हुलाकी सडक निर्माणमा वनको अवरोध

वर्षौंको प्रतिक्षा पछि जसोतसो निर्माण हुन लागेको राप्तीपारिलाई जोड्ने सडक हुलाकी राजमार्गमा जिल्ला वन कार्यालय बाँकेले अवरोध उत्पन्न गरेको छ ।

फत्तेपुरको सोनपुर देखि कटकुईंया सम्म माटो र गिट्टी फिलिंगको काम अघि बढाउन खोजेको निर्माण कम्पनी पछिल्लो तीन दिन देखि बाँकेका सरकारी कार्यालय धाउँदैछ । ‘वर्षायाम अघि ग्राभेल हाल्न नसके आवतजावत नै अवरुद्ध हुन्छ’, निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिका इन्जिनियर इन्द्र केसीले भने, ‘जिल्ला वन कार्यालय र केहि स्थानीयहरुले राप्ती खोलाबाट गिट्टी झिक्न अवरोध गरेपछि काम ठप्प भएको हो ।’
‘सम्झौता अनुसार फत्तेपुर क्षेत्रबाट कानून बमोजिम गिट्टी लग्ने भनिएको छ’, इन्जियिनर केसीले भने, ‘जिल्ला वन कार्यालय बाँकेका रेन्जर गगन महतराले स्क्याभेटर प्रयोग गरेर गिट्टी झिक्न नमिल्ने बताएपछि निर्माण कम्पनीको काम अवरुद्ध भएको हो ।’

‘वातावरणीय प्रभाव मुल्यांकन गरेर उक्त क्षेत्रबाट गिट्टी निकासी गर्न भनिएको छ’, केसीले भने, ‘वन कार्यालयले रोक्नुको औचित्य बुझन नकिएको हो ।’ राप्ती नदीबाट पीडित भएकाहरुले राप्ती पीडित समूह गठन गरेर सो क्षेत्रबाट निकासी हुने गिट्टी र बालुवा वापत रकम असूली गर्दै आएका छन् ।

‘हामीले स्क्याभेटर र टिपर त्यहीं फिल्डमा थन्काएका छौं’, केसीले भने, ‘वन कार्यालयका रेन्जरले गिट्टी झिक्न नपाउने भनेर अडान लिएपछि कानूनी उपचारका पहल थालिएको हो ।’ निर्माण कम्पनीको टोलीले शुक्रवार जिल्ला समन्वय समिति पुगेर सो क्षेत्रबाट गिट्टी झिक्न दिने खालको निर्देशन प्राप्त गरेपनि स्क्याभेटर प्रयोगको विषय विवादित बनेको हो ।

हुलाकी राजमार्ग आयोजना नेपालगन्ज कार्यालयले शुक्रवार जिल्ला समन्वय समितिलाई पत्राचार गरि आवश्यक निर्माण सामाग्री सहयोगमा पहल गर्न आग्रह गरेपछि समन्वय समितिले उक्त विषयमा चासो देखाउँदै ६ लाख घन मिटर गिट्टी निकासीको अनुमति दिएको हो ।

राप्तीपारि स्थित ढलैया घाट, आली नगर र सिधनिया घाटबाट जिल्ला समन्वय समितिले बालुवा, गिट्टी निकासीका लागि अनुमति दिने गरेको हो । आली नगरबाट गिट्टी निकासी गर्न खोजिँदा अवरोध भएको निर्माण कम्पनीले जनाएको छ ।

इलाका रेन्ज पोष्ट मेहमानपुरका रेन्जर गगन महतराले गाउँ बाढीको हिसाबले जोखिमयुक्त देखिएको अवरोध गरिएको जनाएका छन् । लेबर लगाएर गिट्टी झिक्न अवरोध गरिएको होइन’, उनले भने, ‘डोजर र स्क्याभेटर प्रयोग गर्न सरोकारवाला निकायले निर्देशन नदिए सम्म सम्भव छैन ।’

कानून विपरीत काम हुन नदिनका लागि नै आफुहरु फिल्डमा रहेको बताउँदै महतराले, नियमानुसार ढुंगा झिक्नमा कुनै प्रतिबन्ध नरहेको दावी गरे । ठेकेदारले उक्त परिमाणको गिट्टी लेबरबाट सम्भव नरहेको जनाएको छ ।
बाँकेमा ४४.६ किलोमिटर सडक निर्माणका लागि काम थालिएको हो । राप्तीपारिको अधिकाँश स्थानमा कच्ची सडक रहेको र डोजरबाट खनेपछि ग्राभेल हाल्न नसके वर्षायाममा उक्त क्षेत्रको आवागमन अवरुद्ध हुने सम्भावनालाई नियाल्दै ठेकेदारले काम गर्न खोजेको जनाएको छ ।

नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईया अर्थान नेपाल भारत सीमाना सम्म ४४.६ किलोमिटर सडक कालोपत्रे निर्माण गर्न सुरु भएको हुलाकी राजमार्ग अहिले आधा सडकमा लेभल मिलाउने काम भइरहेको छ ।
निर्माण कम्पनीले २.५ वर्षमा निर्माण सक्नु पर्ने हिसाबले ठेक्का लिएको जनाएको छ । फाल्गुन ४ गते सम्झौता भएको सडक खण्ड अवरोध भएपछि उक्त क्षेत्र तनावपूर्ण बनेको हो ।

६६ करोडको लागतमा बाँकेको हुलाकी सडक निर्माण कार्य अघि बढेको हो । ११ मिटर चौडाई ग्राभेल र त्यसभित्र साढे पा“च मिटर कालोपत्रे सडक बन्ने योजना रहेको हुलाकी राजमार्गमा गिट्टीको विषय विवादि बनेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया