नायकको भेषमा आएका हरेक खलनायकको प्राण पैसामा अडिएको छ । अब पत्ता लगाउन बाँकी त्यो प्राण लुकेको ठाउँ को पुग्ने ? कसरी पुग्ने र त्यसलाई नष्ट गरी कसरी राक्षसको प्राण शरीरबाट निकाली तिनलाई पुनः राम्रा मान्छे बनाउने ?
भोजराज शर्मा नादिर
कहिलेकाहीँ केटाकेटीमा सुनेका र पढेका दन्त्यकथाको सम्झना सबैलाई आउँदो होला । मलाई पनि झझल्को आउँछ । कस्ता अनौठा जादुई, तिलस्मी कथाहरू । प्राय हुनै नसक्ने चमत्कारपूर्ण कामहरू गर्नसक्ने नायक, मौरी, सुगा या कुनै जनावरको शरीरमा प्राण लुकेको दानव वा त्यस्तै खलनायकहरू हुन्थे । तिनीहरूले गरेका वितण्डा र समाजलाई दिएको दुखबाट आजित भएका जनताहरूबीच कुनै नायक अगाडि आउँथ्यो । ऊसँग पनि केके शक्ति हुन्थे तर दानव धेरै शक्तिशाली हुन्थ्यो । तर कसोकसो सत्य र न्यायप्रेमका कारण नायकको विजय भइहाल्थ्यो । नायकको मूल उद्देश्य हुन्थ्यो मूल राक्षसको प्राण कहाँ छ भनेर पत्ता लगाउनु । कसोकसो त्यो पत्ता लागेपछि नायक हर बाधा र अड्चन झेलेर राक्षसको प्राण बसेको ठाउँ पत्ता लगाएर त्यसलाई सूत्रबद्ध ढङ्गले एकएक पाइलो होसपूर्वक चलेर अन्तमा त्यसलाई नष्ट गथ्र्यो । त्यसो भएपछि त्यस राक्षसको अन्त्य हुन्थ्यो र समाजमा शान्ति छाउँथ्यो । राजकुमार दिक्पाललेृ स्फटिकको खम्बाभित्र रहेको मौरी मारेर राक्षसराज्य समाप्त गर्छन् । कुनै राजकुमारले सुगाको घाँटी भाँचेर दानव संहार गर्छन् । यी कथाहरूमा राक्षसको मृत्युको साइनो मौरी, सुगा या अरू कुनै प्राणीमा जोड्नुको कारण केटाकेटी उमेरमा आफूलाई रमाइलै लाग्थ्यो । समाजमा कहिलेकाहीँ झगडालु मान्छे, गाली गर्ने र पिट्ने शिक्षक वा अन्य कोही असाध्यै मन नपर्ने मान्छे छ भने यसको मृत्युको कारण वा प्राण कुन चराको घाँटीमा छ होला जस्तो लाग्थ्यो ।
आज यस्ता कथाहरूको कुनै तुक छैन जस्तो लागे पनि कहिलेकाहीँ यिनकै सापेक्षतामा राम्रा नेताहरूको शक्ति र कुनेताहरूको प्राण कहाँ छ होला भनेर कहिलेकाहीँ घोरिन्छु । पुराना नायक भीमसेन, माथवरसिंह, अमरसिंह, चार सहिद, गणेशमान सिंह, मदन भण्डारी, वीरेन्द्र राजाहरू दैवी चमत्कारले पाउने शक्तिशाली हतियारै नपाई वा राक्षसको प्राण भेटाउनै नसकी मरेर गए । तिनीहरूले दन्त्यकथाजस्तो राजकुमारले भेटाउने जादुई चिराग, मोती केही भेटाएनन् । राक्षसको प्राण लुकेको ठाउँ भेटाउनु त कहाँ हो कहाँ आफ्नो प्राणरक्षाको ठाउँ र ठेगाना समेत फेला पार्न नसकी मरे । गोविन्द केसी, धुर्मुससुन्तली, रवि लामिछाने, प्रेम सञ्जेल, कुलमानहरू राक्षसबधको लागि हतियार खोज्दाखोज्दा थाकिसके । तपाईंहामी सामान्य देशवासी पनि दानीय प्रवृत्तिको अन्त्य अब सम्भव छैन भनेर सतीले सरापेको देश हो यहाँ केही हुन्न भन्दै घोर निराशाको श्वास फेरिरहेका छौं ।
यो घोर निराशाबीच पनि कतै कुनै रजतरेखा देखा परिहाल्छ कि भनी म चाहिं सम्पूर्ण रूपले निराश भइसकेको छैन । आउनुहोस् मिलेर देशका मौलिक नायकहरु खोजौं । इतिहासका नायकहरू, वर्तमानका नायकहरू । तर याद गर्नुहोस् नायकका आफ्ना नितान्त निजी गुणहरू हुन्छन् । नायक सकारात्मक, धर्मरक्षक, धीर, वीर उदात्त, प्रतिभाशाली र स्वविवेकी नेतृत्वकर्ता, धर्म अर्थ काम मोक्ष चारै पुरुषार्थ चिनेको हुनुपर्छ । मातृभूमि र जनताका निम्ति प्राणको वलिदान दिन तयार हुने हुनुपर्छ । आम जनता र बटुवाहरूको निम्ति आदर्श पथप्रदर्शक मात्र होइन स्वयम् बाटो बनाउन सक्ने अन्तिम सत्य जानेको हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा हो नायकलाई कसको काल कहाँ छ भन्ने थाह हुनुपर्छ जसरी लोककथामा नायकलाई थाह हुन्थ्यो कि फलाना राक्षसको काल सुगाको घाँटीमा छ, मौरीमा छ आदि । पूराकथामा कहिलेकाहीँ साँचो नायकले नायक मानिएका तर भित्रभित्रै खलपात्र राजाहरूको हत्या पनि गर्नुपरेको हुन्छ । त्यसैले नायकको पुरुषार्थले कथा अन्तमा सुखमा टुङ्गिन्छ । सबैजना अन्तमा हाँसीखुसी रहन्छन् ।
मैले पनि पटकपटक यसरी नै एकान्तमा गएर नेपाली इतिहास र वर्तमानका नायकहरूको खोजी गरेको छु । नायकको सूचिमा पर्नसक्ने सम्भावित व्यक्तिहरूको लामै फेहरिस्त बन्छ । र तिनलाई हाम्रो वैदिक कालदेखि चलेको सिद्धान्तसूत्रका आधारमा व्याख्या गर्ने प्रयत्न पनि गरेको छु ।
नेपालको प्रथम आदर्श नायक राजा जनक देखिन्छन् । तर यी पात्र पौराणिक हुन् ऐतिहासिक होइनन् । तसर्थ यिनको कथालाई मौलिक मान्न सकिन्न । अंशुवर्मा ऐतिहासिक नायक हुन् तर चिनियाँ यात्री हुआन साङको वर्णनमा मात्र यिनको कैलाशकुट भवनको वर्णन छ । हामी सबैले मानेका इतिहास प्रमाणित नायकहरूको नाम लिनुपर्दा हामीले लिने प्राय नामहरू पृथ्वीनारायण शाह, बलभद्र, अमरसिंह, भीमसेन, भक्ति थापा, बहादुर शाह हुन् । मध्यकाल राणाहरूको खलनायकीमा गुज्रियो जसमा केही उदार राणा भए पनि नायक राणा छैनन् । त्यसपछि अहिले आएर मानिसहरू राजा महेन्द्रको नाम लिन्छन् । राजा वीरेन्द्रलाई माया गर्छन् । तर बिचरा उनले नायकको अन्त्य पाएनन् । नायक जनताको सुरक्षा गर्छ आफ्नो सुरक्षा गर्न नसकेको र दुखान्त दुर्दशा भोगेको व्यक्ति राम्रो मान्छे भयो तर नायक हुन सकेन ।
त्यसो भए आजको सन्दर्भमा नायकको रूपमा खरो उत्रने मान्छे को हो ? हामी सबैका नायक हामीले निर्वाचन आयोगले पाँच वर्षमा सञ्चालन गर्ने मतदानका आधारमा चुनिने नेता मात्र हुन् । तर ती सबै अचानक महा खलनायकमा रुपान्तरण भई हामीलाई नै खान आउने भयङ्कर राक्षसको रूप लिन पुग्छन् । अनि हामी आफूले आफूलाई धिक्कार्दै फेरि नायक खोज्न थाल्छौं । आदर्शवादी भएर कहिलेकाहीँ हामी शिक्षक, प्राध्यापक, एनजिओका मालिक आदिलाई नायक मान्छौं । तर कथाको नायक त राम नै रहन्छ हनुमान होइन । फेरि रामको निगाहले हनुमान नायकनायक जस्तो हुने भएकोले र मालिकको भक्ति नगरेसम्म माखो पनि नमर्ने भएकोले सामाजिक अभियन्ता, प्राज्ञ, प्राध्यापक, शिक्षक नायक हुनै सक्दैनन् । हामीले नायक मानेका न्यायधीश, अख्तियारका प्रमुखसमेत कहिले समाजमा दानव भएर बदलिन्छन् भन्नै सकिन्न । अलिअलि नायकनायक हुन खोज्ने गोविन्द केसी, केदारभक्त माथेमा कहिलेकाहीँ बडो हुँकारले उफ्रन्छन् तर बिचरा राक्षसको प्राण रहेको सुगासम्म त के तिनका घरका पालेसम्मलाई भेट्न पाउँदैनन् । यिनको सत्याग्रहले कुनै ठूलो दम राख्दैनन् । विचराहरूको बेलुनको हावा कहिले भरिन्छ कहिले सुक्छ । नेपालमा सत्यको लागि, न्याय र सुशासनको लागि, रामराज्य निर्माणको लागि कुनै दन्त्यकथाको राजकुमारजस्तो वा आजको फिल्मी हिरोजस्तो नायक देशमा जन्मेन भनेर हामी रोएको रोयै बिताउने भयौं ।
नायक त खैर भेटिएला नभेटिएला । दानवको सत्यानास हुने गरी सराप्दा पनि झनझन् दानवको संख्यामा बढोत्तरी भएको छ । अब भने नायक खोज्ने काम बन्द गरी राक्षसको प्राण कहाँ लुकेको छ त्यो खोज्नु जरुरी देखिन्छ । हाम्रो देशमा राजकुमार नायकको भेषमा हामीलाई झुक्याई नायक बनेका खलनायकहरूलाई चिनिसकेपछि तिनको प्राण कहाँ टिकेको छ त्यो खोज्नुपर्छ । हाम्रा खलनायकहरूको प्राण अड्किएको छ कालो सुटकेशमा अर्थात् कालो धनमा । स्वीस एकाउन्टमा । विदेश भ्रमणमा र जग्गा दलालीमा । समग्रमा नायकको भेषमा आएका हरेक खलनायकको प्राण पैसामा अडिएको छ । अब पत्ता लगाउन बाँकी त्यो प्राण लुकेको ठाउँ को पुग्ने ? कसरी पुग्ने र त्यसलाई नष्ट गरी कसरी राक्षसको प्राण शरीरबाट निकाली तिनलाई पुनः राम्रा मान्छे बनाउने ?