सस्तो पनि नेपालगन्ज, गुणस्तर पनि

‘रुपैडिहा सस्तो भन्ने भ्रम मात्रै’

हामी अब योजना बनाउँछौँ नेपालगन्जमै कम्तीमा महिनाको दुई पटक केही सस्तो, केही छुटमा हाट बजारजस्तो लगाउने जहाँ नुन तेलदेखि हरेक खाद्यान्न र अरु अत्यावश्यक सरसामानहरु एकै ठाउँमा पाइयोस् । केही प्रतिशत छुट दिएर हामीले हाम्रा स्टक सामानहरु बेच्न सक्छौँ त्यहाँ ।

अब्दुल वाइद मन्सुरी :
अध्यक्ष, खाद्य तथा किराना ब्यवसायी संघ

हाम्रो आफ्नो कुरा त छँदैछ । हामीले हाम्रो बजार, हाम्रो व्यवहार सुधार्नैपर्छ, यसमा दुईमत छैन । तर, हाम्रो सरकार के गरिरहेको छ ? हाम्रो प्रशासन के गरिरहेको छ, त्यसमा पनि अझ भन्सार प्रशासन । हामीले पटकपटक कुरा उठाएका छौँ कि, भन्सारमा कडाई हुनुपर्छ । हामीले उपभोक्तालाई उता नजाउ भनेर रोक्न सक्दैनौँ तर, नियमअनुसारको भन्सार कर त लगाउन सक्छौँ नि । हामीले करमा कडाई गरौँ भनेर पटकपठक भन्दै आएका हौँ । भन्सारसँग हामी लडिरहेका छौँ । भनिरहेका छौँ । एक हजारभन्दा धेरै मूल्यको सामान खरिद गरेर ल्याउँदा त्यसमा ४० प्रतिशत भन्सार लगाउनुपर्छ । यसमा कडाई गरौँ भनेर हामीले भनेका छौँ, भनिरहेका छौँ तर, त्यसको कार्यान्वयन नै हुँदैन भएको पनि छैन । यसले गर्दा पनि व्यापार हुन सकिरहेको छैन ।

 
सिमापारि व्यापार बढेको छ भनेर हामीले दुःख मान्नु भन्दा पनि हाम्रो व्यापार कसरी बढ्छ भन्ने चिन्ता हो । हाम्रो बजार पनि त्यत्ति महंगो छैन । इन्डियन बजारको तुलनामा हाम्रो बजार पनि सस्तै बजार हो । बहुराष्ट्रिय हरेक कम्पनीका होलसेल पसलहरु हाम्रै नेपालगन्जमा छन् । यहीँबाट होलसेल हुन्छ भनेर बजार भाउ पनि त्यत्ति महंगो हुँदैन । फेरि बहुराष्ट्रिय कम्पनीका सामानहरुको मूल्य त्यत्ति महंगो पनि हुँदैन ।

 


४० प्रतिशत सामानमात्रै भारतीय बजार(रुपैडिहा)मा केही सस्तो हुन्छ होला, बाँकी ६० प्रतिशत सामान हाम्रै बजारमा सस्तो हुन्छ । तर, ४० प्रतिशत सामान सस्तोमा पाइन्छ भनेर मानिसहरु सबै सामान उतैबाट खरिद गरेर ल्याइरहेका हुन्छन् ।


चना, मसुरो, केराउ, अडहरलगायतका दालहरु नेपालबाटै जान्छन् तर, फेरि नेपाली उपभोक्ताहरुले नेपाली दाल इन्डियन बजारबाट किनेर ल्याउनुहुन्छ । तर, दाल, चामल उताभन्दा यता सस्तो छ । किनकि त्यो हाम्रै हो । हाम्रो बजारमा यी दालका सामग्रीहरु क्यानडा, बंगलादेशजस्ता देशहरुबाट पनि आउँछन् तर, हाम्रोतिरबाट पनि भारतमा निर्यात भइरहेको हुन्छ । यसको पछाडि कुरो के छ भने हामीले हाम्रा उपभोक्ताहरुलाई हाम्रो बजार पनि सस्तो छ, राम्रो छ अनि गुणस्तरमा पनि कम छैन भनेर जानकारी वा सूचना दिन सकेका छैनौँ । हाम्रो मुख्य कमजोरी भनेको सायद यही हो जस्तो लाग्छ । यसलाई हामीले सुधार्नुपर्छ । नत्र हामीले उता जाने ग्राहकलाई, इन्डियन बजार वा व्यापारीलाई मात्रै दोष दिन त मिल्दैन नि । कि हामी पहिला राम्रो हुनुप¥यो । हामीले उपभोक्ताहरुलाई विश्वास जित्नुप¥यो । यी सबसँगै राज्यका नीति, नियमहरु पनि कडा रुपमा कार्यान्वयन हुनुपर्छ ।

 

 


फणाधर भन्डारी
उपाध्यक्ष, खाद्य तथा किराना ब्यवसायी संघ

उपभोक्ताहरुलाई सामान यताबाट किन र, उताबाट किन भनेर हामीले भन्न मिल्दैन । त्यो कसैले पनि मिल्दैन होला । किनकि उपभोक्तालाई जहाँ जुन सामान मन पर्छ त्यो किन्न पाउनुपर्छ । आफ्नो इच्छाअनुसार उसले कुन बजारबाट, वा कुन पसलबाट सामान खरिद गर्छ त्यो उसको कुरा हो । हामीले उपभोक्ताको अधिकार खोस्ने कुरा हुँदैन । उपभोक्ताको अधिकार हो जहाँ सामान किने पनि जाति रुपैयाँ खर्चिए पनि ।
हामी बोर्डरमा बसेका छौँ, हाम्रा बजार, उपभोक्ता सबै बोर्डरमै छन् । भारतको पनि त्यस्तै हो । बोर्डरको बजार भएका कारण यहाँ हामीले उपभोक्तालाई जर्वजस्ती रोक्न मिल्दैन । तिमीहरु उता नजाउ भन्न मिल्दैन । हामीले कसरी हाम्रा नेपाली ग्राहक, उपभोक्ताहरुलाई यतै(नेपालगन्ज)मै रोक्न सक्छौँ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालगन्जकै कुरा गर्ने हो भने पनि, नेपालगन्ज बजारका ८० प्रतिशतको भान्सामा इन्डियन आइटमहरु नै पाकिरहेको हुन्छ । यसको दोषी को हो त? के हाम्रो बजारमा सामानहरु नपाइने हो ?
तर, सवाल हामी व्यापारीको हो । हाम्रो नेपालगन्ज बजार किन सुनसान छ ? किन नेपाली उपभोक्ता नै नेपालगन्जको बजारमा किनमेल गर्दैनन् ? अनि किन रुपैपडिहा बजार सधैँ नेपाली ग्राहकले नै भरिपूर्ण हुन्छ त ? किन यताको बजार सुनसान हुने अनि उताको बजार सधै चम्किरहने ? यहाँ कुरा आउँछ, दोष हाम्रो पनि छ । कमजोरी हामी व्यापारीहरुको पनि छ । हामी पनि कसरी उपभोक्ताहरु, ग्राहकहरुलाई आकर्षित गर्ने भन्ने योजनामा काम गर्दैनौँ । पसल थाप्दैमा वा सटर खोल्दैमा व्यापार चल्ने होइन । ब्यापारका लागि हामी व्यापारीहरुको व्यवहारमा पनि भर पर्छ, हामीले दिने सेवामा भर पर्छ । त्यसैले उपभोक्ताहरुलाई दोष दिनुभन्दा हामी नै पहिला उपभोक्तालाई कसरी सेवा दिइरहेका छौँ ? भन्ने कुरालाई ख्याल राख्नुपर्छ जस्तो लाग्छ ।

 


नेपालगन्ज बजारका ८० प्रतिशतको भान्सामा इन्डियन आइटमहरु नै पाकिरहेको हुन्छ । यसको दोषी को हो त? के हाम्रो बजारमा सामानहरु नपाइने हो ?


श्यामसुन्दर अधिकारी
महासचिब, खाद्य तथा किराना ब्यवसायी संघ

रुपैडिहामा सस्तो पाइन्छ भन्ने त भ्रम मात्रै हो । त्यही भ्रमले सबैजना रुपैडिहातिर लाइन लागेर दौडिरहेका हुन्छन् । उता हुलका हुल मान्छे जाँदा उता सुनसान त हुने नै भयो । नियम कसले बनाउने ? अनि कसले मान्ने ? न नियम छ, न नियम लगाउने निकाय नै बलियो छ । हामी व्यापारीहरुलाई जहाँ पनि च्यापिनेमात्रै छ । सरकारले, करले, भन्सारले हुँदा हुँदा ग्राहक जति उतै जान्छन् । यस्तोमा हामीले पनि केही त गर्नैपर्छ । कमजोरी हाम्रो पनि होला । हामीले पनि उपभोक्ताहरु ग्राहकहरुलाई उनीहरुको चाहनालाई पूरा गर्न नसकेको हौंला तर, पनि हामीले सुधार्दै लैजाने हो र, हाम्रो बजारलाई राम्रो बनाउने हो ।

 

इन्दिरा शाही
सदस्य, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघ

सबैभन्दा पहिलो कुरा गुणस्तरको आउँछ । एउटा सामान्य कुरा गरौँ मैले मेरो पसलमा एक प्याकेट बिस्कुट बेचेर नसक्दै चार पाकेट इन्डियन बिस्कुट बिक्रि भइसकेको हुन्छ । सबैले त्यस्तै खोज्छन् अनि उतैको भाउमा खोज्छन् । हामीले कर तिरर, भन्सार गरेर इन्डियाबाट सामान लिएर फेरि उतैको मूल्यमा त बेच्न सक्दैनौँ । अनि त्यही नेपाली सामान भने राम्रो हुँदैन भनेर बिक्रि नै हुन्न । यसले गर्दा पनि धेरै मानिसहरु उतै जान्छन् ।

 
भन्सारमा कडाई, उपभोक्तालाई जानकारी


अब्दुल वाइद मन्सुरी ः
हाम्रो भन्सार प्रशासन वा राज्य अनि कर्मचारी कस्ता छन् भने देश अनि जनताप्रति माया नै छैन जस्तो । इन्डियामा कहिलेकाहीँ कुनै ठूला सरसामानबाहेक एसएसबीले कहिलै कुनै सामानको केरकार गर्दैन । किनकि उसलाई देशको माया छ । उताको बजारमा जति धेरै सामान बिक्रि भयो उत्ति नै त्यही देशलाई फाइदा हुने हो । हाम्रो बजार अनि हाम्रा व्यापारीका सामान बिक्नु भनेको हाम्रै देशमा पैसा आउनु हो भनेर त्यत्ति खुकुलो भएको हो त्यहाँ । त्यहाँ ड्यूटीमा रहेको एसएसबीले त्यस्तो सोंच्छ । अनि हाम्रातिरका सुरक्षाकर्मी अनि कर्मचारीहरु कस्ता छन् भने नेपालको वाइवाइ चाउचाउ नेपाल आएका कुनै इन्डियनले एक दुई कार्टुन उपहारको लागि लैजान खोजेको हुन्छ तर, त्यो पक्राउ पर्छ । उसले तस्करी ग¥यो रे, के के के आरोप लगाइन्छ अनि कसरी हाम्रो सामानको विदेशमा प्रचार हुन्छ ? कसरी हाम्रो व्यापार फस्टाउँछ ? कसरी विदेशी पैसा आफ्नो देशमा ल्याउने भन्ने पो सोच्नुपर्छ । हामी त हाम्रो पैसासमेत अर्काे देशमा लगेर फालिरहेका छौँ । यसरी कसरी विकास हुन्छ ? अब हामीले विदेशी पैसा कसरी यहाँ ल्याउने भनेर सोच्नुपर्छ । अनि हामी पैसा त सकभर बाहिर जानै दिनुहुन्न । यसरी पो व्यापार व्यवसाय फस्टाउने हो अनि आर्थिक समृद्धि पनि हुन्छ । यसको मतलव जे पनि लैजान वा ल्याउन पाउनुपर्छ भनेको होइन कम्तीमा देशप्रतिको माया झल्किनुपर्छ भन्ने हो ।

 
उताबाट कत्रा कत्रा ट्रक, कन्टेनरहरु पास भइरहेका हुन्छन् ती भन्सारमा पक्राउ पर्दैनन् । काठमाडौको नागढुङ्गामा पक्राउ पर्छन् ? यति धेरै ठाउँमा चेकजाँच हुँदा पनि कसरी त्यहाँ पुग्छन् ती ठूला ठूला ट्रक अनि कन्टेनरहरु ? यसबारे कहिल्यै कसैको चासो हुँदैन । भन्सार प्रशासनले यसतर्फ ध्यान दिनुपर्छ । एउटा व्यापारीले मलमलिएर वा सामान्य झुक्किएर गरेको गल्तीमा हामीलाई ठूलो सजाय दिइन्छ, जरिवाना भराइन्छ । सामान अनि साधनहरु लिलाम गरिन्छ तर, कसरी त्यस्ता सामानहरु पास हुन्छन् ? भन्सारका सुरक्षाकर्मी, कर्मचारीहरुले के कसरी काम गरिरहेका छन् भनेर कहिल्यै चेकजाँच हुँदैन । हामीलाई सानो गल्तीमा ठूलो सजाय भोग्नुपर्ने ? त्यो पनि अन्जानमा भएको गल्ती हुन्छन् । सामान्य एउटा कपडाको एउटा पोका समाएर उसको सामान लिलाम गर्ने, उसको साइकल लिलाम गर्ने तर, त्यो पास हुन दिने भन्सारको सुरक्षाकर्मी अनि कर्मचारीहरुलाई केही पनि नहुने ? यो सँगसँगै हामीले हाम्रा ग्राहक अनि उपभोक्ताहरुलाई हाम्रो बजारको बारेमा प्रशस्त जानकारी दिनुपर्छ । हामीसँग यत्तिधेरै मिडियाहरु छन् हाम्रो बजारका सूचना वा जानकारीहरु कहिल्यै आउँदैनन् । अब हामीले उपभोक्तालाई सचेत बनाउनुपर्छ । हाम्रो बजार सुधार्नुपर्छ । हाम्रा प्रशासन सुध्रिनुपर्छ । व्यापारीहरुको व्यवहार सुध्रिनुपर्छ अनि हामीले उता जाने ग्राहक, उपभोक्ताहरुलाई जर्वजस्ती यता आउनुपर्छ भनेर गर्नैपर्दैन । अटोमेटिक हाम्रो बजारले उहाँहरुलाई तानिरहेको हुन्छ । हामीले क्वालिटी दिनसक्नुप¥यो । दिइरहेको भए पनि त्यसको जानकारी उपभोक्तासम्म त पुग्नुपर्छ नि । जुन उत्पादनको गुणस्तर हुँदैन, त्यो उद्योग त बन्द भएर गएका छन् । जस्तो कि बिस्कुटकै कुरा गरौँ नेपालमा कैयौँ विस्कुट कम्पनीहरु थिए अहिले धेरैजसो बन्द भइसकेका छन् । तिनले गुणस्तरमा प्रतिष्पर्धा गर्न सकेनन् र बन्द भए जो गुणस्तर छन् ती चलिरहेका छन् ।

 

 


फणाधर भन्डारी
उपाध्यक्ष, खाद्य तथा किराना ब्यवसायी संघ
सरसामानकै मूल्यको कुरा गर्ने हो भने हाम्रो नेपालगन्ज बजार पनि त्यत्ति धेरै महंगो होइन । हामीले पनि यहाँ सस्तैमा सामान दिइरहेका छौँ । मेरो बिचारमा ४० प्रतिशत सामानमात्रै भारतीय बजार(रुपैडिहा)मा केही सस्तो हुन्छ होला, बाँकी ६० प्रतिशत सामान हाम्रै बजारमा सस्तो हुन्छ । तर, ४० प्रतिशत सामान सस्तोमा पाइन्छ भनेर मानिसहरु सबै सामान उतैबाट खरिद गरेर ल्याइरहेका हुन्छन् । चिनी, चियापत्ति किन्दा अरु पनि भान्साका सामानहरु बोकेर ल्याउने चलन छ । चिनी उता केही रुपैयामात्रै सस्तो छ । तर, चियापत्ति उताभन्दा यता धेरै सस्तो छ र, हाम्रो नेपालको चियापत्ति उताको भन्दा क्वालिटीको पनि छ । अरु खाद्यान्न त हाम्रोभन्दा उता नै महंगो छ । दालहरु त सबैजसो नेपालबाटै भारतमा निर्यात हुन्छ । खास कुरो यो हो तर, केही सस्तो दरका सामानका भ्रमले नेपाली उपभोक्ताहरु लाम उतैतिर लाग्छ । यसमा कुरा के छ भने, हामीले उपभोक्ताको भ्रम चिर्न सकेनौँ । उपभोक्ताहरुलाई हामीले हाम्रो बजारको बारेमा सूचना दिन सकेनौँ वा दिएनौँ । अब उपभोक्ताहरुलाई सूचना दिनुपर्छ उनीहरुलाई जानकारी दिनुपर्छ अनि केही भएपनि रुपडिहामा नेपाली किनमेलमा केही नियन्त्रण आउनसक्छ । नत्र हामीमात्रै कराएर हुँदैन, हामीले मात्रै उता नजाउन, याता नजाउ भन्न मिल्दैन ।

 
त्यो मात्रै होइन, हामीले सूचना दिएर मात्रै पनि पुग्दैन । हो, हाम्रो बजार सस्तो त होला तर, हाम्रा सामानहरुमा गुणस्तर कत्तिको छ भन्ने कुराको ग्यारेन्टी पनि दिनुपर्छ । त्यसका लागि सरसामानको गुणस्तको कुरा पनि उपभोक्ताहरुलाई बुझाउन जरुरी छ । हामीकहाँ पाइने बहुराष्ट्रिय कम्पनीका सामानहरु इन्डियाभन्दा धेरै सस्तोमा पाइन्छ । कतिपय बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु त नेपाली बजारबाटै भारतमा लगेर बेच्छन् व्यापारीहरु । गुणस्तर पनि छ । नेपाल सरकारले गुणस्तर चिन्ह नदिँदासम्म नेपाली बजारमा उत्पादनहरु बेच्न पाइँदैन । त्यसैले नेपाली सामानमा गुणस्तर नभएको पनि होइन । हामीले उपभोक्तालाई सूचना दिन नसकेका हौँ, जानकारी दिन नसकेका हौँ ।

 

 


इन्दिरा शाही
सदस्य, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघ

अझ खासगरी हामीले देखिरहेका हुन्छौँ धेरै नेपाली महिलाहरु रुपैडिहाको बजारमा भीड लागिरहेका हुन्छन् । घरधन्दा गर्ने महिलाहरु नै हुन्छन्, दुई चार पैसा सस्तो भए पनि बचत हुन्छ भन्ने कुराले धेरै महिलाहरु त्यहाँको बजार जान्छन् । यसका लागि हामीले जानकारी दिन नसकेका पनि हौँ । हामीले घरघरमा मान्छेलाई भेटेर त्यस्तो गर्न नसकौँला तर, हाम्रो उद्योग वाणिज्य संघबाट हुने कार्यक्रमहरुमा पनि धेरै महिला दिदी बहिनीहरुको जमघट हुन्छ । त्यसमा पनि त हामीले यस्ता कुराहरु भन्न सक्छौँ । सामान उतामात्रै सस्तो छैन, यता हाम्रो बजारमा पनि सस्तो छ, उतामात्रै राम्रो हैन, यता हाम्रो बजारमा पनि राम्रो छ भनेर हामीले भन्न सक्छौँ नि कुरा राख्न सक्छौँ । एकैपटक नभएपनि दुई चार जना गरेर हामीले जानकारी फैलाउनुपर्छ । स्वास्थ्य स्वंसेविकाहरु, सहकारीहरु, विभिन्न महिला समूहहरु छन्, उनीहरुमार्फत यस्तो सूचना फैलाउन सजिलो हुन्छ । हामी उनीहरुसँग कार्यक्रम गरिरहेका हुन्छौँ तर, यस्ता कुरा गर्दैनौँ अब यस्तो गर्न र भन्न जरुरी छ । अनिमात्रै हाम्रो बजारमा पनि राम्रो व्यापार हुनुपर्छ ।
हुलहुज्जतमा अनुगमन हुँदैन

 

 


श्यामसुन्दर अधिकारी
महासचिब, खाद्य तथा किराना ब्यवसायी संघ
एकातिर उपभोक्ताको यस्तो कुरा छ भने, अर्काेतिर सरकारले व्यापार गर्ने व्यवसायीलाई देखिसहन सक्दैन । अनुगमनका नाममा अझैं तर्साइरहन्छ । हुलका हुल, प्रहरी प्रशसनका मान्छे अनि पत्रकारहरु गएर यो सामान झिक् र त्यो सामान झिक् भन्छन् । केही सामान हेर्छन् अनि के गरिस् ? किन यस्तो डेट गएको सामान राखिस् भनेर सिल गर्दिन्छन् । पत्रकारले फोटो खिच्छन् र देखाइदिन्छन् । एउटा पसलमा कति सामान हुन्छन् । हामीले जानी जानी त्यस्ता म्याद गएका र अखाद्य वस्तु बेच्दैनौँ । सकभर एकपटक आएको ग्राहक सधैँ आफ्नो पसलमा आइरहोस् भन्ने जसलाई पनि हुन्छ तर, त्यसरी पुलिस लाएर गरिने अनुगमनपछि पक्कै पनि त्यहाँ नराम्रो छ भन्ने उपभोक्तालाई पर्छ । त्यो पनि जब चाडपर्वको व्यापार सुरु हुन खोज्छ अनि त्यस्तो गर्छ प्रशासनले ।
अनुगमन त नियमित अनि एक समान पो हुनुपर्छ । यहाँ त कसैलाई गरिन्छ, कुन कुन पसलमा अनुगमन गर्ने पहिला नै लिस्ट बनाइन्छ । रिस गरेजस्तो गरेर, यसरी त हामी सबैको व्यापार बिग्रिने हो । कमजोरी हामी भित्र पनि होलान् । यी सबै कमजोरीहरुलाई हामीले पनि राम्रोसँग सुधार्दै लैजानुपर्छ । हामीले हाम्रा कमजोरी सुधार्ने हो भने यहाँको व्यापार पनि बढ्छ ।

 

 


फणाधर भन्डारी
उपाध्यक्ष, खाद्य तथा किराना ब्यवसायी संघ
अनि त्यसमाथि राज्यका नीति नियमका पनि कुराहरु आउँछन् । हाम्रो राज्यको नीति नियम कस्तो छ भन्ने कुराहरु हुन्छन् । खुल्ला सिमाना भन्दैमा जथभावी व्यापार गर्न पाइँदैन । भन्सार सजिलो छ भनेर मुख्य नाका, त्यो पनि भन्सारबाटै जथभावी समान ल्याउन लैजान त पक्कै पाइँदैन । अहिले नेपालगन्जकै व्यापारको कुरा गर्ने हो भने त्यही खुल्ला सिमाना अनि खुकुलो भन्सारका कारण हामी दर्ता भएर, कर तिरेर ब्यापार गरिरहेका व्यापारीहरुलाई अप्ठारो परिरहेको छ ।
अर्काेतिर अनुगमनको नाममा व्यापारी अनि ग्राहक, उपभोक्ताहरु तर्साउने काम भइरहेको छ । पुलिस प्रशसन लगाएर गरिने अनुगमनले काम दिँदैन बरु उल्टै तर्साउने काम भइरहेको छ । जब चाडपर्व आइरहेको हुन्छ अनि त्यो भनेको व्यापारीका लागि पिक आवर हो । त्यस्तो बेलामा पुलिस, प्रशासनको हुल जाँदा मानिसमा नराम्रो प्रभाव पर्छ, यहाँ यो, पसलमा पक्कै केही गडबडी छ है भन्ने हुन्छ अनि मानिसहरु किन हाम्रो पसलमा सामान किन्न आउँछन् र ?
अनुगमन त त्यस्तो चाडपर्व भन्दा अगाडि अनि नियमित रुपमा हुनुपर्छ । यस्तो हुँदा व्यापारी पनि सतर्क हुन्छन्, उपभोक्ता पनि सचेत हुन्छन् । खुलेआम हुने चेकजाँच अनि अनुगमनले सबैतिर नराम्रो सन्देश जान्छ । एउटा पसलमा नराम्रो केही भेटियो भनेर त्यसको व्यापार चौपट हुन्छ नै त्यसले सिङ्गो बजार नै चौपट हुन्छ । अनि ओहो, नेपालगन्ज बजारका पसलमा यस्तो उस्तो भनेर मानिसहरु फेरि उतै भीड लाग्छन् । त्यसैले अनुगमनलाई गुप्त तरिकाले गर्न सकिन्छ खुलेआम भन्दा पनि । पुलिस प्रशासनकै मान्छेहरुले अनुगमन गर्नका लागि सामान खरिद गर्न सक्छन् । त्यसलाई कार्यालयमा लगेर जाँचेपछि र केही नराम्रो भएपछि व्यापारीलाई सम्बन्धित ठाउँमै बोलाएर केरकार गर्न सकिन्छ, कारबाही त्यसपछि गर्ने हो । सारा मान्छेहरुको अगाडि त्यस्तो गर्दा एउटालाई मात्रै होइन सारा बजारलाई नराम्रो असर परिरहेको हुन्छ ।

 


महिनामा दुई पटक हाटबजार
श्यामसुन्दर अधिकारी
महासचिब, खाद्य तथा किराना ब्यवसायी संघ
कतिपय सस्ता सामानहरुको पनि हामीले प्रचार गर्न सकेका छैनौँ । हाम्रा बजारका बारेमा हामीले यहाँका उपभोक्ताहरुलाई जानकारी नै गराएका छैनौँ । कहाँ कुन सामान कति मूल्यमा पाइन्छ भनेर जानकारी नै छैन अनि कसरी व्यापार हुन्छ त ? अब कुन सामान कहाँ र कति मूल्यमा पाइन्छ भनेर हामीले पनि प्रचारप्रसार गर्नुपर्छ । उताकै मूल्यमा यही बजारमा सामान पाइयो र राम्रो पनि पाइयो भने कोही पनि उता जाँदैनन् होला भन्ने लाग्छ । हाट बजारहरु हुनुपर्छ, सबै सामान सस्तो पाइने ठाउँ हुनुपर्छ अनि मान्छेहरु आउँछन् ।

 

 


फणाधर भन्डारी
उपाध्यक्ष, खाद्य तथा किराना ब्यवसायी संघ
उताको बजार चम्कियो भनेर हामीले दुःख मानेर मात्रै पनि हुँदैन । हामी व्यापारीहरु पनि सुध्रिनुपर्छ । अब भर्खरै यसको बहस सुरु भएको छ । हामी अब योजना बनाउँछौँ कम्तीमा महिनाको दुई पटक केही सस्तो, केही छुटमा हाट बजारजस्तो लगाउने जहाँ नुन तेलदेखि हरेक खाद्यान्न र अरु अत्यावश्यक सरसामानहरु एकै ठाउँमा पाइयोस् । केही प्रतिशत छुट दिएर हामीले हाम्रा स्टक सामानहरु बेच्न सक्छौँ त्यहाँ । अलिकति नाफा त नहोला तर, घाटा भने हुँदैन । यसरी हामी हाम्रा नेपाली ग्राहक अनि उपभोक्ताहरुलाई आकर्षित गर्न पो सक्छौँ कि ? यसतर्फ अब सोंच्नुपर्छ हामीले पनि ।

प्रतिक्रिया

प्रतिक्रिया