताहरुले प्रहरीबाटै लागुऔषध कारोबार चलिरहेको आरोप लगाएका छन् । उनीहरुले प्रहरीले चाहेको खण्डमा लागुऔषधको कारोबार सुन्य हुन सक्ने ठोकुवा गरे ।
बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले तस्कर–प्रहरीको साँठगाँठ सम्भव नरहेको बताए । उनले, ‘प्रहरीले लागुऔषध विरुद्ध काम गर्दै आएकोले प्रहरीले राम्रो काम गर्यो भन्ने प्रतिक्रिया तस्करबाट आपेक्षा गर्न नसकिने
बताए ।’
‘तरपनि, कतै केहि त्रुटिहरु भएको छ भने हामी त्यस विषयमा जाँच गर्छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एसपी राईले भने, ‘सिमा क्षेत्रमा हुने लागुऔषध तस्करी विरुद्ध प्रहरीले सक्रियताका साथ काम गर्दै आएको छ ।’ ‘जनशक्तिको कमि, अत्यधिक ड्युटी र एकै किसिमको काममा केहि समस्या हुन सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘तर मिलोमतो सम्भव हुँदैन ।’
‘सबै ब्यक्तिलाई चेकजाँच र खानतलाशी सम्भव हुँदैन’, एसपी राईले भने, ‘सम्भावित वा अस्वभाविक विषयहरुमा प्रहरीले काम गर्छ ।’ ‘केहि छुट हुनु भनेको प्रहरी संग साँठगाँठ होइन असावधानी हो’, उनले भने ।
थुनामा २१ जना
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार शनिवार ४१ जना थुनामा रहेका मध्ये १ महिला सहित २१ जना लागुऔषध सहित पक्राउ परेकाहरु रहेकाछन् ।
प्रहरी निरीक्षक वीर बहादुर थापाका अनुसार, आर्थिक वर्ष ०७१/७२ मा ९९ मुद्दामा १ सय ५१ जनालाई पक्राउ गरिएको तथ्याङ्क छ । ०७२/७३ मा ७८ मुद्दामा १ सय ८ जना पक्राउ परे ।