२०७१ साल चैत्र महिनाको अन्तिम साता ब्याडमिन्टन खेलेर भर्खरै सुस्ताउँदै गर्दा मैले मेरा एक जना अनन्य मित्रले आत्महत्या गरेको खबर पाए । म दौडिएर घटनास्थल पुग्दा उनलाई मृत घोषणा गरिसकेको थियो । मैले निकै समय सम्म उत्त घटनाले पश्चताप समेत महशुस गरें । किनकी त्यही दिन मैले उनीसंग भेट्ने योजना बनाएको थिए ।
द्वन्दकालीन समयमा काम गर्दा मनोपरामर्शकर्ताको तालिम लिई द्वन्दप्रभावित बालबालिका र उनीहरुका परिवारहरुसंग मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरेको अनुभव भएका कारण मलाई सो सम्बन्धि कार्यअनुभव पनि थियो । र मैले आत्महत्या गर्न हिडेका मानिसलाई समेत फर्काएर पुनः पुरानो अवस्थामा फर्काएको अनुभव थियों । त्यो दिन सायद म ब्याडमिन्टन खेल्न नगएको भए वा घटना अगाडी ती मित्र संग भेट्न पाएको भए के मैले उहाँलाई बचाउन सक्थें होला त वा उनको त्यो ‘आत्महत्या’ गर्ने निर्णय पुर्नविचार गराउन सक्दथें होला त ? सायद !
सामान्यतः जानीजानी, कसैको दबावमा नपरी, पुर्णहोसमा, आफुखुशी आफ्नो जीवनको समाप्ती आफैले गर्नुलाई ‘आत्महत्या’ भनिन्छ । पछिल्ला दिनहरुमा आत्महत्याको समाचारहरुले नेपाली संचारमाध्यममा निकै स्थान पाएका छन् । आत्महत्यालाई कानुनले पनि वर्जित गरेको छ ।
सबै मानिसहरु आफ्नो सम्पुर्ण जीवन सुखसंग बिताउन चाहन्छन्् । मानविय इच्छा र आंकाक्षाहरु अनगिन्ती हुन्छन् जुनकुराको परिपुर्तिका लागि मानिस हरदम लागि रहन्छ । मानिस अन्तिम अवस्था सम्म पनि आफुलाई लागेको रोगसंग प्रतिरक्षा गर्न, औषधीं सेवन गर्दछ् । अनेकौं उपायहरु अपनाउँछ । किनकी उ सकेसम्म आफ्नो पिडा कम गराई बाच्न चाहन्छ । तर पनि मानिस आत्महत्या किन रोज्दैंंछ र आत्महत्या रोकथाम विश्वभरी नै एक चुनौतिका रुपमा आइरहेको छ ।
आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवश हो । इन्टरनेशनल फर सुसाइड प्रिभेन्सनले २००३ मा विश्व आत्महत्या दिवश मनाउन गरेको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सोही वर्ष अनुमोदन गरी सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइदैं आएको हो । र यस वर्ष “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने नाराका साथ नेपाल लगायत विश्वका धेरै देशहरुमा आत्महत्या रोकथाम गर्नका लागि विभिन्न गतिवीधि गर्दै मनाइदैं छ ।
प्रत्येक ४० सेकेण्डमा एउटा आत्महत्या विश्व स्वाथ्य संगठनको पछिल्लो तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष आत्महत्या ८ लाख मृत्युका लागि जिम्मेवार रहेको छ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् भने धेरै व्यक्तिहरुले आत्महत्या गर्न गम्भिर रुपमा सोचेका हुन्छन् । प्रत्येक आत्महत्याले १ सय ३५ व्यक्तिहरुलाई प्रभावित गरेको हुन्छ भन्ने विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसैले पनि यसलाई प्राथमिकताका साथ रोकथामका प्रयासमा सबै लाग्नुपर्ने देखिन्छ ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०६१÷०६२ देखि २०७१/०७२ सम्म गरि १० वर्षको तथ्यांक हेर्दा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको पाईएको छ । आत्महत्याको दर बढदै गएर आ.व. २०७३÷०७४ मा ५ हजार १ सय २४ र आ.व. २०७४÷०७५ मा ५ हजार ३ सय ४६ जना व्यक्तिहरुले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जस अनुसार १ दिनमा लगभग १२ देखि १४ जना मानिसहरुले आफ्नो जीवन आफैले समाप्त पारिरहेका छन् ।
विश्वकै तथ्याङ्क हेर्दा मृत्यु हुने प्रमुख कारण मध्ये आत्महत्या पन्ध्र्रौ प्रमुख कारणको रुपमा रहेको पाइएको छ । विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गरेको छ ।
मानिसले आत्महत्या किन गर्दछन् भन्ने ठ्याक्कै यही कारण भन्ने नभए पनि आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहेको बताइन्छ । त्यसैगरी रक्सीको लत लागिसकेपछि पारिवारिक कलह, आर्थिक र स्वास्थ्य संबन्धि केहि दिर्घरोगहरु, अनियन्त्रित आक्रोश (रिस), अत्यन्त महोत्वकांक्षी स्वभाव लगायतका कारणहरु पर्दछन् । मनोसामाजिक तथा अत्य आघातजन्य घटनाहरु, घरेलु हिंसा र यौन दुव्र्यवहार, लागुऔषध र मादकपदार्थको दुव्र्यसन, एक्लोपन, पढाइ एंव काम असफलता, प्रेममा धोका, सामाजिक रुपमा बदनाम हुनु, नकरात्मक तनाव व्यवस्थापना र सामाना गर्ने विधी लगायत पनि आत्महत्याका कारणहरुका रुपमा पर्दछन् । तर यस मध्येमा डिप्रेशन (एक प्रकारको मानसिक रोग) ले धेरै मानिसहरु आत्महत्या रोज्ने गरेको विज्ञहरुले बताउने गर्दछन्् ।
हाम्रो समाजमा आत्महत्या बारे धेरै गलत धारणा एंव विश्वासहरु रहेको पाइन्छ । अरुको ध्यानाकर्षण गर्न मानिसहरु आत्महत्याबारे कुुरा गर्दछन्, कमजोर आत्मवल भएका मानिसरुले आत्महत्या गर्दछन् भन्ने जस्ता सोंच अझै पनि हाम्रो समाजमा विद्यमान रहेकोे छ । आत्महत्या सधैं बंशाणुगत हुन्छ, बालबालिकाहरुले आत्महत्याको प्रयास गर्दैनन्, आत्महत्याको विचार आउने मान्छे साँच्चिकै मर्न चाहन्छ लगायतका धारणाले पनि आत्महत्याको रोकथाममा चुनौतिहरु थपेको पाइन्छ ।
आत्महत्या गर्ने विचार बारम्बार मनमा आउन लागेपछि त्यस्ता व्यक्तिले कुनै रुपमा आफ्नो विचारहरु जस्तैः निराशापन, ‘अब हाम्रो यो भेट अन्तिम हो’, ‘अब भेट नहुन पनि सक्छ’, ‘जीवन अन्धकार रहेछ’, ‘अब मेरो बाच्नको केही अर्थ रहेनछ’, ‘मेरो जिन्दगी बेकार छ’ भन्ने जस्ता विचारहरु व्यक्त गर्ने गर्दछन् । कुनै निराश मानिस वा उल्लेख गरिएका जस्ता अभिव्यक्ति देखाउने मानिसहरुले विष, हातहतियार वा डोरीको व्यवस्था गर्दा, किनेर ल्याउँदा वा खोजी कार्य गर्दा सजग हुनुपर्दछ । त्यस्तै, यस्ता व्यक्तिले आफ्ना महत्वपुर्ण सामाग्रीहरु अप्रत्याशित रुपमा अरुलाई दिन वा बाड्न थाले भने पनि शंका गर्नुपर्दछ । केही आमाले साना बच्चालाई मारेर आफुुले आत्महत्या गर्ने गरेको समाचारहरु पनि देख्न र सुन्न पाइन्छ । यस्तो प्रायः डिप्रेशनका कारणले हुन सक्छ । त्यसैगरी ठुलो आर्थिक संकटमा परेका, पारिवारीक विखण्डनमा परेका, डिर्भोस वा ठुलै झगडा परेका मानिसहरुले फरक व्यवहारहरु देखाउनुका साथै केही काम गर्न नखोज्ने, अरुसंग घुलमिल नहुने, आनन्दको महशुस नगर्ने भएमा समेत शंका गर्नुपर्ने हुन्छ । प्रयास ग¥यो भने निश्चय नै घटाउन सकिन्छ ।
यस्ता लक्षणहरु देखेपछि परिवार, आफन्त वा नजिकको साथीले तुरुन्त उनीसंग कुरा गर्नुपर्दछ । खुलेर कुरा नगर्नेहरुको हकमा समेत मनोपरामर्शकर्ता, मनोविद् एंव मनाोचिकित्सककोमा समयमा नै परामर्शसेवा दिन सकेमा आत्महत्या रोकथाम गर्न सकिन्छ । मानिसले आत्महत्याको साेंच राखि मर्ने चाहना सिधै वा घुमाउरो किसिमले व्यक्त गर्छन । तर यो कुरालाई परिवार वा नजिकको साथीहरुले यो कुरा लाई गम्भिरताका साथ लिनु पर्छ र के कस्तो सहयोग गर्ने भन्ने सोच्नु पर्दछ । यस विषय कुरा गर्नुपर्दछ, जनचेतना बढाउनुपर्ने हुन्छ ।
आत्महत्या रोकथामका केही आधारभुत चरणहरु रहेको हुन्छ जसमा सम्भावित लक्षणहरुको पहिचान गर्ने, आत्महत्या निरुत्साहन गर्न आ आफ्ना भुमिका निर्वाह गर्ने, मानसिक रुपमा स्वस्थ रहन स्वःहेरचाहको अभ्यास गर्ने, उपलब्ध सेवा बारे जानकारी र पहुँच र आत्महत्या बारे खुलेर कुरा गर्ने रहेको हुन्छ ।
पछिल्लो समयमा आत्महत्या रोकथामका निम्ती केही प्रयासहरु नभएका भने होइनन् तर त्यो पर्याप्त भने छैन् । अहिले नेपाल राज्य पुर्नसंरचना भई संघिय, प्रदेश र स्थानिय सरकार भएका छन् भने सोही अनुसार अधिकार पनि विनियोजन भएको छ । तर समस्या शासकको मानसिकतामा रहेका पाइन्छ । यदि व्यवस्था चलाउने यी शासकले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श, सहयोगको गंभिरता एंव महत्वलाई आत्मसात गर्ने हो भने आत्महत्याबाट ज्यान जोगाउन सकिन्छ । त्यो भन्दा पनि प्रधान विषय भनेको परिवार र समुदाय हो ।
शुरुमा मैले उल्लेख गरेका मेरा मित्रलाई जोगाउन नसक्नुको पश्चाताप मलाई जति छ पक्कै पनि त्यो भन्दा अनगिन्ती पिडा उनको परिवारलाई परेको छ । प्रत्येक एक आत्महत्याले १ सय ३५ व्यक्तिहरुलाई प्रभावित गरेको हुन्छ भने परिवार झन् अछुतो हुदैंन् । त्यसअर्थमा पनि परिवार, समुदाय, राज्य सबैले एक आपसमा, पारस्परिक रुपमा समन्वय र सहकार्य गरी काम गरे मात्रै आत्महत्याको दर घटाउन सकिन्छ । अन्यथा दिवस, दिवस कै रुपमा मनाउने मात्रै हुन्छ । परिणाममूखि बनाउन सबै इमान्दारीपुर्वक लाग्नु राम्रो हुन्छ ।