Thursday, May 14, 2026
घर ब्लग पृष्ठ 128

९ महिनादेखिको तलब नपाउँदा स्वास्थ्यकर्मी समस्यामा

कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् ।

जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताए ।

‘आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेका थियौँ । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन’, उनले भने, ‘वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन, कर्मचारी निकै समस्यामा रहनुभएको छ ।’

गतवर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको स्वस्थ्य शाखा चौधरी बताए ।

सङ्घीय सरकारबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले नौ महिनादेखि तलब नपाउँदा घरव्यवहार चलाउन निकै मुस्किल भएको बताए ।

‘बैंकको किस्ता सापटी मागेर तिर्नुपरेको छ । बालबालिकाको स्कुलको शुल्क तिर्न सकिएको छैन । किनेर खानुपर्ने बाध्यता हुँदा व्यापारीले विश्वास गर्न छाडिसक्यो’, उनले भने, ‘आयस्रोतको आधार त्यहीँ जागिर हो । त्यहाँबाट पनि यत्रो लामो समयसम्म तलब नपाएपछि घरव्यवहार चलाउन कठिन भइसकेको छ।’

जानकीजस्तै गोदावरी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले तलबभत्ता पाएका छैनन् । त्यहाँ पनि दरबन्दीभन्दा ३९ जना कर्मचारी बढी छन् । गोदावरीमा ५२ जनाको दरबन्दी रहेकामा ९१ जना कर्मचारी कार्यरत छन् । चालु आवमा दरबन्दी भएकै कर्मचारीको पनि रु एक करोड १३ लाख रकम कम आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउँछन्।

‘जनप्रतिनिधिले पहुँचका आधारमा आफ्ना मान्छेलाई घरपायक पार्न खोजेकै कारण समस्या भएको हो । कर्मचारी सरुवा गर्दा त्यो कर्मचारीको सबै सेवासुविधा व्यहोर्ने सम्झौताअनुसार कर्मचारी दरबन्दी छाडेर आएको हो’, उनले भने, ‘आज स्वास्थ्यको तलब जहाँ दरबन्दी छ त्यहाँ गइरहेको छ तर कर्मचारी नहुँदा त्यहाँ गएको रकम खर्च भइरहेको छैन । जहाँ कर्मचारी समायोजन भएर आएका छन्, त्यहाँ पैसा पुगेको छैन ।’

टीकापुर नगरपालिकामा पनि १० जना कर्मचारी बिनादरबन्दी कार्यरत छन् । १४ जनाको दरबन्दी रहेकामा २४ जना कार्यरत छन् । सङ्घीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरुप समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिनुपर्ने प्रमुख रावलले बताए ।

कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । एक–दुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेको रावलले बताए ।

केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलबभत्ता व्यवस्थापन गरेको पाइएको छ । चालु आवमा भजनी नगरपालिकामा रु २८ लाख तलबभत्ताको बजेट कम आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।

उनका अनुसार नगरपालिकामा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३० जनाको मात्रै दरबन्दी छ । बाँकी १० जना समायोजन भएर आएका कर्मचारीको तलब यस वर्ष नगरपालिकाले आफ्नै स्रोतबाट भुक्तानी गरेको उनले बताए । ‘हामीलाई करिब रु तीन करोड बजेट चाहिथ्यो । सङ्घबाट रु दुई करोड ७२ लाखमात्र आयो, अपुग हुन आउने रकम नगरपालिकाले भुक्तानी गरेको छ’, उनले भने ।

पहिरोमा परी २ जना बालबालिकाको मृत्यु, एकजना घाइते

मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारालाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

‘अवस्था सिरियस रहेको छ । अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ।’

बस्ती पस्यो खाेलाकाे बाढी, ५०० बढी घर डुबानमा

निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।

खोलाको बाढी विराटनगर महानगरपालिका-६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । उनका अनुसार वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।

महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् । वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।

विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए । विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए ।

पार्किङ क्षेत्रमा बाढी पसेपछि विमानस्थलमा उडान अवतरण बन्द

पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ ।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन: सुरु हुनेछ ।

‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ’, उनले भने, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’

उनका अनुसार बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।

२०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।

३६ परिवार विस्थापित

निरन्तरको वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका ३६ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर महानगरपालिका-८ मा १० परिवार विस्थापित भएका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।

विराटनगर महानगरपालिका-१९ सरदकार टोलमा पनि १० परिवार विस्थापित भएका छन् । वर्षाको पानीले निकास नपाउँदा उनीहरुका घर डुवानमा परेका थिए । उनीहरुलाई पनि स्थानीय शिवजी आधारभूत विद्यालयमा राखिएको छ ।

बुढीगंगा गाउँपालिका-१ शान्ति चोक र गैरीटोलका गरी १६ परिवार पनि विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा सरेको प्रहरीले बताएको छ ।

केसलिया खोला बस्तीमा पसेका कारण विराटनगर महानगरपालिका-१२ बखरीबाट विस्थापित भएकाहरुको उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रभावितको विवरण आइसकेको छैन ।

वर्षाका कारण परेको पानी निकास नहुँदा विराटनगर महानगरपालिका-३ मा रहेको प्रहरी चौकी बरगाछीको भाडाको घरमा पानी पसेको छ ।

विराटनगर-८ मा वडा प्रहरी कार्यालय हाटखोलाको ब्यारेक र खाना पकाउने ठाउँमा वर्षाको पानी पसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव

देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

source: Dainik Nepalgunj

चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।

यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो केम्लीगाउँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गएराति शौचालय जान बाहिर निस्कने क्रममा ६५ वर्षीय दानबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो ।

चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते हुनुभएको छ । प्रहरी निरीक्षक चापागाईंका अनुसार उहाँको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङका कारण बेँशीसहर नगरपालिका–६ शेराका स्थानीय मदन परियारको एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ ।

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उहाँले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उहाँको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

Source: Dainik Nepalgunj

 प्रधानमन्त्रीको स्वीकारोक्ति :बजेटमा कमजोरी 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणमा कमजोरी भएको स्वीकार गरेका छन् । साथै सम्भव भएसम्म बजेटलाई सन्तुलित बनाउने कोसिस गर्न अर्थ र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितको बजेटमाथि छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले परम्परागत ढंगबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिवद्धतामा पूर्णतः सफल हुन नसकेको बताए ।

‘गत साल कमिटमेन्ट गरेका कुराहरू पुरै पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सुरुमै भने ।

गत वर्ष २०८० साल असार १३ गते प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्‌मा पेस गर्ने व्यवस्था मिलाउने,’ बताएका थिए । त्यसअनुसार अध्यादेश ल्याएर भए पनि संसद्‌मा समयमै प्रि-बजेट छलफल गराएको समेत उनले स्मरण गरे ।

१५ फागुन २०८० मा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेस गरेका थिए । तर २१ फागुन २०८० प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसँग नयाँ सत्ता समीकरण बनाए ।

सत्ता समीकरण फेरिँदा बजेटको कार्यतालिका पनि प्रभावित भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गर्दै जाँदा कता कता मैले जे सोचेको थिएँ गत साल …’ उनले अगाडि भने, ‘आफू पुरै सफल हुन नसकेकोमा दुःख छ । तर यो प्रयास जारी रहनेछ ।’

उनले नीति कार्यक्रम र बजेटमा कमा र फुलिस्टप पनि फेर्न नपाइने परम्परा ठीक नभएको समेत बताए ।

अर्थ र भौतिकमन्त्रीको ध्यानाकर्षण

बजेटमाथि छलफलका क्रममा सांसदहरूले तीन करोडभन्दा कमका आयोजना संघीय बजेटमा नराख्ने प्रधानमन्त्रीको प्रश्न गरेका थिए । खासगरी शहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयले केही नेताको क्षेत्रमा जसरी योजना थुपारेको छ, त्यसको चर्को विरोध भयो ।

प्रधानमन्त्री प्रचण्डले बजेटलाई लिएर संसद्‌मा व्यक्त भएको आक्रोश मात्र होइन, बजेटको पुस्तिका च्यातिएको पनि थाहा रहेको बताए । सम्भव भएसम्म बजेटमा भएका त्रुटि सच्याएर जानुपर्छ भन्नेमा रहेको भन्दै अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराए ।

‘सम्भव हुने सम्म उपाय खोजेर त्यस (बजेट)लाई सन्तुलित बनाउने कोसिस गर्न माननीय अर्थमन्त्रीलाई पनि मैले भनिराखेको छु’ उनले भने, ‘सम्भव हुनेसम्म करेक्सन गर्नुपर्दछ ।’

४ असारको प्रतिनिधि सभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट असन्तुलित रहेको भन्दै मन्त्रालयगत पुस्तिका नै च्यातिदिएका थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठसँग समेत आफूले कुरा गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘अलि बढी भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित विषय सदनमा उठेको पनि मैले सुनेको छु । मैले माननीय भौतिक पूर्वाधारमन्त्रीसँग पनि हुनसक्ने जति, अलिबढी करेक्सनको सम्भावना भएको ठाउँमा करेक्सन गरौं भनेको छु ।’

कार्यान्वयनमा सच्याउने प्रतिवद्धता

प्रधानमन्त्रीले नै बजेट निर्माणमा कमजोरी भएको स्वीकार गरेपछि पुरक प्रश्न सोध्ने क्रममा सांसदहरूले मन्त्रीहरू कारबाहीमा पर्छन् कि पर्दैनन् भनेर सांसदहरूले स्पष्टीकरण सोधे । सञ्चार माध्यमहरूले समेत मन्त्रीहरूले टेर्न छोडे, प्रधानमन्त्रीप्रति उत्तरदायी हुन छोडे भन्न थालेको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सोधे, ति मन्त्रीहरूलाई अनुशासनसँग सम्बन्धित बर्खास्त हुन्छ कि हुँदैन ?’

एमाले सांसद सूर्य थापाले मन्त्रीहरुले बजेटमा योजना पार्ने भनेर नक्कली तोक लगाइदिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागे ।

‘विभिन्न मन्त्रालयका मन्त्रीहरूले संसद्का सदस्यहरूले गर्नुभएको सिफारिसलाई रद्धिको टोकरीमा फ्याक्नुभयो । कैयौं सिफारिसमा तोक लगाउनुभएको छ तर, तोक नक्कली छ,’ सांसद थापाले अगाडि थपे, ‘यो खालको मनपरीलाई, यो खालको स्वइच्छाचारितालाई, आफ्नो हात जगन्नाथको स्थितिलाई सच्याउनुहुन्छ कि सच्याउनुहुन्न ?’

कांग्रेस सांसद प्रकाशशरण महतले मन्त्रिपरिषद्‌बाट कार्यविधि पारित गरेर तीन करोडभन्दा तलका योजना बजेटमा नराख्ने भनिएको विषय किन कार्यान्वयन भएन भनेर सोधे ।

पाँच वटा मन्त्रालयले मात्र एक करोडभन्दा तलका योजनामा झण्डै ५६ अर्ब बजेट विनियोवन गरेको भन्दै पूर्वअर्थमन्त्री महतले प्रश्न गरे, यस्तो बजेट विनियोजनले नतिजा आउँछ ?’

जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग आफ्नो असमझदारी नरहेको दाबी गरेका छन् । ‘प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीहरूले टेरेनन् भन्ने मलाई परेको छैन,’ उनले अगाडि भने, ‘हाम्रो काम गर्ने परम्परागत शैली र विधि/विधानलाई बदल्न सकिएको हो । मन्त्रीका आफना बाध्यता पनि मैले नजिकबाट हेरिराख्या छु ।’

तर तीन करोडभन्दा साना योजना संघीय बजेटमा नराख्ने आफ्नो प्रतिवद्धता कार्यान्वयन हुन नसकेको स्वीकार गरे । तीन करोड भन्दा साना आयोजना अब संघले नगर्ने भनेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग पटकपटक छलफल गरेको भन्दै उनले भने, ‘तीन करोडभन्दा तलको योजना पर्न त परिहाले । अब तिनको कार्यान्वयन प्रदेश र स्थानीय तहलाई दिने गरी व्यवस्था गर्ने कुरा गरेको छौं । मलाइ विश्वास छ– यसमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा सहयोगी हुन्छन् ।’

२० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार

यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ ।

नगरपालिकाले ११औंं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ ।

बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । ‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौं,’ नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।

नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे ।