‘स्वस्थ आहार भोकमुक्त नेपाल’

सन्दर्भ ः विश्व खाद्य दिवस

वसन्त गौतम

आज अक्टोवर १६ अर्थात बिश्व खाद्य दिवस । दिवसका सन्दर्भमा नेपाल लगायत विश्वभर आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ  । ‘पहल स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मुल नाराका साथ नेपाल सरकारले ३९ औ बिश्व खाद्य दिवस मनाउन लागेको जनाएको छ । नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उदेश्यका साथ सन् १९८१ देखि यो दिवसलाई राष्ट्रिय रुपमा मनाउदै आएको छ ।


संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को अगुवाइमा विश्वभर बिश्व खाद्य दिवस मनाईन्छ । खान पाउनु मानवको आधारभूत अधिकार हो । मानव जातिलाई पुग्ने खाद्यान्न उत्पादन भएर पनि विश्वका ८०० झण्डै मिलियन जनता भोकमरीबाट सताइँदै आएका छन् । जसमध्ये ६० प्रतिशत महिला छन् । विश्वका ८० प्रतिशत अति गरिव जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् र ती कृषिमा निर्भर छन् । यसर्थ औलो, टिवी र एड्स जस्ता महामारीबाट मारिने भन्दा विश्वमा भोकमरीबाट वर्षेनी मारिने जनसंख्या उच्च रहने गरेको छ । करिब ४५ प्रतिशत बालमृत्युदर कुपोषणका कारण हुँदै आएको छ । विश्व अर्थव्यवस्थामा कुपोषणको क्षेत्रमा मात्र तीन दशमलव पाँच प्रतिशत ट्रिलियन डलर वर्षेनी लगानी हुँदै आएको बिभिन्न तथ्यहरुले देखाउने गरेको छ ।


विश्व जनसंख्याको एक चौथाइ अर्थात् एक दशमलव नौ प्रतिशत विलियनमा मोटोपनाको समस्या छ । यसरी वर्षेनी विश्वमा उत्पादन हुने मध्ये एक तिहाइ खाद्यान्न खेर गइरहेको छ । विश्वका जनसंख्यालाई पाल्न सन् २०५० सम्म खाद्यान्नको उत्पादन ६० प्रतिशतले वृद्धि हुनुपर्दछ । जलवायु परिवर्तनको गम्भीर असर सबैभन्दा बढी कृषि क्षेत्रमा परिरहेको छ । भोकमरीको अन्त्यका लागि एफएओले विश्वका एक सय ३० मुलुकमा शून्य भोकमरी अभियान सञ्चालन गरिरहेको छ  । यसैगरी खाद्यान्न संकट र भोकमरिको विरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषि संगठन एफएओका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट हो । स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानू २१ औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो । यसरी संसारभरि बढ्दै गएको खाद्य सुरक्षा विषयलाई राष्ट्रिय नीति कार्यक्रममा आन्तरीकरण गर्ने, खाद्य सुरक्षा दिशातर्फ अनुकूलन सम्बन्धी चेतना र क्षमता विस्तार गर्ने, उत्पादन क्षेत्रमा प्रति इकाइ उत्पादकत्व बढाउने नीति कार्यक्रम कार्यान्वयन क्षमता विकास गर्ने कार्य आफैंमा चुनौतीपूर्ण रहेको छ । सार्वजनिक तथ्यहरुले संसारभर झण्डै ८० लाख मानिसहरु हरेक रात भोकै बस्नु परेको छ ।


खाद्य दिवसले सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्ने कार्यक्रम राखेको छ । संसारमा विभिन्न कारणहरुले गर्दा धेरै मानिसहरु भोकले ग्रस्त छन् । यसलाई सहयोग गर्ने हेतुले तिन वर्ष अघि १ सय ९३ देशहरु मिलेर विभिन्न सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए । संसारमा भोको हुनुमा मुख्य कारणहरु भने गरिबी, पछौटेपन, जलवायु परिवर्तन आदि रहेका छन्  । विश्व खाद्य संगठनको मुख्य कार्य भनेको अधिकांश ग्रामीण क्षेत्रहरुमा रहेका गरिब र भोका जनताको उद्धार गर्नु हो ।

यसको लागि रोम, इटालीलगायत विश्वभरि एक सय ३० भन्दा बढी देशहरुमा कार्यालयहरु खोलिएका छन् । यसर्थ ग्रामीण विकास लागि हरेक देशको आ–आफ्नो रणनीति तय गर्ने कार्यक्रमहरु अगाडि सारिनु पर्दछ । जबसम्म ग्रामीणस्तरको विकास गर्न सकिन्न, ति क्षेत्रका जनताको खाद्य अधिकार सुनिश्चितताका लागी बिशेष कार्यक्रम ल्याईदैन तबसम्म कुनै पनि देशले सिंगो देशको विकास संभव हुँदैन । यसरी जबसम्म गाउँस्तरमा बसोबास गर्ने सर्वसाधारणको जीवनस्तर उकास्ने कार्यक्रमहरु तय गर्नु आवश्यक छ । हाम्रो देशको कुरा गर्ने हो भने पनि गाउँ गाउँले भरिएको देशमा आम्दानी स्रोत पहिचान गरी तिनै तहका सरकारले रोजगारीमूलक र ब्यवशायिक कार्यक्रम ल्याउन जरुरी छ ।


बाँच्न पाउने अधिकारको आधार नै खाद्य अधिकार हो । खाद्य अधिकारको संरक्षण नभएसम्म अन्य अधिकार सुरक्षित हुन सक्दैनन । खाद्य अधिकारको सुरक्षा गर्नु पर्ने दायित्व राज्यको हो । तर अहिले पनि कैयौ नेपाली जनताहरु प्राकृतिक बिपत्ती, भोकमरी, कुपोषण, झै–झगडा, बन्दहडताल, आन्दोलन लगायतका कारण सहज रुपमा खाद्य अधिकार उपभोग गर्न पाईरहेका छैनन । मध्य पश्चिमका पहाडी जिल्लामा समय खाद्यान्नको आपुर्ति नभएर होस वा झाडा पखाला र महामारी लगायतका रोगको समयमै रोकथाम हुन नसक्दा धेरैको बाँच्न पाउने अधिकार हनन भैरहेको छ ।


खाद्य उत्पादनमा एकाधिकारको अन्त्य गरि खाद्य वितरण प्रणाली व्यवस्थित नभएसम्म आधारभुत मानव अधिकारको रुपमा खाद्य अधिकारको उपभोग सबै नागरिकले सहज रुपमा गर्न सक्दैनन । खाद्य अधिकारको मुद्दा भूमि अधिकारसँग पनि जोडिएको छ । भूमि माथिको नागरिक अधिकारले मात्र खाद्य अधिकार सुनिश्चितता हुन सक्दछ । मौलिक हकको रूपमा व्यवस्था गरिएको खाद्य अधिकारको सुनिश्चितताका लागी सबै जनताको खान पाउने अधिकारको सुनिश्चितता हुनु पर्दछ । कृषि उत्पादनका आधारभूत कुराहरु मलखाद, सिँचाइ, विद्युत् र बीउबिजनमा सहुलियत दिएर, उत्पादित कृषि उपजको मूल्य तोक्ने र सहज बिक्री गर्न पाउने अधिकार कृषकको हुनु पर्दछ । वातावरणिय पक्षको मुल्याङ्कन नगरि कृषि योग्य जमिनलाई नोक्सान पु¥याउने हिसावले जथाभावी खोलिएका कलकारखानाले कृषि उत्पादनमा हस ल्याई खाद्य अधिकारमा प्रभाव पार्ने कार्यलाई रोकिनु पर्दछ ।


खाद्यअधिकार केवल खाने कुरासंग मात्र सम्बन्धित छैन । यो अधिकारको सम्बन्ध अन्य अधिकारहरुसंग पनि जोडिएको छ । मानवले खानको साथै अन्य अधिकारहरु संगसंगै उपभोग गर्न पाएको अवस्थामा मात्र उसले आत्मसम्मानका साथ मर्यादित जिवन जिउन सक्दछ । खाद्य वस्तुहरु खानलायक, भनेको बेलामा उचित मुल्यमा किन्न पाउने र सहज उपलब्धता भएमा मात्र ब्यक्तिको खाद्य अधिकार सुनिश्चित हुन सक्दछ । तर नेपालमा कतिपय क्षेत्रमा अझै पनि पैसामा किन्न खोज्दा समेत गुणस्तरिय बस्तुहरु उपलब्ध हुदैनन् । गरिवी, अभाव र भोकमरिमा परेका जनताको लागी सरकारले समयमै उचित प्रवन्ध मिलाई जनताको खाद्य अधिकार प्रतिको आफ्नो दायित्व पुरा गर्न नसक्दा कतिपय बिकट क्षेत्रका जनताको खाद्य अधिकार सुनिश्चित हुन सकेको छैन । अझै पनि कैयौ ब्यक्तिहरु भोकै मर्नु परेको छ भने खाद्य बस्तुको अभावमा साग सिस्नु खाएर जेनजेत ज्यान जोगाउन बाध्य हुनु परेको छ ।


बाढी पहिरो लगायतका प्राकतिक बिपत्ती, गरिवि, बेरोजगारी, भुमिहिन, सुकुम्बासी, बिकट भौगोलिक क्षेत्र लगायतका कारण ब्यक्तिको खाद्यअधिकार उपभोगमा समस्या पर्ने गर्दछ । यस्तोमा खाद्य पदार्थको परिपुर्ति गर्ने, पीडित जनतासम्म खाद्यान्न लगायतका सामाग्री पु¥याउने दायित्व राज्यको हुन्छ । यस्ता कुरालाई मध्यनजर राख्दै सरकारले समयमै खाद्यबस्तुको ढुवानीको ब्यवस्था मिलाउन, भण्डारण गर्न र सरल र सहज तरिकाले बिक्रि वितरणको ब्यवस्था मिलाउनु पर्ने हुन्छ । तर ब्यवहारमा हेर्दा यस्ता कार्य गर्नमा सरकार चुकेका कारण कतिपय जनताको खाद्य अधिकारको उल्लघंन हुन गएको छ ।
यसै गरि बजारमा म्याद नाघेका खाद्यसामग्री बिक्री बितरण हुने, वस्तुको नापतौलमा अनियमितता, तोकिएको मूल्यभन्दा निकै बढीमा खाद्यान्न तथा अन्य वस्तु बिक्री वितरण हुनु, मूल्य–सूची नटाँसिएका कारण सर्वसाधारणलाई पर्ने मर्काका बारेमा पनि सरकारी संयन्त्रहरु चनाखो हुनै पर्दछ । यसै गरि सरकारले अघि बढाएको कानुनसम्मत अनुगमन प्रक्रियालाई उद्योगी–व्यापारी लगायत सबै सरोकारवालाहरू निकायले उच्चतम सदासयताका साथ सहयोग गर्नु पर्दछ । यस्तै सही मूल्यमा उपयुक्त वस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकारको सम्मान गर्न, खाद्यान्न अभाव भएका जिल्लाहरूमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराई बजारमा देखिएको अव्यवस्था र मनोमानीलाई निराकरण गर्न अनुगमन कार्यलाई केन्द्रदेखि स्थानीय तहसम्म व्यापक रूपमा अघि बढाउन, यसलाई वर्षैभरि निरन्तरता दिन र उपभोक्ताको हितविपरीत कार्यमा संलग्न वस्तु तथा सेवा प्रदायकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकिएको खण्डमा खाद्य अधिकार उपभोगमा सहजता हुन सक्दछ ।


भोकमरि नियन्त्रण गर्न राज्यको खाद्यान्न वितरण प्रणालीको प्रभावकारीताले खाद्य अधिकार उपभोगमा ठुलो प्रभाव पार्ने गर्दछ । सरकारले चालेका कदमहरु, राज्यको खाद्यान्न वितरण नीति र प्रणाली भोकमरिको तुलनामा पर्याप्त छन् कि छैनन भन्ने कुराको औचित्यताको परिक्षण गर्ने प्रणालीको बिकास गरिनु पर्दछ । त्यस्तो परिक्षणको आधारमा राज्यको खाद्यान्न वितरण प्रणाली संकटको बेला खाद्य सुरक्षा र उपलब्धतामा उसले अपनाउने नीतिले ठुलो प्रभाव पार्ने भएकाले राज्यले यस्ता कुरामा बेलैमा ध्यान पु¥याउनै पर्दछ ।

नेपाल पक्ष भएको आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा ११ अनुसार प्रत्येक ब्यक्ति र उसको परिवारलाई प्रर्याप्त भोजन लुगा तथा आवास समेत आफु स्वयम तथा आफ्नो परिवारको प्रर्याप्त जीवनस्तरको तथा जीविकाको अवस्थाको निरन्तर सुधारको अधिकारलाई स्वीकार गर्दछन् । त्यस कारण पक्षराष्ट्रहरुले यस अधिकारको प्राप्ती सुनिश्चित गर्न उपयुक्त कदमहरु चाल्नेछन् भनी उल्लेख गरेको छ । यस्तै नेपालको संबिधानको (२०७२) को धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धि हक हुने ब्यवस्था गरेको छ । यस्तै प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने र प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुने जनाएको छ । यस्तै संबिधानमै रोजगारीको हक, स्वास्थ्यको हक र स्वच्छ वातावरणको हक लगायतका मौलिक हकहरुको पनि ब्यवस्था गरिएको छ । तर त्यस्ता अधिकारहरुको कार्यान्वयन पक्ष फितलो हुने आशंका धेरैले गरेका छन् । संबिधानमै कानून बनाएर मौलिक हक कार्यान्वयन गर्ने कुरा उल्लेख गरेकाले यो हकको सहज कार्यान्वयन हुनेमा अझै आशंका रहेको छ । तर अहिलेको संबिधान अनुसार आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारलाई अदालतले न्यायायोग्य बनाउन सकिने भएकाले बिगतको तुलनामा केही आश गर्ने ठाउँ भने अवश्य रहेको छ ।

जनताका आधाभुत मानव अधिकारको सम्मान गर्ने, संरक्षण गर्ने र परिपुर्ति गर्ने प्रमुख दायित्व राज्यको हो । आधारभुत मानव अधिकार भित्र खाद्य अधिकार पनि पर्ने भएकाले यस्तो महत्वपुर्ण अधिकारको सुनिश्चितताका लागी राज्यले प्रर्याप्तता, उपलब्धता, दिगोपना र पहुँचतता जस्ता कुरामा बिशेष ध्यान दिनै पर्दछ । गुणस्तरिय, पोषणयुक्त, सास्कृतिक रुपमा स्वीकार्य र शरिरलाई चाहिने न्यूनतम क्यालोरी, प्रोटिन, भिटामिन र खनिज तत्वहरुको उपभोग गर्न पाउने प्रत्येक जनताको अधिकारको सम्मान र परिपुर्ति गरिनु पर्दछ । त्यस्तै प्राकृतिक र उत्पादनशील श्रोतहरुको ब्यवस्थित बितरण, प्रशोधन र बजार प्रणाली मार्फत उत्पादित क्षेत्रबाट आवश्यक पर्ने स्थानसम्म खाद्यान्न पु¥याउने ब्यवस्था राज्यले मिलाउनु पर्दछ ।
खाद्यान्नको प्रर्याप्तता, उपलब्धता र पहुँच, भबिश्यका सन्ततिका लागी समेत खाद्यान्नको सुनिश्चितता गरिनु पर्दछ । उत्पादन, प्रशोधन, बिक्रि बितरण र उपभोगको आर्थिक, सामाजिक र प्रर्यावरणिय पक्षलाई समेत बिचार पु¥याईनु पर्दछ । खाद्यान्न उत्पादनका लागी आवश्यक श्रोत साधनमा पहुँच, उपभोगका लागी क्रय शक्ति र भौतिक रुपमा खाद्यान्न उपलब्ध हुनुका साथै सहज, दिगो र स्थायी तरिकाले प्रत्येक नागरिकले प्राप्त गर्न सक्ने अवस्थामा सृजना गर्न सकिएमा मात्र खाद्य अधिकारको संरक्षण हुन सक्दछ नत्र भने खाद्य अधिकार केवल कागजमा मात्र सिमित रहने छ ।


अन्तमा बिभिन्न कारणले खान नपाएर, भोकमरिको शिकार भएर अव कोहि पनि अकालमा मर्नु पर्ने स्थिति अव अन्त्य होस । बिश्व खाद्य दिससको सबैमा सुभकामना । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया