उहिले ‘न्यायाधीश’, अहिले रिक्सा चालक

विनय दीक्षित/नेपालगन्जन्यूज

राजनीतिमा सडकबाट सत्ता तिर जाने हजार भेटिन्छन्, तर यो सन्दर्भ त्यो पात्रको हो, जो राजनीतिक सत्ताबाट सडक तिर ओरालो लागेको छ ।

जसको जुनकुनै निर्देशन जनताका लागि आदेश हुन्थ्यो । उसको बोली अकाट्य हुन्थ्यो । जसको मुखबाट निस्केको हरेक शब्द फैसला सरह लागु हुन्थ्यो ।

कारण थियो, एकतिर मृत्यु अर्को तिर अमिन चौधरीको फैसला । मृत्यु भन्दा उनको आदेश नै उचित लाग्थ्यो जनतालाई । मुसुक्क हाँस्दै उनले भने, ‘मैले कसैको हत्या गरिन ।

२०५२ मै माओवादीमा प्रवेश गरेका बाँके विनौना ८ हाल राप्ती सोनारी गाउँपालिका वडा नं.५ बस्ने ३९ वर्षिय देवी प्रसाद चौधरी (अमिन) सत्ताबाट सडक तिर ओरालो लागेको एक दशक पछि नेपालगन्जमा यो संवाददातासँग भेटिएका हुन् ।

आफ्नै पार्टीका नेताले दुःख दिए, सिद्धान्त विनाको राजनीति हाबी भयो, नेपालगन्जन्यूज संगको भेटमा उनले खुलेर कुरा गरे, ‘अहिले म वैद्य माओवादी तिर छु ।’ ‘देशमा माओवादी सिद्धान्त मान्ने वैद्यमात्र बाँकी छन्, उनले भने, ‘बाँकी सबै त पूँजीवादी भैसके ।

२०५९ सालमा बाँके फत्तेपुर देखि कटकुईंया सम्म ७ वटा गाबिसको इन्चार्जको रुपमा जिम्मेवारी सम्हालेका अमिनले त्यसअघि बाँकेको हिरमिनिया, बेतहनी लगायत क्षेत्रमा जनमुक्ति सेनाका इन्चार्जको जिम्मेवारीमा समेत काम गरिसकेका थिए ।

२०६० तिर पार्टीले अमिनलाई न्याय विभागको जिल्ला सदस्यमा चुन्यो । उनी मटेहिया गाउँ जनसरकारको न्यायाधीशको रुपमा नियुक्त भए । दिनभरि स्थानीय क्षेत्रमा जनताको समस्या सुन्ने र हिंड्दै गर्दा फैसला सुनाउने उनको काम थियो, नेपालगन्जयूजसंग अमिनले भने, ‘मैले दिएको फैसला कुनै कुनै स्थानमा अहिले पनि यथावत
छ ।

जग्गा मिच्ने देखि श्रीमती पिट्ने सम्मको केश आउँथ्यो उनको अदालतमा । अदालतमा न पेशी न तारेख न कुनै शुल्क न वकिल । जन अदालतमा उनी एक्लै सबै पदमा काम गर्थे । न महाअभियोगको चुनौती र न निलम्बनको खतरा । अमिनले फैसला गरेर केहि छिनमै मुद्दा टुंगो लगाउँथे । सन्तुष्ट भएको पक्षले सन्तुष्टि पोख्दैन्थ्यो, असन्तुष्ट पक्षले बोल्ने कुरै भएन’, ती दिन सम्झँदै अमिनले भने ।

कतिपय बेला त घरमै गएर फैसला सुनाउनु पथ्र्यो । सडकबाटै पनि फैसला गरेको धेरै केशहरु छन्, मुस्कुराउँदै उनले भने, ‘त्यति बेला म सबै थोक थिएँ ।उनले भने, ‘मैले जे भन्थें त्यही हुन्थ्यो ।

राप्तीपारि क्षेत्रबाट द्वन्द्वकालमा थाना, प्रहरी सबै विस्थापित भएपछि कथित न्यायाधीशअमिन नै सुरक्षाका मुख्य हर्ताकर्ता पनि थिए । दिउँसो अदालत राती सुरक्षा यहि जिम्मेवारी थियो, उनले भने । अहिले खुल्ला दिसामुक्त अभियान कार्यान्वयन हुन नसकेको अवस्थालाई सम्झँदै उनले भने, ‘मैले त्यति बेलै धेरैको घरमा शौचालय निर्माण गराएको थिएँ ।

७ वटा गाबिस क्षेत्रमा कसैले कसैलाई अन्याय गर्ने साहस गर्दैन्थ्यो । अमिन त्यो त्रासको नाम थियो जसको अदालतमा आउनु भन्दा अघि हजार पटक मानिसहरु बाहिरै मेलमिलाप गर्न खोज्थे । उनी हिंड्ने बाटोमा सिधै कोही पनि पर्न चाहँदैन्थ्यो । कडा शासन प्रष्ट आवाज र बन्दुकको त्रास सबैको मन मस्तिष्कमा उनले गाडेका थिए ।

मटेहियाका बासिन्दा ओमकार मौर्य भन्छन्, ‘शासन त अमिनझैं चाहिन्छ ।’ ‘उनको फैसलाले अधिकाँश ब्यक्तिहरु सन्तुुष्ट हुन्थे, मौर्य भन्छन्, ‘सन्तुष्टि बाहेक अर्को विकल्प पनि थिएन ।जुन गाउँमा मानिसहरु उपभोक्ता समितिमा बसेर पनि काम गर्न चाहँदैनन्, त्यहाँ उनले श्रमदानबाट बाटोहरु निर्माण गराउने काम गरे ।

मटेहिया वडा नं.५ विद्यालय जाने बाटो निर्माण गराएका अमिन भन्छन्, ‘त्यहाँको बाटो अहिले पनि राम्रैछ’, सम्झना गर्दै उनले भने, ‘परिवर्तन गर्नका लागि शासन त कडा नै चाहिन्छ ।’ ‘अहिले सबै ब्यवस्था गाउँमै छ तर पनि जनता काम गर्न चाहन्नन्, उनले भने, मेरो जमानामा विना रकम विकासका कामहरु भएको थियो ।

सरसफाई अमिनको प्राथमिकताको विषय थियो । अमिनको जनअदालतमा उजुरी आउनु नै विपक्षीका लागि दुःखद विषय हुन्थ्यो । जसमाथि उजुरी आउँथ्यो त्यो बाहेकको कुनै ब्यक्तिलाई कथित जनअदालतमा आउने अनुमति थिएन । अहिले मटेहिया गाबिस संचालन भएको भवन त्यति बेला उनको जनअदालत थियो ।

विचमा पार्टी फुट्यो र म वैद्य तिर लागें, नेपालगन्जमा रिक्सा चलाउँदै गर्दा भेटिएका अमिनले भने, ‘वैद्य तिर म बाँके जिल्लाबाट एक्लो केन्द्रिय सदस्य हुँ ।तत्कालिन जनयुद्धमा कुसुम र फत्तेपुरको दोहोरो झडपमा परेका अमिन विस्तारै शान्ति प्रक्रिया तिर पुगे ।

बाँकेका थुप्रै नेताहरु मेरो नाममा रकम कमाए अमिनले भने, ‘राप्तीवारि नरेश खटिक र राप्तीपारि म आफै पार्टीको मुख्य कार्यकर्ताको रुपमा तैनाथ थिएँ ।’ ‘मैले चन्दा त्यति धेरै असूल गर्न सकेन’, उनले भने, ‘कसैले मायाबाट दिएको रकम फिर्ता पनि गर्दैन्थें ।

पार्टी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा अमिन आफ्नै गाबिस विनौना फर्किए । कार्यथलो अन्तै रहेका उनलाई आफनै गाउँमा जनताको सहानुभूति राम्रो प्राप्त हुन सकेन । आर्थिक रुपले पछि परेका अमिनका लागि न्यायाधीशपदले परिवारको जीविकोपार्जनमा सहयोग गरेन ।

बच्चाहरु ठूला हुदै गए । आर्थिक भारी थपिँदै गयो । उनी परिवार सहित नेपालगन्जमा बसाइ सरे । घरभाडामा लिएर बस्दै आएका अमिन ईरिक्सा चलाउने काम गर्छन् ।

काम कुनै सानो ठूलो हुँदैन, अमिन भन्छन्, ‘कुनै बेला मैले आदेश दिन्थें अहिले रिक्सामा बस्ने यात्रीहरु मलाई आदेश दिन्छन् ।

४ वटा छोरा र २ वटा छोरीलाई राजनीति गरेर कसरी पाल्ने भन्ने विषय जटिल छ, अमिनले भने, ‘अहिले त कारोबार तिर लागेको छु, ’ ‘केहि पूँजी ब्यवस्था गरेर पुरानो बस किन्ने योजना बनाउँदैछु, उनले भने, ‘जिन्दगीमा केहि न केही त गर्नु नै पर्छ । समय एकै नास हुँदैन ।

ताजा छ, जनअदालतको त्रास

गाउँमा प्रहरी प्रशासन प्रति कुनै गुनासो भएमा, वा कानून ब्यवस्था उचित नलागेमा अहिले पनि अमिनको शासन बारे चर्चा हुन्छ ।

मटेहियाका बासिन्दा झगरु पासी भन्छन्, ‘अमिनको शासन एक दशक राप्तीपारिमा कायम रहन सकेको भए विकास क्रममा धेरै सुधार हुन्थ्यो ।शासक कडा भएपछि आधा काम आफै हुने गरेको बताए । मानिसहरु सरसफाई र गाउँ सुरक्षाको विषयमा चनाखो भएका थिए, त्यो अमिनकै देन थियो, उनी भन्छन् ।

त्यति बेला निकै त्रास थियो अमिनको, मटेहियाका तत्कालिन मानवअधिकार सहजकर्ता राम निवास यादव भन्छन्, ‘उनी सिंगो अदालत थिए । सुरक्षा देखि अदालत सम्म उनी एक्ला ब्यक्तिनै पर्याप्त थिए । सरकारले गर्न नसक्ने केही काम अमिनले गरेका थिए ।उनले गरेका राम्रा कामहरु अहिले पनि जनताले सम्झीरहेका हुन्छन् । मानवअधिकारकर्मी र पत्रकारलाई उनले कदर गर्थे ।     

प्रतिक्रिया

प्रतिक्रिया