Thursday, May 14, 2026
घर ब्लग पृष्ठ 129

सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

 सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ ।

यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा पर्छ । साथै, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड र सामाजिक सुरक्षा कोषको सेवा लिन समेत अब राष्ट्रिय परिचयपत्र र नम्बर अनिवार्य गरिएको छ । घरजग्गा किनबेचमा समेत यस्तो प्रावधान लागु भएको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको समय सीमा सार्वजनिक गरेको छ ।

उक्त सीमा अनुसार १ साउन २०८१ बाट देशैभरि सबै प्रकारका सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र हुनुपर्छ । यसअघि २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

यसलाई विस्तार गर्दै दोस्रो चरणमा १ माघ २०८१ बाट थप ३८ जिल्लामा अनिवार्य गरिएको छ । १ साउन २०८२ पछि भने देशैभरि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचय पत्रको उपयोगिता बढाउन र सामाजिक सुरक्षा भत्तामा रहेको दोहोरोपन हटाउने उद्देश्यले अनिवार्य गर्न लागिएको जानकारी दिए ।

अहिले राहदानी लिने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य गरिएको छ । सोही नियम सामाजिक सुरक्षामा राख्दा यसको प्राप्ति समेत बढ्ने अपेक्षा सरकारले लिएको छ ।

प्राप्ति सहज बनाउन भने मन्त्रालयले पहिलो चरणमा तोकिएका २८ जिल्लामा टोली खटाएर सहजीकरण गर्ने काम गरिरहेको उनले बताए । अहिलेसम्म देशभरि १ करोड ७० लाखभन्दा धेरै मानिसले राष्ट्रिय परिचयपत्र नम्बर लिइसकेका कारण अब सार्वजनिक सेवामा यसलाई अनिवार्य गर्दा धेरै मानिसलाई सास्ती नहुने उनले बताए ।

साउनबाट सामाजिक सुरक्षा भत्तामा अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र नवीकरण भदौ मसान्तसम्म गर्दा पनि हुने प्रावधान छ । ९० वर्षभन्दा माथिको उमेरका नागरिकले यो सेवा लिन यस्तो नम्बर अनिवार्य गरिएको छैन ।

१ साउनदेखि २८ जिल्लामा

पहिलो चरणमा सामाजिक सुरक्षा सम्बन्धी, स्वास्थ्य बीमा र निवृत्तिभरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । तिनमा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर र बाँके छन् ।

यसैगरी सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो व्यवस्था अनिवार्य गरिएको हो ।

दोस्रो चरण १ माघदेखि ३८ जिल्लामा

सामाजिक सुरक्षा सम्बन्धी, स्वास्थ्य बीमा र निवृत्तिभरणका लागि दोस्रो चरणमा ३८ जिल्लामा अनिवार्य गरिएको छ । जुन १ माघ २०८१ बाट लागु हुनेछ । यसरी अनिवार्य गरिएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ र ओखलढुंगा छन् ।

यसैगरी दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक छन् । साथै, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जा छन् । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, पाल्पा, अर्घाखाँची, म्याग्दी, रुकुम पूर्व, रोल्पा, प्यूठान, रुकुम पश्चिम छन् । उता, जाजरकोट, दैलेख, जुम्ला, अछाम, डडेलधुरा र बैतडीमा समेत दोस्रो चरणमा अनिवार्य गरिएको छ ।

तेस्रो चरणमा हिमाली जिल्ला

सामाजिक सुरक्षा सम्बन्धी, स्वास्थ्य बीमा र निवृत्तिभरणका लागि तेस्रो चरणमा हिमाली जिल्लामा अनिवार्य गरिएको छ । जुन १ साउन २०८२ बाट अनिवार्य गरिएको छ । सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, बाजुरा र दार्चुलामा तेस्रो चरणमा अनिवार्य गरिएको छ ।

लाइसेन्स र आयकर दर्तामा साउनदेखि अनिवार्य

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राजस्व सम्बन्धी सेवा, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

बैंक र टेलिफोन सेवामा १ माघदेखि

बैकिङ तथा वित्तीय सेवा सम्बन्धी सेवा र टेलिफोन तथा सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । यो सेवामा १ माघ २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।

सामाजिक सुरक्षा कोषको सेवा र घरजग्गा किनबेचमा समेत १ माघबाट यो पत्र अनिवार्य गरिएको छ ।

सरकारले २०७५÷७६ बाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । तर, सेवामा अनिवार्य गर्न नसक्नु र परिचय पत्र वितरण सहज बनाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।

विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

 विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।

मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।

विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।

बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

याङ्शीलाबाट स्कु पुग्न करिब १ घण्टा लाग्छ । विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकै पटक बाढी आएको खोलामा छिरेका थिए। एक जना साथीलाई बाढीले बगाएको थियो, अरु विद्यार्थी बाहिर निस्कीएका थिए ।

धितोपत्र बोर्ड अध्यक्षमा कम्तीमा ३ जना सिफारिस गर्नैपर्छ : महान्यायाधिवक्ताको सुझाव

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेबारे समितिले महान्याधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव  दिएको स्रोतले जनाएको छ ।

कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

त्यस्तै पुन: सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका क्रममा सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नै दिएनन् । २ जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए ।

बाढी आएपछि खानेपानी बन्द

 मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।

वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् ।

गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् ।

साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।

पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।

सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।

बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।

दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ ।

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

छोरा र नागरिकता पर्खेर चुहिने छाप्रो रुँघिरहेकी सीता प्रजा

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–४, ठाडोखोला गाउँमा वन क्षेत्र नजिकको एउटा छाप्रो । खरले छाएको त्यो छाप्रोको देव्रे भाग ह्वांगै छ ।

छर्लंग आकाश देखिने छानामुनि रात कटाउन विवश छन्, सन्तबहादुर प्रजा र सीता प्रजा ।

त्यही छाप्रो पनि केही वर्षअघिसम्म राम्रै थियो । जेनतेन प्रजा परिवार घामपानीबाट बचेकै थियो । तर ०७२ सालको भूकम्पले त्यही छाप्रोमा पनि क्षति पुर्‍याएपछि भने उनीहरूलाई आपत् आइलाग्यो । चर्किएको छाप्रो टालटुल पारेर उनीहरु दिन त गुजार्न बाध्य छन् ।

भएको बासस्थान पनि भूकम्पले क्षति पुर्‍याएपछि सरकारले नयाँ घर बनाइदिँदै थियो । हाल उनीहरु बसिरहेको छाप्रोभन्दा केही तल बनिरहेको भूकम्प पीडितवापतको आवास गृह पनि ठेकेदारले बीचमै अलपत्र पारेर बेपत्ता भएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीय ठेकेदार सूर्य चेपाङले घर बनाइदिने जिम्मा लिएका थिए ।

बुढ्यौली लागेर घर वरपर मात्रै हिँड्डुल गर्न सक्ने अवस्थाका सन्तबहादुरको उमेर ८१ वर्ष भयो । श्रीमती सीताको उमेर भने उनैलाई पनि थाहा छैन । ‘मेरो उमेर त थाहा छैन । नागरिकता नै बनेको छैन’, उनले भनिन् ।

सन्तबहादुर दुवै कान सुन्दैनन् । घरको जिम्मेवारी सबै सीताको काँधमा छ । घर अगाडिको सानो छाप्रोमा एउटा पाडी पालेका छन् । घरसँगै जोडिएको ५ कठ्ठा जग्गामा लगाएको मकैले वर्षभरी गुजारा टार्ने गरेको सन्तबहादुरका भाइ विशुरामले सुनाए ।

‘ढिँडो हैन, पिठो खान लागेको । पिठो किनेर ल्याएको थिएँ । बेसाएर खानुपर्छ । सधैं खान कहाँ पुग्छ र ?’ सीता भन्छिन् ।

प्रजा दम्पतीको छाप्रोभित्र २/३ वटा बोराको पोकामा कपडा, गुन्द्री मात्रै थिए । भ्वाङ परेको खरको छानाबाट पानी चुहिने भएपछि कपडालगायतका पानीले भिज्ने वस्तु बोराभित्र हालेको सिताले बताइन् ।

भान्सामा नुन, तेल, बेसारदेखि भाँडाकुँडा पनि पर्याप्त छैनन् । भात र तरकारी पकाउने एउटै कराई, ढिँडो र पिठो पकाउने अर्को कराई र केही कचौरामा उनीहरुको भान्सा चलेको छ ।

सन्तबहादुरको सामाजिक सुरक्षा भत्ताले पिठो किनेर खाइरहेका छन् । सन्तबहादुरले पनि भत्ता बुझ्न थालेको ३ वर्षमात्रै भयो । सीताले भने नागरिकता नबनेकै कारण भत्ता पाएकी छैनन् । प्रत्येक दशैंमा एकै पटक चितवन गढ्यौलीस्थित माइती जान घरबाट निस्किने गरेकी सितालाई नागरिकता कहाँबाट र कसरी बन्छ भन्ने जानकारीसमेत छैन । ‘नागरिकता कसरी बन्छ थाहा छैन । कसैले भनेको छैन,’ उनले सुनाइन् ।

सीताको जन्मदर्ता पनि नभएकाले नागरिकता बनाउन कठिनाइ भएको मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाले बताए । मकवानपुर महिला समूहले सीताको नागरिकता बनाउन ४ नम्बर वडा कार्यालयमा पहल गरिरहेको छ ।

वडा कार्यालय र प्रजा दम्पतीको घर करिब १ किलोमिटरको दूरीमा छ । थापाले सिताको नागरिकता बनाएर सामाजिक सुरक्षा कार्यक्रममा समावेश तत्काल गराउने प्रतिबद्धता जनाएका छन् ।

वडा कार्यालयसम्म आउन पटक–पटक आग्रह गर्दापनि उनीहरु नआएकोले समयमै काम हुन नसकेको उनको भनाइ छ । अब भने घरमै पुगेर सेवा प्रदान गर्ने वडाध्यक्ष थापा बताउँछन् ।

कमाउन भन्दै घरबाट निस्केका थिए छोरा

सन्तबहादुर र सीताका ३ छोरा सन्तान थिए । जसमध्ये जेठा र कान्छोको मृत्यु भइसकेको छ । उनीहरुको सहारा साइँलो छोरा छ ।

साइँला छोरा २७ वर्षीय नवीन प्रजा कहाँ छन्, उनीहरुलाई पत्तो छैन । दशैंमा कमाइ गर्छु भनेर छोरा हिँडेको र हालसम्म नफर्किएको सीता सुनाउँछिन् । सीताले सुनाइन्, ‘खोइ कहिले पो आउँछ । दशैंमा कमाइ गर्न भनेर गएको । अब दशैंमा त आउन पर्ने । नआएर हुन्छ त ?’ छोरा पर्खिरहेकी सीता आशावादी सुनिन्छिन् ।

सीताका देवर विशुरामका अनुसार नवीन भारतको गोवामा छन । गोवास्थित होटलमा काम गरेको थाहा मात्रै पाएको उनले बताए । नवीनको ६ वर्षकी छोरी छन् । श्रीमती नवीनकी श्रीमति अर्कैसँग बिहेर गरेर गएपछि छोरी मनहरी–४, जेख्रीस्थित मामाघरमै बसेर पढिरहेको विशुरामले बताए ।

सन्तबहादुर र सिताको जेठा छोराको ३० भदौ २०५८ मा मृत्यु भएको विशुरामले जानकारी दिए । जन्डिस भएको तीन दिनमै उनको मृत्यु भएको थियो । चेपाङ समुदायमा अहिले पनि बिरामी भएपछि पहिला अस्पताल नलगी झारफुकमै विश्वास गर्ने गर्छन् । त्यतिबेला उनले समयमै उपचार नपाएको विशुरामले सुनाए । रोगकै कारण कान्छो छोरा बितेको र मिति याद नभए उनले बताए ।

: Online khabar

डुडुवालाई ५१ करोड बढीको बजेट सार्वजनिक: यस्ता छन्, नीति तथा कार्यक्रम

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।


संघीय सरकारको वित्तिय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख,प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।


गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गरे । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको पालिकाले पठाएको जानकारीमा उल्लेख छ ।


गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ,वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

यस्ता छन्, नीति तथा कार्यक्रम:


कृषि विकास कार्यक्रम तर्फ
१. कृषि विकास कार्यक्रमा बिउ प्रशोधन केन्द्र को निमार्ण कार्य भई संचालनको अवस्थामा रहेको ।
२. डुडुवा गाउपालिका तरकारी उत्पादनको पकेट क्षेत्र रहेको र जिल्लामा आपुर्ती हुने तरकारीको मुख्य हिस्सा डुडुवाबाट आपुर्ती हुने हुदा सीत भण्डार निर्माण बाट तरकारी तथा फलफुल भण्डारण गर्न स्थानीय कृषकको उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नु पर्ने र स्टोरको लागि टाढा लैजादा कृषकको खर्च बढी हुने समस्या समाधान भई आफ्नो उत्पादन स्टोर गरि बढी मूल्यमा बिक्रि वितरण गर्न सकियोस भनि वडा नं. ६ मा कोल्ड स्टोर निर्माण कार्य भईरहेको र सो निर्माण कार्य आ.ब.२०८१/०८२ मा सम्पन्न गर्ने गरी कार्य भईरहेको ।
३. व्यवसायिक कृषि उत्पादन कार्यका लागि कृषि यान्त्र उपकरण वितरण उन्नत बिउविजन वितरण तथा किटनाषक बिषादी निःशुल्क वितरण कार्यलाई निरन्तरता ।
४. उन्नत बिउ उत्पादन कार्यक्रम संचालनबाट कृषकहरुले उत्पादन गरेको बिउ संकलन गरी बिक्री वितरण कार्यबाट आयआर्जन बृद्धि गर्ने लक्ष्य लिईएको।
५. खाद्यान्न बिउ उत्पादन कार्यक्रम अन्तरगत आ.ब.२०८०÷०८१ मा धानको मूल बिउ कृषक÷समूह÷सहकारी मार्फत वितरण गरी उन्नत बिउ उत्पादन कार्यको क्षेत्र बिस्तार तथा उत्पादन कार्यमा नियमन गरी गुणस्तर बिउ उत्पादन गर्न कृषकहरुलाई प्राविधिक सेवा प्रदान गरिरएको र उक्त कार्यक्रम लाई निरन्तरता दिईएको ।

पशु स्वास्थ्य कार्यक्रम तर्फ
१. घर–घरमा पशु स्वास्थ्य उपचार कार्यलाई निरन्तरता दिई सेवा दिईरहेको ।
२. नश्ल सुधार कृत्रिम गर्भाधान कार्यक्रम मार्फत सेवा दिईरहेको ।
३.पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि विभिन्न भ्याक्सिनेशन खोप कार्यक्रम घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिईएको ।
४. पशुको बाहय तथा आन्तरिक परिजिवि नियन्त्तण सेवा घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
५. बाख्रापालन गर्ने कृषकहरुको लागि नश्ल सुधार गर्नका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइएको ।

स्वास्थ्य सेवा कार्यक्रम तर्फ
१. डुडुवा गाउँपालिकाका वडा नं. २, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुच पुर्याउने कार्य भईरहेको साथै वडा नं. ३ मा ल्याब स्थापनाका लागि खरिद सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गरि उपकरण आपूर्ति भई सकेको हुदा केहि दिनमा संचालनमा ल्याईने छ ।
२. गाउँपालिका अध्यक्ष संग स्वास्थ्य कार्यक्रम अन्तरगत जेष्ठ नागरिक निशुल्क उपचार सेवा, निशुल्क एम्बुलेन्स सेवा, निशुल्क स्वास्थ्य विमा कार्यक्रम, निशुल्क प्रयोगशाला जाच सेवा संचालन तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
३. घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत प्रत्येक घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाच सेवा, दिर्घरोगको पहिचान गर्ने, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतना मुलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तर संचालन गरिने छ ।
४. घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क प्रयोगशाला जांच, ग्रामिण अल्ट्रासाउण्ड सेवा निशुल्क संचालन गरिने छ
ि५. आयुर्वेदिक सेवा निशुल्क रुपमा संचालन तथा निरन्तरता दिइने छ, साथै बैकल्पिक स्वास्थ्य सेवालाई वडा नं. २ र ५ मा संचालन भई रहेकोलाई संचालन तथा निरन्तरता दिईने छ ।
६. स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरि आवश्यक पहल भईरहेको ।
७. स्वास्थ्य चौकी बेतहनीलाई स्तरउन्नति गरि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा संचालन गर्न आवश्यक पूर्वाधार उपकरण जडान लगायतका कार्य सम्पन्न भएको र चालु आ.ब. देखि बिशेषज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरी २४ घण्टा आक्समिक स्वास्थ्य सेवा संचालन गर्ने लक्ष्य लिईएको ।
८. चालु आ.ब.२०८१/०८२ मा सामुदायिक आँखा स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने लक्ष्य लिईएको छ।

शिक्षा कार्यक्रम तर्फ
१. बालविवाह न्यूनीकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि क्भ्भ् सम्मको पढाई अनिवार्य गर्न आकस्मिक दुर्घटना विमा सहितको कन्या मुद्धती शिक्षा योजनालाई निरन्तरता दिईएको छ ।
२. क्भ्भ् पास गरेका छात्राहरुलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन गर्न .क्भ्भ् उत्तीर्ण छात्रालाई साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
३. घर व्यक्तिको पहिलो पाठशाला भएकाले संस्कार र नैतिक शिक्षा विकास गर्ने हेतु सहित राष्ट्र राष्ट्रियता र देश भक्तिले ओतप्रोत गराउने गरी गाउँपालिका स्तरिय पाठक्रम निर्माण उन्मुख रहेको ।
४. डुडुवा गाउँपालिका भित्रका नागरिकहरुलाई योग्यता अनुसारको सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा संचालन गरिने ।
५. आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बिद्यार्थीलाई पढाईमा आवश्यक सहयोग गरिने ।
६. बाल विकास केन्द्र मदरशा तथा सामुदायिक बिद्यालयलाई गुणस्तरिय शिक्षा, भाषा संरक्षण र विकासमा जोड दिईने ।
७. बिद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याईने ।
८. मा.वि., उच्च मा.वि मा प्रतिस्पर्धा सहितको शिक्षा तथा कार्य सम्पादन गरिने
ि९. छात्राहरुलाई आत्मरक्षाका लागि आधारभूत विद्यालय, मा.वि. तथा उच्च मा.वि. हरुमा जुडो कार्यक्रम संचालन गरिने छ ।

संस्थागत विकास तर्फ
१. गाउँपालिका अन्तर्गत वडा कार्यालय स्वास्थ्य चौकी तथा बिद्यालयहरुमा सि.सि.टि.भि.बाट निगरानी गरी आवश्यक निर्देशन दिने गरिएको ।
२. मठ मन्दिर मस्जिद चर्चको पूर्वाधार निर्माण गरी धार्मिक सदभाव कायम गरिने ।
३. राप्ति नदी किनारमा सव दाह गृह निर्माण कार्य सुरु गरिएको ।
४. ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक जिवन निर्वाह भत्तालाई निरन्तरता दिइएको ।
५. भूमिहिन सुकुमवासी तथा आव्यवस्थित बसोवासीहरुको लगत संकलन कार्य वडा नं. २ ४ र ५ बाट सुरु गरिएको ।
६. डुडुवा गाउँपालिकाको विकट मानिने रामनगर पाझा छिटाईपूर्वा पाझामा सडक संजाल र विद्युतिकरण मार्फत गाउँपालिकासंग जोडिएको ।
७. राप्ती नदि धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकाले राप्ती नदि संग जोडिएको डुडुवा गाउँपालिका वडा नं.२ रामनगर पाझामा रहेको सार्वजनिक जग्गामा १५० फिटको शिवको प्रतिमा सहितको उद्ध्यान निर्माण, क्याम्पस (कृषि र प्राविधिक धार) स्थापना, खेल मैदान, पिकनिक स्पोट र होम स्टे निर्माण बाट धार्मिक शैक्षिक तथा पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय जनतालाई रोजगारी सिर्जना हुनगई आय आर्जन वृद्धि हुने उदेश्यले एकिकृत विकास योजना सुरु गरिएको छ ।
८. जग्गा पहिचान कार्यक्रमलाई निरन्तरता दिईएको ।
९. साँस्कृति प्रर्वद्धन तथा विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिईएको ।

बन वातावरण र विपत व्यवस्थापन तर्फ
१. वन वातावरण संरक्षण तथा विपत व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको ।

लघु–उधम कार्यक्रम तर्फ
१. सिप मूलक तालिम मार्फत आयआर्जन बृद्धि गर्न आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको ।

खेलकुद विकास कार्यक्रम
१. खेलकुदका माध्यमबाट व्यक्तिको मानसिक शारिरिक विकासका लागि विभिन्न खेलकुदहरुमा समूह तथा क्लब मार्फत खेल साम्रगी प्रदान गर्ने तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको ।

नेपालगन्जलाई ३५ करोड घटेर बजेट प्रस्तावः अनुमानित १ अर्ब ५० करोड बजेट

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम १ अर्ब ५० करोड बढीको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण प्रस्ताव गरेका हुन् । २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित  बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको । नगर प्रमुख विष्टले ‘समृद्ध सहर, नगरवासीको रहर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपांगमैत्री, लैंगिकमत्री वातावरण निर्माणमा जोड दिने कार्यक्रम समेटिएको छ ।

सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज, पहिचान र संरक्षण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने, फोहोरमैला र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रभावकारीरुपमा व्यवस्थापन गर्ने, नगरमा डुबान न्यूनीकरण गर्न नाला सरसफाईलाई निरन्तरता दिने, उद्यमशिलता र स्वरोजगारका अवसरहरु सिर्जना गरी स्थानीय आर्थिक विकासलाई बढवा गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक समन्वय गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिंगरोडको विकाससंगै सामूहिक बस्ती विकासका लागि पहल गर्ने, नगरभित्र व्यवस्थित पार्किङका लागि आवश्यक पहल गर्ने, ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सञ्चालन गरी बेरोजगार नागरिकलाई कार्यस्थलमा आधारित तालिम संचालन गरी रोजगारीका लागि पदस्थापन गर्ने, रोजगार मेला सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको छ ।

यस्तै एक कृषि सहकारी, एक कृषि उपज उत्पादन कार्यक्रम संचालन गर्ने, ‘हामी फर्काउँछौं हाम्रो सहकारीको विश्वास’ भन्ने आह्वानका साथ सहकारीप्रति गुमेको विश्वास फर्काउने सहकारीलाई जिम्मेवार बनाउने, उद्यमशिलता प्रवर्द्धन गर्न महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रमको निरन्तरता, जेष्ठ नागरिकको सम्मानका लागि आमाबुवा चौतारी कार्यक्रमको निरन्तरता, बालविवाह न्यूनीकरणका लागि बालिका शिक्षा तथा मुद्दती खाता योजना, वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि भिजिट वेष्टर्न नेपाल २०८१ कार्यक्रम संचालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेशिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषक आम्दानीमा वृद्धि गर्दै लैजाने, प्रांगारिक खेतीका क्षेत्रहरु विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसंग समन्वय, सहकार्य  गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नश्ल सुधारको लागि गाईभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोहलपुरलाई १ अर्व ५ करोडको बजेट

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् ।

यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उनले बताइन् ।

नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको सुवेदीले बताइन् ।

नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्‍चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरु सँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धी प्रति जिम्मेवार बनाइनेछ ।

नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धी हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति कोहलपुर नगरपालिकाले लिएको छ । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था,मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

त्यसैगरीस्थानीय समुदायलाई करेसाबारी र कौसिखेतीमा प्रोत्साहन गरिनुका साथै नगरका बाँझो जमिन तथा खाली बगरको पहिचान गरी स्थान सुहाउँदो फलफुल र तरकारी खेतीका लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्‍चालन गर्ने, कोहलपुर क्षेत्रमा उत्पादित तरकारीलाई बजारको पहुँच पु¥याई तरकारी आयातलाई प्रतिस्थापन गरी निर्यातका लागि प्रोत्साहन गर्ने, कोहलपुरका विभिन्न वडाहरुमा उत्पादन हुने बालीहरुको पहिचान गरी बाली विशेषका पकेट क्षेत्र निर्धारणको अवस्था आंकलन गरी पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गर्ने, कृषि क्षेत्रमा मर्यादित एवं आकर्षणको पेशा बनाउनुका साथै कृषि कार्यमा लाग्ने श्रमशक्ति एवं लागत न्यूनीकरण गरी आधुनिक कृषि उपकरण तथा यान्त्रीकरण वितरणको कार्यलाई निरन्तरता दिने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।

यसैगरी बैदेशिक रोजगारीको अवस्थालाई सुरक्षित मर्यादित तथा व्यवस्थित गराउने उद्देश्यले यस नगरपालिकामा सुरक्षित रोजगार सम्वन्धी आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरी सञ्चालन गर्ने, बेरोजगार युवाहरुलाई कृषि, पशुपालन लगायतका नवपर्वतनात्मक उद्यमशीलतालाई प्रोत्साहन गरी उत्पादनमा युवा संलग्नता र नेतृत्व अभिवृद्धि गर्न ‘उत्पादनमा युवा प्रोत्साहन’ गर्ने, स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनुका साथै उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गर्ने, खाद्य वस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दै लैजाने, राष्ट्रका लागि खेलकुद ः स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसात गर्दै कोहलपुर क्षेत्रभित्रका तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

समग्र खेलकुद विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरुको व्यवस्था गरी बिद्यालयहरुमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउने, खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फूटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता, स्थानीय र अन्य खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिने र विभिन्न खेलकुद विधामा नगरस्तरीय टिम तयार गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने, स्वास्थ्य बीमा कार्यक्रमममा सबैको सहज पहुँच सुनिश्चित गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा ल्याउने, मानव स्वास्थ्यलाई मध्यनजर गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिने, सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परिक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनर्स्थापनाका कार्यक्रम ल्याउने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

बालबालिकाहरुका लागि बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण, बालश्रम र लागु पदार्थ दुर्ब्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, यस प्रकारका कार्यक्रम सञ्चालन गरी कोहलपुर नगरपालिकालाई बालमैत्री नगरपालिका रुपमा स्थापित गराउन पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपाङ्गता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइनेछ । अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रमहरु संचालन गरिने भएको छ ।

त्यसैगरी दलित तथा अतिविपन्न एवं सीमान्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रवर्द्धन गर्ने, लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम संचालन गर्ने, कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिनेछ र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्‍नती गर्ने, आगामी आर्थिक वर्षमा सडक विस्तार, सडक कालोपत्रे, पक्की नाली निर्माण उचित ढल निकास पक्की पुल निर्माण कार्यलाई प्रभावकारी र गुणस्तरिय बनाई द्रुततर पूर्वाधार विकासमा जोड दिने, मूख्य शहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गर्न पहल गर्ने, बजार क्षेत्रको उचित ढल निकास, विद्युत लाईन क्षमता विस्तार गरिनुका साथै प्रत्येक वडामा एउटा सामुदायिक भवन/जेष्‍ठ नागरिक विश्रामस्थल निर्माण कार्यको थालनी गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामा सरोकारवाला निकायहरुको राय सुझाव समेत लिई अद्यावधिक गर्ने, छाडा गाइवस्तुहरुको व्यवस्थापनका लागि छिमेकी पालिका एवं अन्य सरोकारवालाहरुसँग समन्वय एवं साझेदारी गर्ने, विपदबाट हुने क्षति बापतको राहत र पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने गरी स्थापना गरिएको विपद व्यवस्थापन कोषको परिचालनलाई थप व्यवस्थित गर्ने, नगरपालिकास्तरबाट सम्पादन भएका कार्यहरुको सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता कार्यहरुमा निरन्तरता दिई नगरपालिकाको सेवालाई नगरवासीप्रति उत्तरदायी तुल्याउने, आगामी वर्ष देखि वडा कार्यालयले समेत सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गर्ने, नगरपालिकामा कार्यरत कर्मचारीहरुको अनुशासन, नियमितता र सेवाग्राहीलाई सेवाको सुनिश्चितता समेत दिलाउने उद्देश्यका साथ नगरपालिकाका अतिरिक्त मातहतका वडा कार्यालय एवं स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी प्रणाली अवलम्बन गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

सभामा सदस्यहरु इश्वरी विक, माधव रिजाल, कल्पना शर्मा, गोविन्द वाग्ले लगायतले बोलेका थिए ।