हिरमिनिया मकैको ‘पकेट क्षेत्र’

सदिक्षा शाह

कुनै बेला तरकारीको पकेट क्षेत्र भनेर कहलिएको बाँकेको हिरमिनिया अहिले मकैको पकेट क्षेत्रको रुपमा रुपान्तरण भएको छ ।

भारतबाट नेपाल भित्रिने तरकारीसंग प्रतिष्पर्धा गर्न धौ धौ परेपछि यहाँका किसानहरुको रोजाइमा मकै खेती परेको हो । अहिले आएर उब्जनी र आम्दानीका हिसाबले मकै खेती उनीहरुका लागि फलिफाप सिध्द भएको छ .बाँकेको डुडुवा गाउपालिका वडा नम्बर ६ मा पर्ने हिरमिनियाका किसानहरुले पूर्ण रुपमा तरकारी खेती छोडिसकेका त छैनन् । तर कम गर्दै भने लगेका छन् ।
भारतीय तरकारीको खपत बढे संगै भण्डारण, सिचाइ र बजारको समेत समस्या भएपछि उनीहरुले बिकल्पको खोजीमा मकै खेतीलाई जीबिकोपार्जनको आधार बनाएका हुन् । डुडुवाको वडा नम्बर ६ मा मात्रै करिब ५ सय हेक्टर क्षेत्रफलमा बेमौसमी मकै खेती गरिएको छ । किसानहरुका अनुसार एक कठ्ठामा झण्डै साढे तीन क्वीण्टल सम्म मकै फल्ने गर्दछ । हरियो मकै नै बढी बिक्री हुने भएपछि नगदे बालीका रुपमा समेत रहेको मकै खेतीबाट उनीहरु मनग्य आम्दानी गर्न सफल भएको बताउछन् ।

मकैको बिउमा सरकारले सहुलियत दिने गरेपनि बढी उत्पादन लिन यहाँका किसानहरुले भारतबाट बीउ झिकाउने गर्दछन् । भारतीय बजारबाट मकैको बिउ ल्याउने गरेका कारण सरकारले दिने क्षतिपूर्तिबाट भने उनिहरु बञ्चित हुने गरेका छन । तैपनि किसानहरु हिरमिनियालाइ मकै जोनका रुपमा परिचित गराउन सफल भएका छन् । जहाँ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत संचालन गरिएको छ ।यहाँका किसानहरुले चटक्कै तरकारी खेति छोडिसकेका छैनन् ।

यहाँको झण्डै ३ सय हेक्टर क्षेत्रफलमा तरकारी खेति गरिएको छ । अहिले पनि दैनिक करीब दुइ टन तरकारी बजारमा जाने गरेको किसानहरुको भनाइ छ । यसको निरन्तरताको लागि बजारको सहज र सरल पहुँचको पर्खाइमा भने किसानहरु बसिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया