नेपालगन्ज – प्रदेश नम्बर ५ का व्यवसायिक बाख्रा पालन किसानहरुलाई बाख्रा पालन सम्बन्धी तालिम दिइएको छ । पशु सेवा तालिम केन्द्र नेपालगन्जको आयोजनामा प्रदेश ५ मा रहेका व्यवसायिक किसानहरुलाई तालिम दिइएको हो । सात दिनसम्म चलेको व्यवसायिक बाख्रा पालन तालिममा बाख्रामा लाग्ने विभिन्न रोग, आहारा व्यवस्थापन, खोप व्यवस्थापन, खोर निर्माण लगाएतका विषयमा सिकाइएको पशु सेवा तालिम केन्द्रका प्रमुख वरिष्ठ तालिम अधिकृत टेक नाथ आचार्यले बताए ।
तालिमको समापनमा बोल्दै रुपन्देहिका किसान मो.अलम खाँले बाख्रामा आउने समस्याको बारेमा तालिमबाट राम्रो सगं जानकारी लिन सकेको प्रतिक्रिया दिए । त्यस्तै दाङ्गका किसान शरद केसीले बाख्रालाई तुहिने समस्या, प्यारालाइसिस हुने, जमिनमा पछारिने, खोक्ने, सिगान बगाउने, पिपिआरको प्रकोप हुने समस्याको बारेमा जानकारी गराए । किसानले उठाएको समस्यालाई प्रशिक्षकहरुले समाधान हुने तरीकाले सिकाएको बर्दियाका मधु थारुले बताए ।
पशु सेवा तालिम केन्द्रको चौमासिक लक्ष्य अनुरुप प्रदेशका व्यवसायिक किसानहरुलाई तालिम प्रदान गरीएको तालिम सम्योजक सुरेन्द्र ठाकुरले बताए । तालिममा डा. टेक नाथ आचार्य, डा. खगेन्द्रराज सापकोटा, डा.दिनेश यादव, डा.कृष्णकान्त न्यौपाने, मस्य विकास अधिकृत राम केस यादव लगाएतले प्रशिक्षण दिएका थिए । तालिम सगै किसानहरुलाई बाख्राको तालन पालनमा प्रयोग हुने सामाग्री पनि प्रदान गरिएको थियो ।