हो, अब परम्परागत कामलाई पनि सिर्जनशील र रचनात्मक हिसाबले अगाडि बढाउन सकियो भने नेपालगन्जको विकासको द्वार खुल्नेमा सम्भावना नै सम्भावना छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुनुका नाताले होस वा समग्र मध्यपश्चिमको गेट वे हुनुका नाताले नेपालगन्ज सम्भावनाको सहर हो । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा जसरी आक्रामक ढंगले काम बढेको देखिन्छ, यसलाई सुनौलो संकेत मान्न सकिन्छ ।
भेनिस फिल्म फेस्टिभल सन् १९३२ मा सुरुवात गर्दा तीन उद्देश्य तय गरिएका थिए । संसारका धनी र सम्भ्रान्तहरुलाई फेस्टिभलको बहानामा भेनिस सहर घुमाउनु, ईटालियन फिल्मलाई बिश्वव्यापी फैलाउनु र तेस्रो तत्कालीन शासक मुसोलिनीका फासिस्ट प्रोपोगान्डालाई फिल्ममार्फत दर्शकलाई देखाउनु । समयान्तरमा फेस्टिभल र शहर एक अर्काका पर्यायवाचीका रुपमा अघि बढेका छन् । जसरी भेनिश शहरले फिल्म फेस्टिभललाई, फेस्टिभलले भेनिसलाई संसारमा चिनाए । फेस्टिभलका बहानामा एक लाख बढी पर्यटक भेनिस पुग्छन् ।
त्यसैगरी संसारको सबैभन्दा पुरानो बोस्टन म्याराथनले सन् १८९७ मा सुरु गर्दा १५ जनाले मात्र भाग लिएका थिए । तर आज बर्षेनी झण्डै तीस हजारको संख्यामा हुने सहभागिता बोस्टन म्याराथनको चुलिएको लोकप्रियता हो । बोस्टन म्याराथनका बहानामा संसारका दुई लाख मानिस बोस्टन पुग्ने गरेको आँकडा छ । बोस्टन म्याराथनले बोस्टन शहरलाई तथा बोस्टन शहरले बोस्टन म्याराथनलाई भरपुर प्रवद्र्धन गरिरहेका छन् ।
एक दशक लामो सशस्त्र द्धन्द्धको समाचारले मिडियालाई भाइब्रेट गरिरहँदा एकताका नेपालगन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकेन्द्रित गरेको थियो । दुई पक्षीय भिडन्त, बिस्फोट, मृत्य र घाइतेका समाचारले मुलधारका पत्रिका बिकाउ थिए । मध्यपश्चिमकै रुकुम रोल्पाबाट सुरु भएको माओवादी ‘जनयुद्ध’का कारण नेपालगन्ज चर्चाको केन्द्रमा यसकारण थियो, क्षेत्रीय सदरमुकाम हुनु मात्र नभई प्रशासनिक कार्यदेखि खाद्य, लत्ताकपडा र औषधीउपचारका सम्पुर्ण काम नेपालगन्जबाटै सम्भव थियो त्यतिबेला । आवत जावतको सुविधाका हिसाबले पनि सिमावर्ती शहर नेपालगन्ज उपर्युक्त मानिन्थ्यो । द्वन्द्वरत पक्षलाई मोटो रकम बुझाएरै पनि नीजि विद्यालयहरुले आफ्नो अस्तित्व जोगाउन सफल भए । उद्योगी व्यापारीले त्यही बाटो अवलम्बन गरे । द्वन्द्व व्यवस्थापनसँगै नेपालगन्ज कतैकतै अल्मलियो ।
द्वन्द्वको चरमोत्कर्षका बेला सुरु भएको महिला क्रिकेट जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा एकाएक चमत्कार गर्यो, थाहै नदिइ सुस्तायो । कुनै बेलाको नामी सहर द्वन्द्वकालपश्चात समृद्धिको मार्गमा जानुको साटो झन् चिर निद्रामा सुत्न पुग्यो । एक दशक द्वन्द्वको बहाना झिक्नेहरु कता कता पलायन हुन पुगे । उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर, भक्तपुर तथा पोखरा र पाल्पापछिको छैटौं सहरका रुपमा स्थापित नेपालगन्जले बाटो बिराएको हो कि? अपेक्षित प्रगतिको पथमा हिंड्न नसकेको चाहि सत्य हो ।
भौतिक पुर्वाधार विकाससँगै सांस्कृतिक विविधता, शिक्षा, खेलकुद, पर्यटन, साहित्य समृद्धि आधुनिक शहरको सुन्दर पक्ष हो । नेपालगन्जको विगत जति समृद्ध छ, बीचको पुस्ताले गति दिन नसक्दा अन्य शहरको चर्चा नेपालगन्जभन्दा अगाडि देखिन्छ । यो तीतो यथार्थ स्वीकार गर्नैपर्छ । किनकी सन् १९८४ मा ओलम्पिकका सहभागि कीर्तिमानी एशियाली पदक विजेता सुरेन्द्र हमाललाई यही शहरले जन्माएको हो । सन् १९८८ को ओलम्पिक खेल्ने पार्वती थापा हुन् वा १९९२को ओलम्पिक खेल्ने अनिता श्रेष्ठलाई पनि यही शहरले जन्मायो । त्यतिमात्र नभइ दक्षिण एशियाली खेलकुदमा दर्जन बढी पदक जित्ने समसुद्धिन सिद्धिकी यही शहरले जन्मायो ।
साहित्यका क्षेत्रमा सनत रेग्मी, नयनराज पाण्डे, कला गीत संगीतमा सुष्मा शाही, महेन्द्र हमाल लल्ला, प्रेमप्रकाश मल्ल, बिरेन्द्र हमाललाई यही शहरले परिचय दियो । तर, के के कुराको अपुग महसुस सदैव भइरह्यो । किनकी, हामीले उत्पादनमा कदापी जोड दिएनौं । हाम्रा उत्पादनको बजारीकरण गर्न चुक्यौं । सुरेन्द्र हमालको शहरमा खेल गतिविधि नहुनु, पार्वती र अनिताको सहरमा महिला खेलगतिविधिले गति नलिनु । समसुद्धिनको शहरमा फरक समुदायको खेलाडी नजन्मिनु । सनत र नयनको सहरमा साहित्य संगम शुन्य । सुष्मा र बिरेन्द्रको सहरमा रंगकर्म नहुनु । अनि प्रेमप्रकाश र महेन्द्र हमालको सहरमा सांगितिक उत्सवको ब्रान्डिङ नहुनु ।
अझ खेलकुद प्रसंगमा त यो रतन टण्डनको शहर हो । मिनी ओलम्पिकका रुपमा चिनिने बहृत राष्ट्रिय खेलकुदको चौथो संस्करण सफल आयोजनाबाट पश्चिम नेपालको पुरानो सहर नेपालगन्ज खेलमैत्री सहरका रुपमा चिनिन सफल भएको थियो । बृहत खेलकुदको आयोजना शहरको प्रतिष्ठासँग जोडिएको हुन्छ । त्यहाँको भौतिक पूर्वाधारदेखि व्यापार र पर्यटन प्रवद्र्धनमा यस्ता प्रतियोगिताले ठुलो महत्व राख्दछ । ओलम्पिकदेखि बिश्वकप आयोजनामा बिश्वका शक्तिशाली राष्ट्रहरुको इच्छा जुधिरहेको खबर आइरहेकै हुन्छ । यसअघि निवर्तमान अमेरिकन राष्ट्रपति बाराक ओबामाले ओलम्पिकदेखि बिश्वकप फुटबल आयोजनामा गम्भीर लबिङ गरेको समाचार हटकेक बनेको थियो । तर, अमेरिकाले आयोजनाको अवसर पाउन सकेन । किनकी खेलकुद निकाय आफैंमा यति शक्तिशाली छन् कि उनका अगाडि अमेरिका जस्तो राष्ट्रको पनि जोड चल्दैन । यसले पनि खेलकुदको शक्ति झल्काउँछ । खेलकुद, साहित्य, संस्कृति र पत्रकारिता भनेको कुनै पनि शहर, समाज र समग्रमा देशका शक्ति हुन् ।
तसर्थ पछिल्लो पाँच बर्षयता नेपालगन्जले फेस्टिभलको शहरका रुपमा परिचय बनाउँदै अघि बढेको छ । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप फ’टबल, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल र नेपालगन्ज लिटरेचर फेस्टिभलले निरन्तरताको आधार तयार गर्दै शहरलाई उत्सवमय बनाउन जमर्को गरिरहेका छन् । यद्यपी यस्ता खेलकुद, सिनेमा र साहित्यका विधालाई संस्थागत गर्न स्थानीय तहले अपनत्व ग्रहण गर्नैपर्छ र सिंगो शहरवासीले अपनत्वको महसुस गर्नैपर्छ । जसरी भर्खरै सम्पन्न स्वीजरल्याण्डको लोकार्नो फिल्म फेस्टिभल त्यहाँको शहरले आफ्नै फेस्टिभलको रुपमा अघि बढाएको सञ्चारमाध्यममा खबर थिए ।
चुनौति र अवसर
समृद्ध सहर सबैको रहर हुन्छ । सहरलाई समृद्धिको बाटोमा लैजानका लागि विविध आयामको विकास अत्यावश्यक छ । सकारात्मक परिवर्तनले नै विकासको प्रतिविम्व गर्दछ । त्यसैले नेपालगन्जका निम्ति अब विविध पक्षको विकास आवश्यक भइसकेको छ । एक विद्वानले भनेका छन् कुनै पनि उस्तै काम नयाँ ढंगले गर्दा अपेक्षित प्रतिफल आउँछ ।
हो, अब परम्परागत कामलाई पनि सिर्जनशील र रचनात्मक हिसाबले अगाडि बढाउन सकियो भने नेपालगन्जको विकासको द्वार खुल्नेमा सम्भावना नै सम्भावना छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुनुका नाताले होस वा समग्र मध्यपश्चिमको गेट वे हुनुका नाताले नेपालगन्ज सम्भावनाको सहर हो । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा जसरी आक्रामक ढंगले काम बढेको देखिन्छ, यसलाई सुनौलो संकेत मान्न सकिन्छ । मानसरोवर, स्वर्गद्वारी, देउतीबज्यै, बागेश्वरी जस्ता धार्मिक पर्यटनका लागि प्रवेशद्वार हो नेपालगन्ज । प्रकृतिको अप्सरा भनेर चिनिएको मुगुको रारा ताल, डोल्पाको शेफोक्सुन्डो ताल, सुदुरपश्चिमको खप्तड जस्ता प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलले हरेक कोहीलाई लोभ्याएको छ । यसका निम्ति मुख्य नाकाका रुपमा नेपालगन्जले स्थान बनाइसकेको छ । हवाइमार्ग वा सडक मार्ग दुवै अब्बल भइसकेका छन् ।
विविध जातजाति, धर्मावलम्वी, भेषभुषा र भाषा नै नेपालगन्जको सुन्दर पक्ष हो । फरक समुदायका मानिसहरुबीचको एकतालाई रचनात्मक कार्यमा उपयोग गर्न सकियो भने नेपालगन्जले अनपेक्षित प्रगति र उपलब्धि हासिल गर्नेमा कुनै शंका छैन । यसका लागि यहाँको नागरिक अगुवा, र संघसंस्था जुर्मुराउनु अत्यावश्यक छ । जब रचनात्मक गतिविधि बढ्छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु निरन्तर भइरहन्छन्, अनिमात्र सहरप्रतिको आकर्षण बढ्ने हो ।
खेल र सिनेमामार्फत पर्यटनको व्यापक प्रवद्र्धन भएको एउटा मात्र उदाहरण हेर्ने हो भने इटलीको भेनिस शहर र अमेरिकाको बोस्टन शहरलाई लिन सक्छौं । संसारकै प्रतिष्ठित फिल्म फेस्टिभलमा सुचिकृत भेनिस फिल्म फेस्टिभलले ७४औं संस्करण पुरा गरेको छ । र, यतिबेला यही फिल्म फेस्टिभलका बहानामा संसारका बिभिन्न देशबाट झण्डै एक लाख बढी मानिसहरु भेनिस शहर पुग्छन् । भेनिस शहरले फेस्टिभल र फेस्टिभलले भेनिस शहरलाई भरमग्दुर प्रवद्र्धन त गरेकै छन् । त्यहाँको व्यापार र पर्यटनले पनि अनपेक्षित लाभ उठाइरहेको छ ।
अमेरिकाको बोस्टन शहर भन्दा बोस्टन म्याराथनको चर्चा बढी हुन्छ । यसको एउटै कारण म्याराथन नै हो । पहिलो बर्ष १५ जना मात्र दौडिएको बोस्टन म्याराथनले १२०औं संस्करण पुरा गरिरहँदा यसको सहभागिता संख्या करिब ३० हजार बढी छ । बोस्टन म्याराथनकै बहानामा करिब पाँच लाख मानिसले बोस्टन सहर नियाल्छन् । यसैबाट पनि हामी अनुमान गर्न सक्छौं, कुनै पनि सहरको नामबाट गरिएका इभेन्ट्सले सहरलाई कति प्रवद्र्धन गर्छ भन्ने कुरा ।
हो, नेपालगन्ज ब्राण्डलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको माथिका यी इभेन्टले पक्कै पनि नेपालगन्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा चिनाउनेछ, सहरप्रतिको आकर्षण बढाउनेछ, नेपालगन्ज घुम्न प्रेरित गर्नेछ । यसबाट प्रत्यक्ष लाभ यहाँको व्यापारी, होटल, यातायात व्यवसायीले नै उठाउने हो । यस्ता गतिविधिले नै यहाँको सभ्यता, संस्कृति तथा समाजको यथार्थलाई उजागर गर्ने हो ।
यस्तै इभेन्टले नै समाजलाई भावनात्मक एकतामा गाँस्ने हो । र, समाजलाई शान्ति, सद्भाव र समृद्धिको बाटोमा लैजाने हो । सामाजिक एकता र शान्ति हुँदासाथ यहाँ व्यापार फस्टाउने हो । यहाँको शैक्षिक संघसंस्था, स्वास्थ्य संस्था, उद्योगहरु निर्वाध रुपमा चलाउने वातावरण बन्ने हो ।
तसर्थ आयोजकले देखेको सपना संसारकै भेनिस सहर र बोस्टन शहरको लोभलाग्दो पक्षसँग नेपालगन्जलाई जोड्ने नै हो । त्यसका लागि आयोजकको परिकल्पनासँग यहाँको उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र होटल व्यवसायीहरु, सामाजिक संघसंस्था, अन्य व्यापारिक संघसंस्था, शैक्षिक संघसंस्थाले सहकार्य र साझेदारी गर्नुपर्ने हो । जुन प्रभावकारी ढंगले हुनसकिरहेको छैन, यो नै एउटा चुनौति हो । तर सोंचको दायरा फराकिलो भएको साथीहरुको सहकार्यले क्रियटिभ ह्याण्ड्सको परिकल्पना साकार हुनेमा शंका गर्ने ठाउँ चाहि छैन । नेपालगन्ज म्याराथन, नेपालगन्ज साहित्य उत्सव, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभलमार्फत यहाँको खेलकुद, साहित्य, सिनेमा र संस्कृतिको प्रवद्र्धनको पाटोमा कहीं कतै हिस्सेदार हुन पाउँदा क्रियटिभ साथीहरु सबैको लक्ष्य र उद्देश्य पुरा हुनेछ ।
अन्त्यमा
नेपालको राजधानी काठमाडौंपछि नेपालगन्ज नै यस्तो सहर हो जहाँ सबैखाले मानिसको बसोबास रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तर हिमालदेखि तराईको समथर फाँटसम्म जाने हो भने नेपालगन्ज सबै वर्ग, जात, धर्म, भेगको साझा सहर हो । सिंगो भेरी, राप्ती र कर्णाली, समग्र सुदुरपश्चिमेलीहरु र पश्चिमाञ्चल क्षेत्रका पोखरा बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा, अर्घाखाँचीसम्मका मानिसहरुले प्रत्यक्ष परोक्ष लाभ उठाइरहेको सहर हो नेपालगन्ज । यसरी तीन विकास क्षेत्रका मानिसहरु भेटिने सहर बिरलै होला नेपालमा । तसर्थ हामी भनिरहेका छौं, यो पश्चिम नेपालको साझा सहर हो ।