चालक सहचालक भद्र हुनु नपर्ने ?

सुशिला शर्मा

आफ्नो कामकाजको लागि सार्वजनिक यातायातबाट बिभिन्न ठाउँहरुमा ओहोर दोहोर गरिरहनु पर्ने हुन्छ । यात्रा गर्दा सवारी चालक यात्रुहरुका भरोसाका केन्द्रविन्दु हुन् ।  सयौं अप्ठ्यारा घुम्तीहरुलाई पार गर्दै यात्रुहरुलाई सकुसल गन्तव्यस्थान सम्म पुर्याउने सवारी चालकहरु साँच्चै नै क्षमतावान र बलवान पनि छन् । यस्ता सवारी चालक नहुने हो भने कसरी आम सर्वसाधारण मानिसको कामकाज र दिनचर्या चल्थ्यो होला र ।

सवारी चालकहरु हाम्रै दाजुभाई (आजकल दिदी बहिनीले पनि सवारी साधन हाँक्ने गरेका छन्) हुन् । उनीहरु कुनै यन्त्र मानव होईनन् । उनीहरुको परिवार छ , आवश्यकता छ , जिम्मेवारी छ । उनीहरुले  आफ्ना आश्रितहरु लाई हेर्नुपर्ने हुन्छ । सवारी चालकहरुमा एउटा विशेष सीप छ । जसले देश विकासमा प्रत्यक्ष परोक्ष टेवा पुरयाएको छ ।

हाम्रो समाजमा यातायातकर्मीलाई त्यति सम्मानजनक दृष्टिले हेरिदैन । यसो हुनुमा हाम्रा सवारी चालकहरूको बोली र व्यवहार प्रमुख हो कि भन्ने लाग्छ ।

मैले धेरै पटक सार्वजनिक सवारी साधनमा यात्रा गरेको छु । मैले चालक,सहचालकहरुको अभद्र बोली तथा बाटोमा युवतीहरु देखे वित्तिकै जिस्किने, अश्लिल हाउभाउहरु गर्ने गरेको सुनेको/देखेको छु । कहिलेकाँही  ३ घण्टाको यात्रामा ३ घण्टै चालक, सहचालकका त्यस्ता गलत व्यवहार झेल्नुपरेकाे छ ।

सार्वजनिक यातायातको साधनमा चढ्न खोज्दा जहिल्यै असामान्य ढंगले सहचालकहरू तान्छन् ।  यो मलाई धेरै पटक परिसकेको छ । म जस्तै अरु दिदीबहिनीलाई पनि परेको होला । त्यसबेला मलाई नछोइकन कुरा गर भन्दै प्रतिवाद गर्नु पर्छ ।

गाडीभित्र पनि चालकहरुका अश्लिल शब्द सुन्न नसकेर केही भनीहालेमा तपाईहरुलाई के मतलव , हाम्रो कुरा किन सुन्न पर्यो भन्छन र कानमै उनीहरुका कुरा ठोकिईरहने हुनाले चुपचाप ती सुनिरहनु र दिक्क मानिरहनु सिवाय अर्को विकल्प हुँदैन ।

गाडी चढ्ने बेलामा अलि सम्पन्न जस्तो देखिए त्यो ब्यक्तिका झोला उचालिदिने, राम्रै ब्यवहार गर्ने तर अलि निमुखा, आम सर्वसाधारण जस्तो देखेमा असहयोग गरेको यात्राको दौरान  देख्न पाईन्छ ।

सार्वजनिक सवारी साधन चलाउने चालक धेरै जनमानसमा अन्तरक्रिया गर्नुपर्ने हो ।  धेरैको विश्वास जित्नुपर्ने हो । बिभिन्न स्थानमा पुग्नुपर्ने हो । बिभिन्न रहनसहन थाहा पाएर झन सुसंस्कृत हुनुपर्नेमा उल्टै यात्रुलाई दिक्क बनाउने किसिमका भाषा शैली अप्नाउने, लापरवाहीपन गर्ने , झगडा गर्ने जस्ता क्रियाकलाप यात्रा गर्दा देखिने गरेका छन् ।

धेरै भन्दा धेरै मान्छे कोच्न खोज्ने, गाडीमा मान्छे कम भए आधा घण्टा सम्म पनि एकै ठाउँमा रोकिरहने र अव जाँउ न गन्तव्यमा पुग्न ढिला भईसक्यो भनेर कसैले भन्यो भने ढिलो भए ओर्लेर जानुस आफ्नै गाडीमा भन्ने, अन्धाधुन्ध गाडी हाँक्दा अलि बिस्तारै हाँक्नुस भन्यो भने तपाईले भनेजस्तो हुनको लागि त आफ्नै गाडीमा हिड्नुस न जस्ता बचनवाण पनि हामी मध्ये धेरैले खाएका हौला ।

मलाई लाग्छ धेरै ठाउँमा चालक र सहचालकको दुरव्यवहारहरु झेल्नु भएको होला । कतिलाई त आफ्नो व्यक्तिगत गाडी नहुनुमा ग्लानी पनि भएको होला । कतिपयले इखले ऋण धन गरेर गाडी पनि किन्नु भएको होला ।

कुनै पनि पेशामा त्यो पेशा भएकै कारणले अभद्रता देखाउनु पर्छ भन्ने कतै लेखिएको छैन् । सार्वजनिक यातायातका आफ्ना पेशा सम्बद्ध संघ संगठनहरु छन् । चालक लगायत यातायातकर्मीहरुका हक अधिकार, कर्तव्य लगायतका पक्षहरु ती संघ संगठनहरुले हेरिरहेका छन् । यातायातसंग प्रत्यक्ष संलग्न भएर कार्य गरिरहेका छन उनीहरुले यात्रीहरुलाई कस्तो व्यवहार गर्छन, उनीहरुका व्यवहार , बोलीचाली कस्तो छ जस्ता कुरामा  ध्यान पुरर्याउनु पर्दछ ।

यातायातकर्मीहरुको व्यवहार जिम्मेवार र सभ्य नागरिकको जस्तो हुनुपर्छ । उनीहरुलाई सेवा क्षेत्रमा पठाउनु भन्दा पहिला यात्रुसंग कसरी व्यवहार गर्ने, सञ्चार कसरी गर्ने, झै झगडाको ब्यवस्थापन गर्ने जस्ता विषयमा तालिमको व्यवस्था गरेमा गाडीमा यात्रा गर्दा सुनिने, देखिने अभद्रतामा केही कमी हुनसक्छ ।

यात्रामा ससाना बालबालिकाहरु पनि हुन्छन, उनीहरुलाई पनि यातायातकर्मीले के बोलिरहेका छन भन्ने कुराको ख्याल नै हुँदैन र पछि घरमा पुगेर त्यस्तै अश्लिल शब्दहरु बोल्ने गरेका उदाहरण पनि हाम्रा समक्ष छन् । यातायातकर्मीहरुको आफ्नै पनि घर परिवार छ की त्यस्ता शब्द तथा हाउभाउ बाहिर हिंडेका बेला मात्रै गरेको हुनुपर्यो हैन भने त उनीहरुका परिवारमा बालबालिकाहरुले पनि त त्यस्तै नै सिक्ने भए नि होईन र ?

सार्वजनिक यातायात गुडाउनुहुने आदरणीय दाजुभाईहरु तपाईहरुको उच्च दक्षता जो छ त्यसलाई कायम राख्दै गाडीमा यात्रा गर्ने यात्रुलाई लज्जास्पद बनाउने किसिमका अपशब्द र अश्लिल शब्दलाई कम गरौ है । यसले तपाई हामी सबैलाई शान्त रहन, सभ्य रहन मद्दत पुग्दछ । आफ्नो पेशालाई मर्यादित बनाउने काम त यातायात सम्बद्ध सबैले गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया