सहायता कि भोटको राजनीति !

अग्नी पीडित वस्तीमा नेताको लहर

विनय दीक्षित
२०७३ मंसिर २७ गते मटेहियामा दुई समुदायको झडप हुँदा मृतक परिवारलाई पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले ब्यक्तिगत तर्फबाट राहत रकम उपलब्ध गराए । एउटै घटनामा मृत भएका परिवारलाई उनले दुई किसिमले रकम सहयोग गरेपछि त्यसले उनको चुनावी क्षेत्रमा निकै चर्चा लियो ।

मृतक वजहुल कमर खाँको परिवारलाई एक लाख रुपैया र मुनीजर खाँको परिवारलाई ५० हजार रुपैया पूर्वमन्त्री राईले सहयोग गरे । त्यसपछि तराई मानव अधिकार रक्षक संजाल बाँकेले वजहुल कमर खाँकी पत्नी निजामुल निशालाई १० हजार रुपैया सहयोग गरेर बालबालिकाको शिक्षामा सहयोग गरेको दावी गर्यो । तर, त्यहीं मुनिजरको पत्नी हमसिरा बेगम र उनका सन्तानलाई सम्झिएन ।

तराई मानवअधिकार रक्षक संजालका संयोजक आलम खानले दुबै परिवारका सदस्यलाई बोलाइएपनि एक जना मात्र आएकोले त्यसो दावी गरे । ‘१० हजारका दरले दुबैलाई राहत दिन खोजिएको हो,’ आलमले भने, ‘एक जना नआएपछि त्यो रकम त्यसै रह्यो ।’

पूर्व मन्त्री राईले पीडितका प्रति सन्तान ५० हजार रुपैयाका दरले राहत रकम दिइएको दावी गरे । ‘मृतक मुनीजर खाँको एउटा बच्चा रहेकोले ५० हजार दिइएको र मौलाना वजहुल कमर खाँको २ वटा बच्चा रहेका कारण रकम एक लाख हुन गएको हो,’ उनको दावी थियो, ‘सहयोग रकममा कुनै विभेद भएको होइन ।’ तर, मृतक मुनीजर खाँका भतिजा आरिफ खाँले काकाका २ वटा छोरा र ५ वटा छोरी भएको बताउँदै भने, ‘हामीहरु एमाले पार्टीमा रहेका कारण उनले खासै चासो देखाएनन् ।’ ‘त्यसै एकदुई पटक आएका थिए,’ उनले भने, ‘मौलानाबाट बढि भोट मिल्ने सम्भावना रहेकोले धेरै ध्यान उतै थियो ।’ काकाको अन्तेष्टीमा पनि नेता राई नआएको आरिफले बताए ।

मौलानाको अन्तिम संस्कारमा पूरै दलबल र पार्टी कार्यकर्ता सहित पुगेका पूर्वमन्त्री राई मुनिजरको अन्तेष्टीमा
गएनन् । बाँके राप्तीपारि क्षेत्रमा मौलानाको बर्चस्व रहेको र एउटा समुदायको विशेष भावना बटुल्न राईझैं अन्य नेताहरु पनि उपस्थित भए । गाउँलेहरु भन्छन्, राईकै निर्वाचन क्षेत्रमा रहेको मटेहियामा भएको क्षति बुझ्न र घाइतेलाई भेट्न नेता राई उपस्थित भएनन् । घटनाका घाइते ११ दिन नेपालगन्ज मेडिकल कलेज र भेरी अंचल अस्पताल नेपालगन्जमा उपचार गराएपनि क्षेत्र नं.२ का पूर्वसभासद् समेत रहेका राई पीडितहरुलाई भेट्न नपुगेको गुनासो त्यतिबेलै आएको थियो ।

मटेहिया घटनामा २९ जना माथि कर्तब्य ज्यान मुद्दा दायर भएपछि नरैनापुर गाउँपालिका रामानन्द शर्माले मुद्दा सम्बन्धी सबै जिम्मेवारी सम्हाले । गाउँपालिका क्षेत्रमा जनताको भोट मुद्दामै आकर्षित रहेको सम्भावनालाई हेर्दै महिना बढि समय शर्माले नेपालगन्जमै बिताए । अभियुक्तहरुका लागि अदालती प्रक्रिया, वकिल संगको छलफल तथा आर्थिक सहयोग उनको मुख्य एजेण्डा बन्यो ।

पक्राउ हुने र हाजिर हुनेहरुका लागि वकिल ब्यवस्थापन देखि धरौटी ब्यवस्थापन सम्मको जिम्मा लिएका नेता शर्मा, अहिले चुनावी मैदानमा छन् । हाल नरैनापुर गाउँपालिकामा राप्रपाबाट अध्यक्ष पद्का उम्मेदवार शर्माले दैनिक नेपालगन्ज संग भने, ‘जनताले भोट दिए वा नदिएपनि मैले गर्नु पर्ने जिम्मेवारी निर्वाह गरेको हुँ, यो भोटका लागि होइन,’ उनले भने, ‘मीडियाले जसरी चाहन्छ बुझे हुन्छ ।’

होलियामा काँग्रेस पार्टीका नेता विजय यादवको हालीमुहाली छ । एक अर्थमा उनले होलियालाई आफ्नो कब्जा क्षेत्रझैं ठान्छन् । दुई साताअघि होलियाको कुडुवा गाउँमा भएको आगलागीमा उनी एकाविहानै पुगेको स्थानीयहरुले बताए । ‘कारण रहेछ,’ स्थानीयहरु एक स्वरमा भन्छन्, ‘आफ्नो श्रीमती सरोज यादवलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने तयारी छ ।’ विजय यादव नेपाली काँगे्रसबाट बाँके क्षेत्र नं.२ का क्षेत्रीय प्रतिनिधि हुन् ।

पूर्व मन्त्री देखि ७४ भोट प्राप्त गर्ने तत्कालिन संविधान सभा निर्वाचनका उम्मेदवारहरु पनि पीडित माझ पुग्न भ्याएका छन् । आगलागी भएको गाउँमै उपस्थित तत्कालिन फोरम गणतान्त्रिकका क्षेत्र नं.२ बाट २०७० सालमा सभासद पदका उम्मेदवार अरुण कुमार तिवारीले ७४ भोट प्राप्त गरि हार ब्यहोरेका थिए । ‘जनताको अवस्था बुझ्न’ पुगेका तिवारीले दैनिक नेपालगन्ज संग भने, ‘हार जित त चुनावमा हुन्छ नै, हारेर हरेस खानु हुँदैन ।’

सभासद उम्मेदवार भइसकेका उनी अहिले नरैनापुर गाउँपालिकाबाट सम्भावित अध्यक्ष पद्को तयारी गरिरहेका
छन् । पार्टी तय नभएपनि तिवारी अहिले नरैनापुर गाउँपालिकाबाट अध्यक्ष पदमा दौडधुप जारी राखेका छन् ।

आगलागी भएको गाउँ कुडवामा डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका युवा उम्मेदवार सकील खाँ पनि देखा परे । राप्तीपारि क्षेत्रमा आगलागी हुँदा दमकल पुग्नै समय लाग्ने भएकोले क्षति बढि हुने गरेको खाँको ठहर थियो । उनले आफु चुनाव जिते राप्तीपारि दमकल र एम्बुलेन्सको चुस्त ब्यवस्था गर्ने ठोकुवा गरे ।

नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रामचन्द्र मौर्य र उनका छोरा कृष्णचन्द्र मौर्य दुबै जना अहिले चुनावी मैदानमा छन् । रामचन्द्र नरैनापुर गाउँपालिका र कृष्णचन्द्र मटेहिया देखि वडा अध्यक्षका उम्मेदवार हुन् ।
नेकपा एमालेबाट बाँके क्षेत्र नं.२ बाट सांसद तथा पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवका छोरा विक्रम यादव नरैनापुर गाउँपालिकाको अध्यक्षमा दावेदारी गरिरहेका छन् ।

ओझेलमा सरकारी राहत

नेताहरुको भारी राहतका विच जिल्ला दैवी प्रकोप उद्धार समितिले वितरण गरेको राहतले खासै चर्चा पाएन ।
बुधवार जिल्ला प्रशासन कार्यालयको टोली पुगेर २३ घरपरिवारलाई जनही १० हजार रुपैयाका दरले नगद राहत प्रदान गरेको छ ।

घुम्ती पसल जलेका ब्यक्तिलाई ५ हजार रुपैया दिइएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले बताए । ‘उम्मेदवार यदि गाउँ भित्रैको हो भने, एकआपसमा सहयोग गर्न मिल्छ,’ डीएसपी पौडेलले भने, ‘तर कुनै पार्टीको नाममा वा भोटको राजनीति गर्ने किसिमले राहत वितरण गर्न मिल्दैन ।’ नेपाल रेडक्रस सोसाइटीले जनतालाई गैरखाद्य राहत उपलब्ध गराएको छ ।
टेन्ट, त्रिपाल, कम्बल, भाँडा, जस्ता सामाग्री वितरण गरिएको हो । उम्मेदवारको आवागमन र प्रभावकारी उपस्थिति र राहतका बिच प्रशासन र रेडक्रसको राहतले खासै स्थान लिन सकेन ।

राहतको ओइरो

चुनाव पछि नेता हराउने जनगुनासो भएपनि चुनाव अघि अलि बढिनै भेटिने गरेको गुनासो पनि बाहिर आएको छ ।
बुधवार मटेहिया स्थित हुलासपुर गाउँमा ३१ वटा घरगोठ आगलागीबाट सखाप भएपछि त्यस क्षेत्रमा गाउँपालिका देखि वडा अध्यक्षका दावेदार सम्म पुग्न भ्याए । खाली हात हैन, सबैले फरक फरक र सकभर बढि राहत दिने प्रयास गरे ।
नेकपा एमालेबाट नरैनापुर गाउँपालिका अध्यक्षका दावेदार विक्रम यादव पीडितहरुको अवस्था बुझ्न बुधवार पुगेपनि विहिवार राहत सहित उनी आगलागीस्थल पुगे । आफै उपस्थित भएर पीडितहरुलाई तत्कालिन खाद्य सामाग्री वितरण गरे ।
राप्रपाबाट नरैनापुर गाउँपालिकाकै अध्यक्ष दावेदार रहेका रामानन्द शर्मा पनि चुकेनन् । बुधवार विभिन्न सामाग्री सहित उनीपनि आगलागी स्थलमा पुगे । आफ्ना कार्यकर्ता सहित पुगेका शर्माले राहत सामाग्रीमा चामल दाल नुन तेल लगायत सामाग्री वितरण गरे ।
अर्का अध्यक्षका दावेदार रामचन्द्र मौर्य पनि राहत लिएर हुलासपुर पुगे । बुधवार पीडितहरुको अवस्था बुझ्न बुबा छोरा दुबै पुगे मौर्य, विहिवार च्युरा, नमकिन लगायत खाद्य सामाग्री वितरण गर्न भ्याए ।

प्रतिक्रिया

प्रतिक्रिया