बहुउद्देश्यीय भवन बनाउँदै संघ

विपद् व्यवस्थापन र पत्रकारका लागि अक्षय कोष स्थापना

कोहलपुर उद्योग वाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । संघले ३ करोड ६२ लाख लागत चार तल्ले भवन निर्माण गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘सभा हल, कार्यालय, वस्तुगत संघ र गेष्ट हाउस सहितको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण सुरु गर्न लागिएको हो’, पत्रकार सम्मेलनमा संघ अध्यक्ष चक्र बहादुर अधिकारीले भने, ‘यसले संघलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुग्छ ।’ भवनका लागि स्रोत जुटाउन संघले यसबर्ष पुनः उद्योग व्यापार महोत्सव लगाउने उद्घोष समेत गरेको छ । संघले गतबर्ष पनि महोत्सव लगाएको थियो ।

 
‘भवन निर्माणका लागि स्रोत जुटाउन आगामी माघ १४ गतेदेखि महोत्सव आयोजना गर्ने निर्णय गरिएको हो’, संघका महासचिव तेज प्रसाद अधिकारी भने, ‘त्यसको तयारी तत्काल सुरु हुनेछ ।’ उनले भवन निर्माण पछि संघले आफ्ना कार्यक्रमहरु आफ्नै भवनमा सञ्चालन गर्न सक्ने बताए । वस्तुगत संघहरुका लागि पनि संघमै कार्यालय व्यवस्थापनले संघप्रति व्यवसायीहरु अपनत्व बढ्ने धारणा महासचिव अधिकारीको थियो ।

 
महोत्सव आयोजना गर्न लागेको बारे आइतबार नै इलाका प्रशासन कार्यालय, नगर विकास समिति र नगरपालिकालाई जानकारी गराइसकेको महासचिव अधिकारीले जानकारी दिए । उनले महोत्सवको अनुमतिका लागि आज सोमबार जिल्ला प्रशासन कार्यालयमा अनुमतिको प्रक्रिया अगाडि बढाउने बताए । संघले पत्रकारिता क्षेत्रका लागि अक्षय कोष स्थापना गरेको छ । १ लाख ५० हजार राशीको अक्षय कोष स्थापना गरेको जानकारी दिंदै पत्रकार सम्मेलनमा संघ अध्यक्ष चक्र बहादुर अधिकारीले सामाजिक विकास र उत्तरदायित्व, संघका गतिविधिलाई प्राथमिकता दिएका सञ्चारमाध्यमलाई अक्षयकोषबाट हरेक बर्ष पुरस्कृत गरिने बताए ।

 
विपद् विरुद्ध तत्कालै प्रभावकारी रुपमा जुट्न संघले विपद् व्यवस्थापन कोषको समेत स्थापना गरेको छ । ‘दैवी प्रकोप, पहिलो, आगलागी जस्ता घटनामा राहत उपलब्ध गराउनका लागि कोषको स्थापना गरिएको हो’, महासचिव अधिकारीले १ लाख ५० हजार रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय संघले गरेको जानकारी दिंदै भने । संघले गतबर्ष पनि राप्ती नदीको बाढी प्रभावितहरुलाई तत्कालै खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । ‘कोष तत्कालीन राहतका लागि हो’, महासचिव अधिकारीले भने, ‘आवश्यकता अनुसार कोषमा रकम थप्दै लगिनेछ ।’ यसैबीच कोहलपुर उद्योग वाणिज्य संघले आगामी भदौ १५ गते नवौं र दशौं साधारणसभा गर्ने निर्णय गरेको महासचिव अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया