नेपालगन्जमा सडकका लागि झण्डै २ अर्ब

४३ किमि सडक कालोपत्रे हुँदै

१ अर्ब ७१ करोड लागतमा नेपालगन्जका सडकहरु स्तरोन्नती गरिने भएको छ ।

एशियाली विकास बैंकको अनुदान सहयोगबाट बाकेका ४० वटा सडकहरु स्तरोन्नती हुने भएका हुन् । सडकसगै नाला समेत निर्माण गरिने भएको हो ।

‘१० दिनभित्रै सडकका लागि ठेक्का गर्ने प्रक्रियामा छौं’, नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जनले भने, ‘सडक तथा नाला निर्माणका लागि सडक क्षेत्रफल छाड्नका लागि सूचना समेत जारी गरिसकेका
छौं ।’ उनले नगरका ४० स्थानमा ४३ किलोमिटर बढी सडक तथा नालाहरु निर्माण गर्न लागिएको जानकारी दिए ।

नेपालगन्ज उपमहागनरपालिकाले गत शुक्रबार भित्री सडक तथा ढलहरु निर्धारित मापदण्ड अनुरुप बनाउन सडक तथा नाला, ढल क्षेत्रफलमा बनेको घर तथा भौतिक संरचना हटाउन २१ दिने सूचना जारी गरिसकेको छ । ‘तोकिएको समयमा संरचना नहटाएमा उपमहानगरपालिका आफैले हटाउने छ’, उपमहानगरपालिकाको सूचनामा उल्लेख छ, ‘उपमहानगरपालिकाले संरचना हटाउदा लागेको खर्च समेत सम्बन्धित जग्गा, घरधनीबाटै असुल गरिनेछ ।’ उपमहानगरपालिकाले सडक क्षेत्रफलको चिन्ह समेत लगाइसकेको छ ।

‘टेण्डर स्वीकृत भएसगै धमाधम निर्माणको काम सुरु हुनेछ’, इन्जिनियर महर्जनले भने, ‘उपमहानगरले तोकेको समयमा जग्गाधनीले आफै संरचना हटाइदिने हो भने काम छिटो सुरु गर्न सकिन्छ ।’ उनले ६ मिटर देखि १६ मिटरसम्मका सडक बनाइने जानकारी दिएका छन् ।

यसअघि एकिकृत सहरी विकास परियोजनाले समेट्न नसकेका क्षेत्रहरुलाई विकास गर्न दोस्रो चरणको अनुदान सहयोग आउन लागेको हो । मुख्यगरी धम्बोझी, घरबारीटोल हुदै त्रिवेणीमोड, त्रिवेणीमोड–त्रिभुवन चोक हुदै चारवाहिनी, चारवाहिनी, गणेशमान चोक, भृकुटीनगर हुदै दोन्दरा नालासम्म सडक तथा नाला निर्माण गरिनेछ ।

सदरलाइन १४ मिटर नेपालगन्ज उपमहानगरपालिकाले सदरलाइन सडक खण्डका लागि १४ मिटर सडक क्षेत्रफल तोकेको छ । केही घरधनीहरुले घर भत्काए पनि अधिकांसले सडक क्षेत्रफलका सम्बन्धमा उपमहानगरपालिकाले सूचना जारी नगरेको भन्दै सडकका लागि क्षेत्रफल छाड्न आनाकानी गर्दै आएका थिए ।

‘सदरलाइनको सडक १४ मिटरको हो, यसमा आशंका गर्नुपर्दैन’, परियोजना इन्जिनियर महर्जनले भने, ‘ठेक्का प्रक्रिया सकिने बित्तिकै काम सुरु हुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया