गत महिना नेटवर्किङ्ग व्यवसायका लागि प्रशिक्षण भन्दै भारत जान लागेका ४४ जनाको बाँके प्रहरीले उद्दार गरेको थियो
नेपालगन्ज – सरकारले कडाई गरेपछि ठप्प रहेको नेटवर्किङ्ग व्यवसायले भित्रभित्रै पुनः जालो फैलाउन सुरु गरेको छ । खासगरी भारतीय कम्पनीहरुले नेपालीहरुलाई प्रलोभनमा पारी नेटवर्किङ्गको जालो फैलाउन थालेका हुन् । आफैले प्रयोग गरेको सामानमा कमिसन पाइने, अरुलाई बिक्री गर्दा ठूलो मुनाफा आर्जन गर्न सकिने भन्दै भारतीय कम्पनीले नेटवर्किङ्गको जालो नेपालमा फैलाउन थालेका हुन् । त्यसक्रममा कतिपय ठगीमा परिसकेका छन् ।
सरकारको निकायहरुमा दर्ता नभई सामान बिक्री, वितरण गर्नु गैर कानुनी हो । कर र राजश्वलाई छलेर व्यापारका लागि सिधै नेपालीलाई सदस्य बनाउने र प्रलोभनमा पारी सामान बिक्रीका गर्ने गरेका पाइन्छ । उनीहरुले पटकपटक नेपाल भित्रै गोष्ठी र सेमिनार आयोजना गरी कमिशनको लोभमा पार्ने गरेको पाइन्छ । पछिल्ला दिनमा नेपालगन्जमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना भैरहेका छन् ।
बेरोजगार रहेका युवाहरुलाई राम्रो कमिशनको लोभमा पार्न सकिने भएकाले अवैधानिक नेटवर्किङ्ग व्यवसाय गर्नेहरु भित्रभित्रै जालो फैलाउन सफल हुँदै गएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले नेटवर्किङ्ग व्यवसायका नाममा ठगीका घटनाहरु भैरहेकाले नागरिकलाई त्यसबाट सचेत रहन सूचित गरेको छ ।
प्रहरीले भारतको ओरियन्स ग्लोबल मार्केटिङ्ग प्रालिमा कार्यरत केही व्यक्तिहरु, भारत लखिमपुरमा रहेको नेचुरल वेल इन्टरप्राइजेजले बर्दिया, कैलाली, कञ्चनपुरका व्यक्तिहरुलाई प्रलोभनमा पारी महंगोमा औषधी बिक्री गरी मुनाफा कम्पनी लिने गरेको घटना भैरहेकाले त्यसतर्फ प्रहरीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको हो । बर्दिया प्रहरीले उक्त कम्पनीले गैर कानुनी रुपमा प्रतिव्यक्ति ६० हजारका दरले रकम कम्पनीमा जम्मा गर्न लगाई मुनाफा कम्पनीले लिने, महंगोमा शुल्कमा औषधी उपलब्ध गराउने, ग्राहक बन्न प्रेरित गर्दै रकम असुली गरी ठगी गरेको पाइएको जानकारी दिएको छ । बर्दिया प्रहरीले ठगीका गतिविधिमा संलग्न हुने जो कोहीलाई पनि कानुन बमोजिम कारवाही हुने चेतावनी पनि दिएको छ ।
गत साउन तेस्रो साता जिल्ला प्रहरी कार्यालय बाँकेले नेटवर्किङ्ग विजनेशका लागि तालिम लिन जान लागेका ४६ जनाको उद्दार गरेको थियो । ओरियन्स नामक कम्पनीको प्रलोभनमा परी भारत जान लागेका बाँके, बर्दिया, कैलालीका युवायुवतीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले रोकेको थियो । उनीहरुसँगै २ रहेको कम्पनीका प्रतिनिधि २ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । उद्दार गरेका युवा, युवतीहरुले ओरियन्सको सदस्य बन्न, प्रशिक्षण लिन र सदस्य बन्नका लागि भारत जान लागेको बयान दिएका थिए । प्रशिक्षणबाट फर्केपछि अन्यलाई सदस्य बनाउन र सामान बिक्री गर्न पाइने कम्पनीले जानकारी दिएको उद्दार गरिएकाहरुले बाँके प्रहरीलाई जानकारी दिएका थिए ।
ओरियन्सले सुरुमा फारम भन्दा नै शुल्क लिने र प्रशिक्षण पछि सदस्यताका लागि १ लाख रुपैयाँ सम्म लिने गरेका छन् । त्यसबाहेक महंगो मूल्यमा औषधीहरु बिक्रीका लागि सदस्य बनाउनेहरुलाई थमाउने गरेका छन् ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले कुनै पनि व्यवसायिक कारोबारका लागि पान, भ्याटमा दर्ता अनिवार्य रहेको बताएका छन् । ‘राज्यले तोके बमोजिमका निकायमा दर्ता भएर मात्र गरेको कारोबारले मात्र वैधानिकता पाउँछ’, उनले भने, ‘दर्ता नभई व्यवसायिक कारोबार गरेको पाइएमा उनीहरु कारवाहीका दायरामा आउँछन् ।’
नेटवर्किङ्गका सदस्य बन्नेहरुले भन्सार तिरेर सामान भित्र्याउने वा छली गरी, भारतीय कम्पनीका सामानहरु नेटवर्किङ्ग व्यवसायका लागि कुन विधिबाट भित्रिएका हुन् भन्ने अनुसन्धान गर्नुपर्ने देखिन्छ । विगतमा नटेवर्किङ्गका नाममा ठूला ठगीका घटना भैरहेकाले त्यसमा नफस्न युवाहरुलाई सचेत बनाउनु पर्ने, राज्यका निकाय चनाखो हुनुपर्ने राजेश शर्मा बताउँछन् ।