पारिवारिक र सामाजिक न्याय

लोक बहादुर शाह

जनअपेक्षा र न्याय ः
प्रत्येक नागरिक स्वतन्त्र र सम्मानपूर्वक बाँच्न चाहन्छ । प्रत्येक नागरिकका आ—आफ्ना इच्छा र आकांक्षा हुन्छ । उक्त ईच्छा र आकांक्षाहरु कानूनको परिधिभित्र रही पूरा गर्न चाहन्छ । वैयक्तिक स्वतन्त्रताको उपभोग गर्न चाहन्छ । आफूले रोजेको पेशा व्यवसाय गर्न चाहन्छ । आफूले रोजेको स्थानमा बसोबास गर्न चाहन्छ । सम्पति आर्जन गर्न, भोगचलन गर्न र वेचविखन गर्न चाहन्छ । प्रत्येक नागरिक आफूले रोजेको प्रेमी÷प्रेमिका संग वैवाहिक सम्वन्ध कायम गर्न र सुमधुर सम्वन्ध कायम गर्न सम्भव नभएमा सम्वन्ध विच्छेद गर्न स्वतन्त्र छ । राज्यका हरेक निकायमा स्वस्थ प्रतिष्प्रधाको माध्ययमबाट सहभागी हुन पाउँछ । सकारात्मक विभेद बाहेक छोरा÷छोरी, धनी÷गरिव, वर्ण, लिङ्ग, भाषा, संस्कृति, क्षेत्र, धर्म, राजनीति आदिका आधारमा विभेद नहोस् भन्ने जनअपेक्षा रहेको हुन्छ ।
प्रत्येक नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति चाहेको हुन्छ । आफ्ना बालबालिका सुरक्षित साथ विद्यालयबाट घरमा आईपुगुन् भन्ने प्रत्येक अभिभावकको अपेक्षा हुन्छ । सेवा प्रदायक निकाय बाट प्रदान गरिने सेवा सहज, सरल र कमखर्चिलो होस्, सवै प्रति समान ढंगबाट सेवा प्राप्तिको अवसर मिलोस भन्ने प्रत्येक सेवाग्राहीको चाहना हुन्छ । कुनै पनि बालबालिका तथा महिलाले कुनै पनि प्रकारको हिंसाको चपेटामा पर्नु नपरोस, हिंसा र अपराध गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ति नपावस् र पीडितले यथासक्य छिटो न्यायको अनुभूति गर्न पावस् भन्ने प्रत्येक नागरिकको अपेक्षा रहेको हुन्छ ।
नागरिकहरु प्रचलित ऐन, कानूनको परिपालना गर्न तयार छन् । कानूनको अधिनमा रही आ—आफ्नो पेशा, व्यवसाय, रोजगार गर्न र आफ्नो जीवनलाई खुशी र सुखी बनाउन नागरिकहरु प्रयासरत रहेका हुन्छन् । प्रत्येक नागरिकले आफ्नो वैवाहिक, पारिवारिक र सामाजिक सम्वन्ध राम्रो होस् भन्ने नै चाहन्छ । प्रत्येक नागरिकको मानव अधिकार, नागरिक अधिकार, मौलिक अधिकार, कानूनी अधिकारको सम्मान होस्, नागरिक—नागरिकका वीचमा कुनै पनि प्रकारको विभेद नहोस्, अन्यायमा परेका सवैले सहज र सरल ढंगबाट न्यायको अनुभूति पाउन्, पिडकले सजाय पाउन् अनि सभ्य, शान्त र सुरक्षित घर, परिवार र समाजको निर्माण होस् भन्ने चाहना आम नागरिकमा रहेको छ ।
जस्को जुन कुरा हो उसैले सो कुरा पाउनु न्याय हो, अन्याय गर्नेलाई कानून बमोजिम सजाय गरी पीडितले न्यायको अनुभूति गर्नु न्याय हो, प्रचलित संविधान र कानून बमोजिमका नागरिक अधिकारको स्वतन्त्र रुपमा उपभोग गर्न पाउनु न्याय हो, प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउनु न्याय हो, राज्य तथा राज्यका निकायहरु बाट प्रदान गरिने सेवा, सुविधा र अवसर समान रुपमा वितरण गरिनु न्याय हो । नागरिकमूखी र न्यायमूखी संविधान र कानून निर्माण भएका छन्, जनमूखी संघीय शासन प्रणाली आएको छ तर पनि नागरिकले न्यायको अनुभूति गर्न पाएका छैनन् किन ? न्यायको अनुभूति कस्ले कहाँबाट पाउने हो ? यही विषयमा सुक्ष्म अध्ययन अनुसन्धान गरी समाधान तर्फ सम्वेदनशील नहुँने हो भने पूनः न्याय, अधिकार र समानताका लागि पारिवारिक एवं सामाजिक विद्रोह नहोला भन्न सकिदैन । यसतर्फ सरोकारवाला सवैको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ ।
पारिवारिक र सामाजिक न्याय ः
सैद्धान्तिक रुपमा व्यवस्थापिकाले कानून निर्माण गर्ने, कार्यपालिका (सरकार) ले कानूनको कार्यान्वयन गर्ने गराउने र न्यायपालिकाले न्याय सम्पादन गर्ने जिम्मेवारी रहेको हुन्छ । तत्तत् निकायबाट न्यायको अपेक्षा गर्नु स्वभाविक नै
हो । त्यसमा पनि न्याय सम्पादन गर्ने स्वतन्त्र निकाय न्यायपालिकाबाट नै नागरिकहरुले न्यायको बढी आशा गरका हुन्छन् । न्यायको अन्तिम विकल्प न्यायपालिका अर्थात अदालत नै हो । तर न्यायपालिकाले प्रचलित संविधान, कानून र संकलित प्रमाणको आधारमा न्याय सम्पादन गर्नुपर्ने कार्यविधि भएका कारण कहिले काही न्याय नपर्न पनि सक्दछ, न्याय सम्पादन ढिलो पनि हुनसक्छ भने कहिले काँही न्यायिक विचलनका कारण पनि न्याय मर्न सक्दछ । न्यायपालिकाबाट न्याय सम्पादन गर्ने प्रकृया खर्चिलो र लामो रहेको छ । अन्यायमा परेका पीडितलाई तत्काल न्याय चाहिन्छ तर विभिन्न कानूनी तथा र्कार्यविधिगत प्रकृयाका कारण न्यायपालिकाबाट तत्काल न्याय सम्पादन सम्भव हुँदैन । अदालती न्यायको पर्खाईमा वस्नुभन्दा हामी आफैले आफ्नै घर, परिवार र समाज बाट नै न्याय दिलाउने कार्य गर्न सक्यौं भने त्यस्तो न्याय सरल, सहज, कम खर्चिलो र चिरस्थायी हुन सक्छ ।
अड्डा अदालत बाट हुने गरेका फैसला मात्रै न्याय होईन । न्याय आत्म सम्मान हो, न्याय विश्वास हो, न्याय अधिकार र अनुभूति हो । तसर्थ न्यायलाई वृहत्तर रुपमा परिभाषित गर्न र बुझ्न आवश्यक छ । न्यायको प्रारम्भ प्रत्येक घर—घर बाट नै शुरुवात हुन्छ । कानूनी उमेर पूरा भएपछि मात्रै विवाह गर्ने र विवाह गर्नुपूर्व दुवै पक्षले एकअर्कालाई राम्ररी सम्झेर, बुझेर मात्रै विवाहको निर्णय गर्दा सात जन्म सम्वन्धको लागि गरिएको वैवाहिक जीवन सुखमय हुन सक्छ । विवाह पश्चात पनि एक अर्कालाई सम्मान र कदर गर्ने, कुनै पनि वहानामा एक अर्कालाई हिंसाजन्य कार्य नगर्ने, हरेक घरायसी विषयमा सरसल्लाह गर्ने, आपसी सहमतिकै आधारमा घरायसी र व्यवसायिक कार्य गर्ने, एक अर्काको सुख दुःखमा साथदिने, एक अर्कालाई विश्वास गर्ने गरियो भने उक्त परिवारका सदस्यहरुले घरपरिवार बाट नै न्यायको अनुभूति गर्न पाउछन् ।
त्यसै गरी छोरा—छोरी, सासु—वुहारी वीचको विभेद र दूरी हटाईयो र परिवारका सवै सदस्यहरुलाई समान रुपमा सम्मान, माया र स्नेह गर्न सकियो भने पनि विवादमा कमी आउँछ । अधिकांश विवादहरु सम्पति र सम्वन्धकै कारणले हुने गरेका छन् । सम्पति नपाएको, अंश नपाएको, खान लाउन नपाएको, मान सम्मान नपाएको, हिंसा हुने गरेको भनी परिवारकै सदस्यहरु अड्डा अदालत धाईरहेको देखिन्छ । अड्डा अदालतमा जादैमा तत्कालै न्याय पाउन प्राविधिक कारणले सम्भव छैन भन्ने कुरा थाह हुँदा हुदै पनि नागरिकहरु सोही बाटोलाई प्राथमिकता क्रममा राख्ने गरेको देखिन्छ । जवकी अदालती न्यायलाई अन्तिम विकल्पको रुपमा अनुसरण गर्नु पर्ने हुन्छ । पारिवारिक न्याय हाम्रै हातमा छ, हामीले नै घरपरिवारका सदस्यलाई प्रत्यक्ष न्याय दिन र दिलाउन सक्छौं तर हामी जानेर वा नजानेर न्यायका लागि पनि परनिर्भर बनी रहेका छौं ।
कहिले काही पारिवारिक विवादका विषय परिवारकै सदस्यबाट समाधान गर्न सम्भव हुदैनन् । त्यस्तो अवस्थामा समाजको अग्रणी भूमिका रहेको हुन्छ । परिवारमा शान्ति भयो भने समाजमा शान्ति हुन्छ भने घर र समाजमा शान्ति भयो भने देशमा शान्ति सुव्यवस्था कायम हुन जान्छ । हाम्रो समाजले अझै पनि निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । हामी राजनीतिक विचारधारा र वर्गमा विभाजित भएका कारण परिवार—परिवार र समाजमा हुने गरेका विवादहरुको समयमा उचित व्यवस्थापन गर्न नसकेकै कारण हरेक विवादहरु अड्डा अदालतमा नै पुर्याउने गरेको देखिन्छ । परिवारका सदस्य र समाजका सदस्यहरु मध्ये को सही को गलत ? भन्ने कुरा समाजलाई भलीभाती थाहजानकारी हुन्छ । सर्जमिन गर्दा होस् या छलफल गर्दा नै किन नहोस् समाजले सही कुरा बोलेमा वा लेखेमा वास्तविक न्याय प्राप्त हुन सक्छ । तर हामी कहाँ कतिपय घटनामा समाजले नै परिवारका सदस्यलाई मेलमिलाप गराउन भन्दा बल्झाउने तर्फ सहयोग गरिहेको देखिन्छ । जस्का कारण आन्तरिक विवादले पनि विकराल रुप लिने गरेको देखिन्छ ।
यसरी परिवार र समाजले नै पारिवारिक एवं व्यक्तिगत विवादलाई समाधान गरी पारिवारिक एवं सामाजिक न्याय दिन सक्ने भएकोले सो तर्फ परिवारका सदस्य र समाज सम्वेदनशील हुन सकेका खण्डमा सकभर नागरिकहरु अन्यायमा नै पर्ने छैनन् र कथंकदाचित अन्यायमा परेकै खण्डमा पनि परिवार एवं समाज बाट नै तत्काल न्याय पाउनमा सहज हुन सक्छ । यस तर्फ सवैको ध्यानाकर्ष हुन आवश्यक छ । (लेखक शाह अधिवक्ता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया