टीएस ठकुरी
होटल व्यवसायी संघ बाँकेको आयोजनामा आइतवार सिद्धार्थ कटेजको हलमा ‘होटल व्यवसायीका वर्तमान समस्या र समाधानका उपाय’ बिषयक अन्तरक्रिया सुरु हुनै लाग्दासम्म पनि हामी चार जना पत्रकार (झलक गैरे, कृष्ण अधिकारी, दामोदर भण्डारी र म) यता सोही परिसरमा रहेको सिद्धार्थ ग्रुपकै एस क्याफेमा अमेरिकानो पिउँदै थियौं ।
कफीमा अमेरिकानो मेरो मनपर्ने स्वाद हो । कफी संस्कार कुनै शहरको विकास र समृद्धिको संकेत पनि हो । चार जनाबीच कफी गफ चल्दै गर्दा मेरो फेसबुक म्यासेज बक्समा एउटा म्यासेज आयो । नेपालगन्जीया सोहन (श्रेष्ठ)दाइले पठाउनुभएको रहेछ । त्यसमा दुई वाक्य हाइलाइट गरिएको थियो । ‘खानेकुराको विविधताका हिसाबले नेपालमा नेपालगन्ज भन्दा अगाडि काठमाडौं उपत्यका र ठ्याक्क पछाडि वीरगन्ज मात्र छन् । अरु शहरहरु यीभन्दा निकै पछाडि छन् ।’ यो पढिरहँदा निकै खुशी लाग्यो ।
त्यसमा अर्को वाक्य पनि हाइलाइटेड थियो –‘अरुतिर जस्तै खट्किने कुरा आकर्षक, दुर्गन्धमुक्त र पारिवारिक वातावरणमा बसेर ती परिकारहरुको रसस्वादन गर्न सकिने ठाउँ भने यहाँ ज्यादै कम छन् ।’ यसले भने खिस्रिक्क बनायो ।
नेपालको प्रतिष्ठित साप्ताहिक म्यागजिन हिमालले ‘नेपालगन्ज ः परिकारमञ्च’ उपशीर्षकमा नेपालगन्जको सम्भावनाबारे लेखिएका ती वाक्यले मलाई निकै आकर्षित गर्यो, र खुशी पनि दिलायो, हल्का नमिठो पनि । त्यहाँ एउटा मिठो वाक्य छ –‘जेठका दिनमा मुगुको ताल्चा विमानस्थलबाट उडेर नेपालगन्ज ओर्लिंदा मान्छे यसै आत्तिन्छ । तर हिमाली चिसो हावा खाएर झरेका पाहुना स्वागत गर्न नेपालगन्ज सधैं तयार परेर बसिरहेको हुन्छ चिसो लस्सी र मीठो रावडी लिएर ।’ वास्तवमा लस्सी र रावडी नेपालगन्जको परिचय हो । अन्य धेरै परिकार छन्, जसले नेपालगन्जको मौलिकता बोकेका छन् । एक महिने बसाइमा एक दिन पनि नदोहोर्याइकन खान पुग्ने परिकार नेपालगन्जसँग छ । स्वाद र परिकारका मामिलामा समृद्ध छ नेपालगन्ज ।
पुर्व रानीतलाउदेखि पश्चिम बीपी चोक, उत्तर त्रिवेणी मोडदेखि दक्षिण जिल्ला प्रशासन कार्यालयसम्मलाई वाकिङ जोन (पैदल क्षेत्र) बनाउँ न । भवनहरुको एकरुपता, रंगको एकरुपता दिउँ त । सोच्नुस् त बेलुकी पखको कृतिम प्रकाशमा व्यवस्थित तवरले तयार गरिएको सडक पेटीमा विविध स्वादका परिकार चाख्दै किनमेल गर्नु कति आनन्द हुन्थ्यो होला । यदि यसो गर्न सकियो भने कुनै बेला आकर्षणको केन्द्रबिन्दु त्रिभुवन चोक फेरि गुल्जार हुनेछ ।
भोजन भ्रमण बर्ष २०७६ बिशेषमा ‘लोक परिकारको स्वाद’ पढ्दै गर्दा केही बर्षअघि नेपाल पर्यटन बोर्डले त्यही सिद्धार्थ ग्रुपको चार तारे होटल भ्यु सिद्धार्थमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमको पनि सम्झना दिलायो । त्यहाँ एक पोखरेली होटल व्यवसायीले आफ्नो बोल्ने पालोमा निकै आक्रोश व्यक्त गरेका थिए– ‘हामी हिजो बेलुकी मात्र आइपुग्यौं । करिब सबैतिर घुम्यौं । तर अब तपाईंलाई के लाग्छ ? म फेरि फर्किएर नेपालगन्ज आउँला ?’ उनले नेपालगन्जको अव्यवस्थित वधशाला र होटल रेष्टुरेन्ट अगाडिको फोहोरलाई संकेत गर्दै आक्रोशित मुद्रामा सुझाव पनि दिएका थिए– ‘हामी यही बाटो भएर पर्यटक पोखरा लैजान्छौं र घुमाउँछौं, त्यसबाट मनग्ये व्यापार गर्छौं । तपाईंहरु दुई दिन यहीं रोकिने वातावण बनाउन किन सकिरहनुभएको छैन ? सफाइमा ध्यान दिनुस, व्यापारको चिन्ता नलिनुस । पर्यटक रमाउँछन् ।’
यसैबीच मुलुकको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । प्रादेशिक संरचनाका कारण उथलपुथल भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयका क्षेत्रीय कार्यालयहरु प्रादेशिक राजधानीमा पुगेका छन् । यसबाट नेपालगन्जको व्यापारमा भारी गिरावट आएको व्यवसायीहरु बताउँदै आएका छन् । आइतवार मात्र होटल व्यवसायी संघ बाँकेले आफ्नो सार्वजनिक गरेको अवधारणापत्रको पहिलो हरफमा व्यक्त गरिएको छ – ‘अतिथि देवः भवः भन्ने मुल सेवाभावका साथ देशका बिभिन्न क्षेत्रबाट बाँकेमा आइ होटल लगायतका अन्य व्यवसाय संचालन गरेका हामी व्यवसायीहरु पछिल्लो समय बाँकेको खस्कँदो व्यापार व्यवसायका कारण चिन्तित छौं ।’
मेरो प्रश्न छ ः चिन्ताले व्यवसाय फस्टाउँछ र ? अध्ययन गर्नुस, चिन्तन गर्नुस, उपाय निस्कन्छ, सम्भावनाको द्वार भेटिन्छ । फेरि यहाँहरुले नै उक्त अवधारणापत्रमा भन्नुभएको छ –‘नेपालगन्ज थुप्रै सम्भावनानै सम्भावनाको शहर देखिन्छ ।’
वास्तवमा नेपालगन्ज सम्भावनाको शहर हो नै । यसमा सायद कसैको विमति छैन । हिन्दु, मुस्लिम, बौद्धिष्ट, शिख र इसाइ धर्मावलम्वीहरुको बसोबास रहेको नेपालगन्ज जातिय, धार्मिक र साम्प्रदायिक विविधताको शहर हो । यो मुलुककै नमुना शहर हो । यहाँ भाषिक, सांस्कृतिक विविधता छ । सम्भवतः नेपालकै परिवेशमा यति विविधता भइकन पनि एकता छ । त्यसैले यो सद्भावको शहर हो । यहाँ प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिर जहाँ सतिदेवीको जिब्रो खसेको इतिहास छ । पुर्व पश्चिम राजमार्ग, अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट, मानसरोवर, शेफोक्सुन्डो, रारा जस्ता प्राकृतिक मनोरम स्थलको प्रवेशद्वार नेपालगन्ज नै हो । छिमेकी राष्ट्र भारतको ठुलो राज्य उत्तरप्रदेशको राजधानी लखनउसँग सडक सञ्जालले सिधा जोडिएको हुँदा पर्यटकीय आगमनको सहज नाका हो । बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै हुनु नेपालगन्जका लागि अर्को आकर्षण हो । एक हिसाबले नेपालगन्ज प्रदेश नं ५, ६ र ७ गरी तीन प्रदेशको केन्द्र नै हो । यस्तो प्रचुर सम्भावना बोकेको शहर हुँदाहुँदै पनि हामी किन चिन्तित त ? फेरि पनि यो प्रश्न तेर्सिएको छ । हामी हरेक कमजोरी राज्यलाई थोपरिरहेका छौं । राज्यले सौतेनी व्यवहार गरेको भनिरहेका छौं ।
हुँदा हुँदा अब जिल्लालाई अर्को प्रदेशमा गाभ्ने कि भन्नेसम्मका बहस चल्न थालेका छन् । यो फरक राजनैतिक मुद्दा हो । व्यवसायीले यो बुझ्न जरुरी छ । प्रदेश बदल्नु बोलेजस्तो, सोचेजस्तो सजिलो पक्कै छैन । सामान्यतः भौगोलिक बनोटका हिसाबले बाँके र बर्दिया प्रदेश नं ६ मा गाभिंदा सबैलाई फाइदा नै हुन्छ । हिमाल, पहाड र तराई जोडिन्छ । यसरी उत्तरदेखि दक्षिणसम्मको भुभाग जोडिंदाका फाइदा सबैलाई हुन्छ । यो सबैलाई थाहा छ । तर, प्रदेश परिवर्तन राजनीतिक बिषय हो । जातिय तथा साम्प्रदायिक क्लस्टरका हिसाबले बाँके बर्दिया प्रदेश नं ५ मा राखिएको हामीले बुझ्न सक्नुपर्दछ । यी दुई जिल्लालाई अर्को प्रदेशमा गाभ्ने भन्नेबित्तिकै फेरि अर्को ठुलो आन्दोलन हुनेछ । के हामी सधैं राज्यका विरुद्ध लडिरहने हो र ?
विकास र समृद्धिको बाटो त नागरिक स्तरमै पनि खोज्नुपर्ने दायित्व होला नि । अनि यो बाटो पहिल्याउँदै अघि बढ्नुपर्ने पो होला । मुलुक संघीयतामा जाँदा कहीं न कहीं राजधानी हुने नै हो । हिजो क्षेत्रीय सदरमुकामका कारणले विकासको गति रोकिन्छ कि भन्ने चिन्ता थियो । तर क्षेत्रीय सदरमुकामले विकासको यात्रालाई कतै रोकेको थिएन भन्ने लाग्छ । विकास हामी आफैले गर्ने हो । त्यसका लागि ठाउँ बिशेषलाई ‘ब्रान्डिङ’ गर्दै अघि बढ्न आवश्यक छ । नेपालकै पुरानोमध्येको शहर, जंगबहादुरले बसालेको शहर भनेर मात्र हुनेवाला छैन । जंगबहादुरको अवशेष नै नराख्ने, पुरानो शहरको नामोनिशान नराख्ने । अनि कसरी हामीले यसलाई ऐतिहासिक शहर भनेर दुनियाँलाई देखाउने ? भएका सालिकहरु बिस्थापित गर्ने, पौराणीक स्थलहरु नाँस्दै जाने, अनि हुन्छ ऐतिहासिक शहर ?
नेपालगन्जको मुटु हो त्रिभुवन चोक । राजा वीरेन्द्रको सालिक हटाएपछि धम्बोजी चोक स्थापित भयो । तर, त्रिभुवन चोक कसैको दिमागबाट हट्न सकेको छैन । जहाँ साँच्चिकै आकर्षण छ । शहरको केन्द्र हो । पुर्व रानीतलाउदेखि पश्चिम बीपी चोक, उत्तर त्रिवेणी मोडदेखि दक्षिण जिल्ला प्रशासन कार्यालयसम्मलाई वाकिङ जोन (पैदल क्षेत्र) बनाउँ न । भवनहरुको एकरुपता, रंगको एकरुपता दिउँ त । जहाँ विविध स्वादका परिकारको रसस्वादन गर्ने अवसर प्राप्त हुन्छ । सोच्नुस् त बेलुकी पखको कृतिम प्रकाशमा व्यवस्थित तवरले तयार गरिएको सडक पेटीमा विविध स्वादका परिकार चाख्दै किनमेल गर्नु कति आनन्द हुन्थ्यो होला । यदि यसो गर्न सकियो भने कुनै बेला आकर्षणको केन्द्रबिन्दु त्रिभुवन चोक फेरि गुल्जार हुनेछ । यसका लागि सस्तो लोकप्रियता भन्दा माथि उठ्नुपर्दछ । दलगत राजनैतिक स्वार्थभन्दा माथि उठ्न सक्नुपर्दछ ।
भन्ने नै हो भने यति पुरानो शहरको वास्तवमै ब्रान्डिङ नभएकै हो । संघीय राजधानी काठमाडौंको आँखाबाट नेपालगन्ज जाउँ जाउँ लाग्ने शहर हैन । यति भनिरहँदा कसैलाई तितो लाग्ला । यथार्थ यही हो । यसका कमीकमजोरी तपाईं हामीले नागरिक स्तरबाट पहिल्याउनुपर्छ र समाधानको उपाय खोज्नैपर्छ । अन्यथा नेपालगन्जको अस्तित्व संकटमा पर्ने खतरा छ । यसो भयो भने भावी पिढींले सराप्ने पक्का छ ।
कुनै दिन छिमेकी राष्ट्र भारतको राजस्थान एरिया भ्रमणको अवसर पाएँ भने म पुरानो शहर जयपुर अवश्य पुग्नेछु । मलाई जयपुरले तानिरहेको छ । किनकी त्यहाँ हरेक बर्ष लिटरेचर फेस्टिभल हुन्छ । नामुद लेखक तथा कहलियएका पत्रकारहरुको बाक्लो जमघट हुने गर्दछ । चल्तीका प्रकाशन गृहले पुस्तक विमोचनको छेको उक्त फेस्टिभललाई पार्दछन् । भारतमै पनि मलाई महेन्द्रसिंह धोनीको गाउँ जाने धोको छ । हरियाणा जाने इच्छा छ, जहाँ चर्चित रेसलर महावीर सिंह फोगट बस्छन् । आनन्द कुमारको गाउँ पनि घुम्ने रहर छ । धेरै इच्छा, रहर र सपनाको पछाडि हरेक मान्छे दौडिरहेको छ । म पनि ।
उता युरोप भ्रमणको अवसर पाए इटलीको भेनिस शहर नपुगी फर्कनेछैन । किनकी त्यहाँ एक सय बर्षअघि देखि भेनिस फिल्म फेस्टिभल हुँदै आएको छ । संसारका सेलिब्रिटीहरु जमघट हुने शहर कस्तो होला ? मेरो मनमा लागिरहन्छ । संसारको सबैभन्दा पुरानो बोस्टन म्याराथनले १ सय २१ औं संस्करण पुरा गरिसकेको छ । बर्षेनी झण्डै तीस हजारको संख्यामा सहभागिताले बोस्टन म्याराथनको चुलिएको लोकप्रियतालाई पुष्टि गर्छ । म्याराथनका बहानामा एक लाख बढी मानिसहरु बिश्वका बिभिन्न देशबाट बोस्टन शहर पुग्नेगर्छन् । बोस्टन मेरो अर्को सपनाको शहर हो ।
संसारमा हुने खेलकुद, साहित्य र सिनेमा सम्बन्धि उत्सव विधागत उत्थानका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो शहर घुमाउने सरल उपाय हो । यसले भरमग्दुर पर्यटन प्रवद्र्धन हुनेगर्दछ । शहरका नामबाट हुने फेस्टिभलले एकअर्कालाई प्रवद्र्धन नै गर्ने हो । फेस्टिभल र शहर एक अर्काका पर्यायवाचीका रुपमा अघि बढिरहेका हुन्छन् । जसरी भेनिस शहरले फिल्म फेस्टिभललाई, फेस्टिभलले भेनिसलाई संसारमा चिनाएका छन् । बोस्टन म्याराथनले बोस्टन शहरलाई, शहरले म्याराथनलाई चिनाए जस्तै ।
भेनिस फिल्म फेस्टिभलको जानकारीमुलक काउन्टर त्यहाँका विमानस्थलमै हुन्छ । फेस्टिभलका दर्शकहरुलाई मध्यनजर गरी यातायात सुविधा प्रदान गरिएको हुन्छ । हरेक होटलमा फेस्टिभलको क्याटलग हुन्छ । भेनिस शहर घुमोस भनेर त्यही अनुसार डुंगाको रुट तय गरिएको हुन्छ । फेस्टिभलका बहानामा एक लाख बढी पर्यटक भेनिस पुग्छन् । भेनिस फिल्म फेस्टिभलका बेला होटलका कोठा पाउन मुस्किल पर्छ, पाइहाले पनि अघिपछि भन्दा दोब्बर तेब्बर मुल्य तोकिएको हुन्छ । धेरैजसो देशका प्रशासनिक अंगले भेनिसलाई आफ्ना फिल्मको प्रवद्र्धन गर्ने प्लेटफर्मका रुपमा प्रयोग गर्छन् । उनीहरुले आफ्नो देशबाट आएका फिल्मकर्मीको सम्मानमा पार्टी आयोजना गर्दै ती जमघटमा संसारका उत्कृष्ट वितरक, निर्माता र समिक्षकहरुलाई निम्त्याएका हुन्छन् । पार्टीहरुलाई सक्दो सदुपयोग गर्न रुचाउँछन् फिल्मकर्मीहरु । संसारका धनी र सुन्दर व्यक्तित्व भएकाहरुको भिडभाडले फेस्टिभलको रौनक बढाउँदै आएको छ । रेड कार्पेटमा सेलिब्रिटीभन्दा आकर्षक व्यक्तित्वहरु दर्शकदीर्घामा देखिन्छन् । यसले भेनिसको आकर्षण संसारमा थपेको थप्यै छ, घट्न दिएको छैन । ब्रान्डिङ भनेको यही हो । बिभिन्न बहानामा नेपालगन्ज आउने वातावरण बनाउन सके यहाँको पर्यटन प्रवद्र्धन हुन्छ । बिजनेस व्यापार बढ्छ । यो सत्य हो ।
होटल व्यवसायीले नै यो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाई देशभित्र पनि प्रादेशिक रुपमा कसरी अगाडि बढ्ने ? अनि व्यवसायी र स्थानलाई कसरी चिनाउने भन्ने बारे चिन्तित हुन सबैलाई आग्रह गरेका छन् । नेपालगन्जलाई ब्रान्डिङ गर्ने सवालमा मन ठुलो बनाएर अघि बढ्नुभयो भने तपाईंहरुका सपना अवश्य साकार हुनेछन् । सबैको जय होस ।
बाँके बर्दियालार्ई अर्को प्रदेशमा गाभ्ने भन्नेबित्तिकै फेरि अर्को ठुलो आन्दोलन हुनेछ । के हामी सधैं राज्यका विरुद्ध लडिरहने हो र ?
विकास र समृद्धिको बाटो त नागरिक स्तरमै पनि खोज्नुपर्ने दायित्व होला नि । अनि यो बाटो पहिल्याउँदै अघि बढ्नुपर्ने पो होला । मुलुक संघीयतामा जाँदा कहीं न कहीं राजधानी हुने नै हो । हिजो क्षेत्रीय सदरमुकामका कारणले विकासको यात्रालाई कतै रोकेको थिएन। विकास हामी आफैले गर्ने हो । त्यसका लागि ठाउँ बिशेषलाई ‘ब्रान्डिङ’ गर्दै अघि बढ्न आवश्यक छ ।