जापान बसेर नेपालगन्जको सेवा

रामु ओलि

हरेक बर्ष ४ लाखको हाराहारीमा नेपाली युवा रोजगारीको लागि बिदेशीने गरेको सरकारी तथ्यांकले बताउछ भने अध्यनको लागि बिदेशिनेको संख्या पनि सानो छैन । बर्सेनि ७ सय अर्बको हाराहारीमा रेमिटेन्स नेपाल भित्रने गर्दछ भने त्यतिकै आकडा हुण्डी जस्ता गैरकानुनी बाटो बाट समेत नेपाल भित्रने गर्दछ ।
देशको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा लगभग २५ प्रतिशत भन्दा बढी रहेको छ ।

रोजगारीको लागि खाडी लगायत तेस्रो मुलुक तथा अध्यनको लागि जाने जापान अस्ट्रेलिया ,युके तथा अमेरिका लगायतका मुलुकमा नेपालीको संख्या ठूलो रहेको छ । देशमा रहेको बिधमान बेरोजगारी समस्या र अध्यनको लागि बिदेश जाने परिपाटीको बिकास हुदा देशको ठूलो जमात बिदेशमै रहेको यथार्थ कुनै नौलो होईन । यसरी बर्सेनि उर्जासिल जनशक्ति बिदेशिदा देशले बिकासको क्रममा फड्को मार्न नसक्ने एकातिर छ भने रेमिटेन्सले देशको अर्थतन्त्र पनि धानेकै छ र केही हद सम्म बेरोजगारीको समस्या समेत समाधान भएको छ तर हामी अज एउटा अलग पाटोको चर्चा गर्नेछौं , जो बिदेशमा रहेर आम बिदेशियका नेपाली भन्दा केही भिन्दै कार्य गर्दै छन् ।

काम तथा अध्यनको सिलसिलामा हरेक जसो देशमा पुगेका नेपाली समुदायले नेपाली कला , संस्कृती तथा आपसी भातृत्व कायम गर्न तथा देशमा आइपर्ने बिपत्तिको लागि पनि संगठित हुने प्रचलन पनि बढ्दै गएको छ । ठूलो संख्यामा युवा समुदाय बिदेशमै रहेकाले पनि नेपालका प्रमुख राजनैतिक दलले बिदेशमा आफ्नो भातृ संगठन बिस्तार गर्ने परिपाटीको पनि बिकास भएको छ ।

आफ्नो गाउँ – ठाउँ , जिल्ला तथा समुदायको नाममा एकजुट भएर सामाजिक कार्यमा समेत सकृय रहने गरेका यस्ता संगठनले देशमा कयौं उदाहरणीय कार्य गरेका समेत छन् । बिदेशमा बिचल्लिमा परेका नेपाली समुदायको उद्दारको लागि होस या रोजगारी तथा अन्य सहयोग , नेपाली चाडपर्व मनाउने कुरा होस् या नेपाली आत्मियता कायम गर्न नै किन नहोस यस्ता संस्था बिदेशमा निकै सकृय भएका हुन्छन् । अझ नेपालमा आइलाग्ने कुनै प्राकृतिक प्रकोप , बिपत्ति , ब्लडमनी रकम संकलन तथा कुनै ब्यक्तिको दयनिय अवस्था तथा उपचारको लागि यिनै संस्थाहरु सबै भन्दा बढी सकृय हुन्छन् । अर्को शब्दमा भन्ने हो भने नेपालमा प्रदान गरिने अधिकन्स सहयोग र च्यारिटिको प्रमुख स्रोत यिनै संस्था नै हुन् । कहिलेकाहीँ यस्ता संस्थाको नाममा ठगी भएको भन्ने गुनासो पनि सुन्नमा नआएको पनि होईन ।

आफू बिश्वको जुनसुकै कुनामा भएपनि आफ्नो परिवार र देशको प्रेमले हरेक नेपालीलाई सधै घचघचाइ रहेने बताउने बाँके खजुरा गाउँपालिका वडा नम्बर २ का सुशील मल्ल (३०) १०१२ को अन्तिम तिर जापान छिरेका थिए ।

प्रमाणपत्र तहको अध्यन पश्चात् उनले उच्च शिक्षाको लागि जापान जाने निधो गरे । जापानीज भाषाको साधारण अध्यन पछि उनी उच्च शिक्षाको लागि जापान त पुगे तर अध्यन संगै अध्यन र घरको लागि पैसा कमाउनुपर्ने बाध्यता उनको अगाडी थियो । रहरले होस् या बाध्यताले जे नै भने पनि उनी जापान पुगिसकेका थिए , अप्ठ्यारा तथा असप्ठ्यारा दुबैलाइ अंगाल्नै पर्थ्यो । उनले सुरुवाती दिनमा कयौं कष्ट संगै उनले जापानमा अपनत्व महसुस गर्न सकेनन् ।

आफुले भोगेका कुराहरुले नै उनलाई जापानमा आफ्नो क्षेत्रका ब्यक्ती तथा समुदाय लाई संगठित गर्न प्रेरणा दिएको उनी बताउछन् । त्यसैले उनि हाल जापानमा अध्यन तथा रोजगारी गर्ने बाँके तथा बर्दियाली लाई संगठित पार्दै छन् । मल्लले २०१५ तिर जापानमै फुटबल क्लबको स्थापना गरेका थिए, त्यसपछि जनक बिक्रम शाही संग मिलेर उनले बाँके बर्दिया मैत्री समाज जापानको २०१६ मा स्थापन गरे । जतिबेला संस्थापक अध्यक्ष जनक बिक्रम शाही थिए भने मल्ल बाँके बर्दिया मैत्री समाज जापानको संस्थापक सचिव तथा खेलकुद संयोजक थिए भने हाल अध्यक्ष रहेर गैर आवासीय बाँके-बर्दियालि लाई संगठित गर्दै आफ्नो ठाउँको लागि केही योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका छन् ।

उसो त उनी नेपालगन्ज हुँदै देखि खेलकुदमा रुचि राख्थे त्यसैले उनले नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरीको नाममा जापानमा सन २०१७ देखि बागेश्वरी गोल्ड कपको सुरुवात समेत गरेका छन् । जसबाट उठेको रकमले बाँके तथा बर्दियाको खेल क्षेत्रमा योगदान दिन खेल सामाग्री बितरण गर्ने तथा विभिन्न सामाजिक कार्यमा लगाउने गरेको छ ।

‘बाँकेको प्रसिद्ध धार्मिक स्थल चिनाउन र जापानमा बस्ने नेपाली बिच खेलकुद मार्फत भातृत्व कायम गर्ने उदेश्यले बागेश्वरी गोल्ड कपको सोच बन्यो र त्यसबाट संकलित रकम बाँके तथा बर्दियाको सामाजिक कार्यमा खर्च गर्नको लागि रकम जुटाउने एउटा माध्यम पनि बन्थ्यो त्यसैले बागेश्वरी गोल्ड कपको सुरुवात गरिएको थियो’ बाँके बर्दिया मैत्री समाजका अध्यक्ष समेत रहेका मल्ल बताउछन् ।

जापानमा रहेर पनि उनले नेपालगन्जको खेलकुद र नेपालगन्जलाई केही गर्नुपर्छ भन्ने उदेश्यले खेलकुदमा झुकाब भएको मल्लले बाँकेको विभिन्न फुटबल तथा खेल प्रतियोगितामा आफू तथा आफू आवद्ध संस्था मार्फत सहयोग गर्दै आएका छन् । साथै बाँकेको फुटबल प्रतियोगितालाई ए डिभिजन स्तरमा पुराउनु पर्छ भन्ने सोचले बाँकेकै ठुलो धनराशीको फुटबल प्रतियोगिता दोस्रो सन्तादेबी स्मृति कपमा मल्लले जापनबाटै समन्वय गरि बाँकेमा पहिलो पटक ए डिभिजन खेलाडी उतारेका थिए । मल्लले खजुराका गान्धी हमाल र भरत खड्का संगको समन्वयमा सितापुर युनाइटेड क्लबको स्थापनामा समेत उल्लेख भुमिका खेलेका थिए । र सोहो क्लबको लागि भिम लामाको सहयोगमा बाँकेमा पहिलो पटक ए डिभिजन खेलाडि उतारेका थिए ।

पहिलो नेपालगन्ज गोल्ड कपमा समेत खेलकुद पोसाक सहयोग गरेको उनको संस्थाले पिएम कम भलिबल प्रतियोगितामा समेत आर्थिक सहयोग गरेको थियो भने दुई बर्ष अगाडि आएको बाढिबाट आहत भोगेका बाँके तथा बर्दियाका बाढिपिडितलाई समेत राहत बितरण गरेको थियो । विभिन्न समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा
बाँके तथा बर्दियाको सामाजिक क्षेत्रमा सहयोग पुराउदै आएको उनी तथा उनी अध्यक्ष रहेको संस्थाले भबिस्यमा बाँकेको खेलकुदमा लगानी गर्ने योजना राखेको मल्ल बताउछन् ।

तत्कालीन एकीकृत माक्सबादी लेलिनबादी बिचार धारमा झुकाव राख्ने मल्ल कलेज पढ्दै गर्दा अनेरास्ववियु तथा युवा संघ नेपालको जिल्ला सदस्य समेत थिए । राजनिती तथा खेलकुदमा उत्तिकै रुचिकर मल्लको जिबनले जापान पुगेपछि भने नयाँ मोड लियो , हाल उनि सामाजिक कार्य तथा जापानका बिद्यार्थी तथा काम गर्ने बाँके बर्दियाबासिको अधिकार र सहयोगको लागि लागिपरेका छन् । प्राय काम पछि फुर्सदमा भेटघाटमा ब्यस्त रहन्छन् , जापानमा ढगी धन्दा गर्ने हरु पनि धेरै नै छन् , जागिरको प्रलोभनमा पारेर पैसा ठगी गर्ने हरुको भिड समेत रहेको जिकिर गर्ने मल्लले त्यस्ता ठगिमा परेकाहरुको लागि न्याय दिलाउन समेत सकृय छन् ।

‘आफ्नै नेपाली ले नै ठग्छन नेपालीलाई , नेपालबाट जापान ल्याउदा विभिन्न प्रलोभन दिन्छन् तर यहाँ भने कुनै त्यस्तो अवसर दिदैनन , पार्ट टाइम जागिर समेत नपाएर भोकै हुने अवस्था हुन्छ कतिको , जापानमै पनि वर्किङ भिजाको लागि भन्दै ठगी गर्ने हरुको पनि ठुलै समूह छ । त्यस्तो ठगिमा परेका लाई पनि सहयोग गर्ने गरेका छौ भने नयाँ आउनेहरुको लागि पार्टटाइम जागिरको लागि सहयोग गर्छौ । आफ्नै गाउँ -ठाउँका नेपालीहरुले दुख पाएको कसरी हेर्नसकिन्छ र त्यसैले केही समस्या पर्दा चाहिने भनेकै आफ्नै गाउँ ठाउँ कै हो त्यसैले सबैको दुख सुख साटासाट गर्नकै लागि हामिले बाँके बर्दिया मैत्री समाज स्थापना गरेका हौं र जापानमा बस्ने बाँके बर्दियाबासी लाई संगठित गर्दै आएका छौ ‘ मल्ल भन्छन् ।

बाँके-बर्दियाका टेके सुनार , लक्ष्मि शाही लगायतका घातक रोग लागेका ब्यक्तिहरुलाइ समेत सहयोग उनको संस्थाले अब भने बाँके जिल्लाको खेलकुदको क्षेत्रमा केही गर्ने योजना रहेको बताउछन् उनी । सितापुर युनाइटेड क्लबका संस्थापक समेत रहेका मल्लले ब्यक्तिगत तवर देखि पनि क्लबलाई खेलकुद पोसाक सहयोग गरेका हुन्छन् । नेपालगन्जमा एउटा ब्यवसायिक क्लब तयार गर्ने सपना रहेको समेत सुनाउछन् मल्ल ।

नेपालगन्जमा ब्यवसायिक क्लबको अभाव छ , त्यसैले एउटा ब्यवसायिक क्लब र एउटा ठूलो खेल महोत्सव गर्न सके नेपालगन्जमा खेलकुदको माहोल फेरिने थियो , भबिस्यमा सायद यो काम पक्कै गर्नेछु किनकी यो मेरो सपना समेत हो । उनी बताउने गर्छन् । साथै उनी आगामी दिनमा बाँके बर्दिया मैत्री समाज मकाउ , अस्ट्रेलिया र अमेरिकामा पनि गठन गरेर बाँके-बर्दियाको लागि केही सम्झनलायक कार्य गर्ने योजना रहेको बताउछन् ।

प्रतिक्रिया

प्रतिक्रिया