मेयर साहबलाई खुला पत्र

भोजराज शर्मा नादिर

मेयर साहेब,
‘माइतीघर’ भन्ने नेपाली सिनेमा तपाईंले हेर्नुभएको छ कि छैन कुन्नि ? ‘माइतीघर’को नाम नसुन्ने सायद विरलै होलान् । भारतीय सुपरस्टार माला सिन्हा मुख्य नायिका । तत्कालीन सुपर स्टार सुनिल दत्त र चर्चित हाँस्य अभिनेता राजेन्द्र नाथको अभिनय रहेको, भारतका तत्कालीन उच्च कोटिका गायकगायिका मन्ना डे, लता मंगेशकर, आशा भोसले, उषा मंगेशकरका कालजयी गीतले सजिएको त्यो सिनेमा साँच्चिकै नेपाली सिनेमाको कोशेढुङ्गा नै हो । त्यस चलचित्रको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ भन्ने गीत नसुन्ने को होला र ? तर त्यो चलचित्रको विषय नेपालगन्ज र अझ वडा नं ८ को तत्कालीन समयको वादी वस्ती र वेश्यावृत्तिको केन्द्र गगनगन्ज हो भन्ने बारे भने थोरैलाई मात्र जानकारी होला । फिल्मफेयरकी विजेता माला सिन्हा हिन्दी सिनेमामा यौटा गतिलो नाम हो । यो फिल्म पटकपटक हेर्छु, पटकपटक विस्मित हुन्छु । सीपी लोहनी, शिवशंकरमात्र होइन, सुनिल दत्त, माला सिन्हा, राजेन्द्र नाथजस्ता विख्यात कलाकारहरूको मुखबाट ‘नेपालगन्ज’ शब्द जतिपटक सुन्छु मनमा अनौठो आनन्द संचार हुन्छ ।
’सो ह्वाट ?’ अनि के भो त ? यही हैन उत्तर ? वास्तवमा माला सिन्हा र सुनिल दत्तसहित सारा हिन्दीका सुपरस्टार र गायक गायिका लागेर पनि नेपालगन्जलाई ‘सपनाको सहर’ बनाउन सके ? अरू कुरा छोडौं, फिल्म जुन विषय लिएर बनेको थियो त्यो गगनगन्जको समस्या समाधान गर्न सक्यो त्यो फिल्मले ? गगनगन्जको कुख्याती त्यसको ३० औं वर्षपछि अरू नै प्रयासबाट धोइएको हो ।

आफूलाई लागेका हरेक कुरा सत्य हुँदैनन् । आफूसँग सन्तान नभएका वा सन्तानको मोह भएको हिरोलाई चिल्ड्रेन पार्क, सन्तानबाट पीडित हिरोलाई वृद्धाश्रम, रोगी हिरोलाई अस्पताल ठूलो लागेर तिनको निर्माण गर्नु नै ठूलो लाग्न सक्छ । कसैलाई सडक र नाला मात्र समृद्धि हो जस्तो लाग्ला तर साँचो हिरो झुपडी र महलको औसत निकाल्न सक्ने हुनुपर्छ । 

त्यसपछि पनि नेपालगन्जमा पटकपटक धेरै स्टारहरू उदाउने, मिलिकमिलिक गर्ने र छिट्टै ब्ल्याक होलमा रूपान्तरण हुने क्रम निरन्तर चलिरहेको हामीले देख्दै आएका छौं । कतिपय हिरोहरू सर्कसमा उफ्रेर बिलाए । कतिपय ती हिरोहरूले केही कारनामा गर्न नत यस फि नेपालगन्जलाई आफ्नो स्वार्थ र आग्रहअनुकूल विभिन्न ट्याग दिन खोजिन्छ । कोही यसलाई ऐतिहासिक शहर भन्छन् । हुन त इतिहास नभएको कुनचाहिं शहर यस संसारमा छ र ? विराटनगरवासीले फुर्ति हाँक्न आफ्नो शहरलाई महाभारतकालीन पौराणिक शहर भन्दा हुन् । कसैले औद्योगिक नगरीको रूपमा चिनाउन खोजे त्यो नाम पनि चलेन । अचेल कसैले आफ्नै अनुकूलतामा यसलाई शैक्षिक हब भनेर प्रचार गर्दैछन्, कोही क्यासिनो र स्टार होटलहरूको हब । जति नाम चलाउन खोजे पनि यो शहर ऊँटजस्तो छ । पकडमा आउँदैन । नेपालगन्जबासी धर्मसंकटमा छन् कि खास हाम्रो पहिचान के हो ?


चुनावमा हामीले तपाईहरूलाई हाम्रा पक्का हिरो बनाएर पठायौं । मानौं न युगान्तकारी ‘माइतीघर–२’का स्टारहरू हुनुहुन्छ तपाईंहरू । माला सिन्हा, सुनिल दत्त, मन्ना डेलाई नेपालगन्जीयाले के चिन्छन् जति तपाईंहरूलाई गल्लीगल्लीले चिन्छ । हरेक विजेता आफैमा १ स्टार । मेयर स्टार, उपमेयर स्टार, शहरी विकास मन्त्रीजी झन् सुपर स्टार, वडा अध्यक्षहरू नगरमा जे हैसियतका मान्नुस् वडामा तपाईंहरूभन्दा बढी ठूला सुपरडुपर स्टार । अब त कसो नेपालगन्जको कायापलट नहोला सोच्यो फेरि विवाद, लफडा । बाटो बनाउन खोज्यो विवाद, पार्क, काञ्जी हाउस, चिल्ड्रेन पार्क, मन्दिर जहाँ छुन खोज्यो त्यहीँ विवाद र फसाद । सबैमा को सुपरस्टार ? भन्ने चिन्ता । यौटो रुख काट्छ अर्को रुख रोप्छ । गोठालालाई गौहत्या गरेर साइकिलिङ गर्न गएको आरोप लाग्छ । चुप लागेर समाधान होला भन्यो करोड दिएर गोरक्षक बनिदिन्छ अर्कै । अफ द रेकर्डमा नेपालगन्जका नायकहरूले एक अर्कालाई उठ्न नदिने र एक्लै हिरो बन्न खोज्ने प्रवृत्तिबारे जसरी विष वमन गर्छन् नि त्यसलाई मान्ने हो भने सबैलाई एक्सरे क्यामेरा लगाएर नाङ्गै हिंडेको जस्तो देखिन्छ ।

मेयरसाहेब, यति भूमिका तपाईंलाई चिढाउन लेखिएको होइन । आँखालाई सम्यक बनाई हेर्नुभयो भने नेपालगन्जका हरेक तपाईंका विरोधी तपाईका आलोचक तपाईंलाई मित्र लाग्नेछन् । म स्वयम् तपाईंको ऊर्जाको प्रशंशक हुँ । तपाईंको जेस्चर, बडी ल्याङ्वेज, सकारात्मकता, गतिशीलता साह्रै सराहनीय छन् । (अध्यक्षको आँखाले हेर्दा ‘बार्दली’ र यसको सांस्कृतिक पक्षबारे तपाईंको सकारात्मकता त हाम्रा लागि धेरै हो) । भाग्यले तपाईंलाई भ्रष्टाचार गर्नुपर्ने अवस्था दिएको छैन । पैसा पुगिसरी त बिल गेट्सलाई पनि छैन तर सामाजिक, शैक्षिक, जातीय हरेक दृष्टिले तपाईं ‘रोयल’ हुनुहुन्छ । स्टार हुनाका लागि चाहिने लगभग सबैथोक तपाईं्रसँग छन् । यस पत्रमार्फत् नेपालगन्जका नागरिक, शुभचिन्तक र तपाईंका आलोचकहरूलाई हेर्दा उनीहरूले तपाईबाट चाहना गरेका केही महत्वपूर्ण कुराहरू राख्दै छु । स्वभावैले चिन्तन गर्नुहुनेछ भन्नेमा आशावादी छु ।

१. तपाईंको फेसबुक एकाउन्टमा सधैं घोषणा वा आदेश मात्र पोस्ट हुन्छ । प्राय जिज्ञासामा कमेन्ट गर्नुहुन्न । तपाईंका सहकर्मी र सल्लाहकार नै सबैथोक होइनन् । यहाँ नेपालगन्जसँग आत्मा जोडिएका रैथाने नेपालगन्जीया पनि बस्छन् । सामाजिक सञ्जालमा नगरपिताका नाताले गर्न थालेको कुरा राखी सुझाव र सल्लाह माग्नुस् । भोट माग्न दैलोमा गई नमस्कार गर्दा सानो नभएझैं मेयरले सामाजिक संजालमा नसुतेर भए पनि हरेक नगरवासीको जिज्ञासाको ममाधान ग¥यो भने मेयर साँचो हिरो हुन्छ ।

२. आफूलाई लागेका हरेक कुरा सत्य हुँदैनन् । सन्तान आफूसँग नभएका वा सन्तानको मोह भएको हिरोलाई चिल्ड्रेन पार्क, सन्तानबाट पीडित हिरोलाई वृद्धाश्रम, रोगी हिरोलाई अस्पताल ठूलो लागेर तिनको निर्माण गर्नु नै ठूलो लाग्न सक्छ । कसैलाई सडक र नाला मात्र समृद्धि हो जस्तो लाग्ला तर साँचो हिरो झुपडी र महलको औसत निकाल्न सक्ने हुनुपर्छ । भत्केको सडक टाल्नु मात्र सभ्य हुनु होइन । औतारदेई चौधराइन, फत्तेबालको फुटेको मूर्ति चियाउने आँखा हुनुपर्छ सच्चा हिरोको । हिरोहरू पुर्खालाई भुल्दैनन् । नयाँ स्कूलको उद्घाटनमा पुग्ने मात्र होइन औतारदेई चौधराइनको हृदय जोडिएर त्यत्रो जग्गा दान दिई बनेको नारायण डिग्री कलेज, नारायण स्कूल, महेन्द्र क्याम्पसको हाल के छ भनेर पनि हेर्न पुग्नुपर्छ । सबैका कुरा सुन्नुपर्छ ।

३. तपाईं नगरको पालक हो । कुनै मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिले नै किन नगरोस् नेपालगन्जको लागि घोषणा भएको सहयोग, योजनाको जानकारी र निरीक्षण तपाईबाट हुनुपर्छ । उदाहरणको लागि शहरी विकास मन्त्री राईजीले धम्बोझी स्कूललाई दिन्छु भनेको १० लाख रूपैयाँ, गाई संरक्षणका लागि दिन्छु भनेको १ करोड रूपैयाँ, १० हजार बिरुवाबारे के हुँदैछ भन्नेमा सबैभन्दा बढी अपडेट तपाईं हुनुपर्छ र अभिभावकको नाताले ताकेता पनि गरिरहनुपर्छ ।

४. तपाईंले अविलम्ब बागेश्वरी मन्दिरको पश्चिममा बनाउने भनिएको र शिलान्यास गरिएको शपिङ कम्प्लेक्स निर्माण स्थगित गरी सबैको सहकार्यमा आफ्नो सक्रियतामा त्यसको आँगन विस्तार गरी सौन्दर्यीकरण गर्नुपर्छ ।

५. तपाईंलाई गाली गर्ने, तपाईंसँग ठुस्किने तपाईका आफ्नै माया गर्ने सरल चित्तका राम्रा मानिसहरू हुन् । उनीहरू पनि नगरको भलाई नै चाहन्छन् । छलफलमा कसैलाईलाई काखापाखा नगर्नुस् । अभियन्ताहरूसँग जुहारी खेल्ने होइन सहकार्य गर्नुहोस् । सबैलाई साथ लिएर जानुहोस् । विकासका नाममा सांस्कृतिक र ऐतिहासिक विरासत ध्वस्त नहुन् ।

आशा छ यी सुझावलाई सकारात्मक नै लिनुहुनेछ ।
तपाईंको शुभचिन्तक १

प्रतिक्रिया

प्रतिक्रिया