कृष्ण चौधरी/कोहलपुर
बाघ संरक्षणकै लागि भनेर स्थापना गरिएको देशकै कान्छो निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको छ । सन् २०१६ को बाघ गणना अनुसार ७३ वटा बाघ रहेको बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा यस वर्षको गणनामा थप वृद्धिको अनुमान गरिएको हो ।
‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्सको रुपमा राखेर पुस १ गते देखि बाघ गणना भइरहेको छ,’ बुधवार बाँकेको कोहलपुर स्थित बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा आयोजित पत्रकार भेटमा सम्बद्ध अधिकारीहरुले भने, ‘सबै अनुकूलताका आधारमा बाघको संख्या बढ्ने देखिएको छ ।’
उनीहरुका अनुसार, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा ३ वटा ब्लकमा बिभाजन गरिएको छ । यतिबेला पहिलो र दोस्रोमा गणना सम्पन्न गरि अन्तिम चरणमा गरणा भइरहेको छ । दुई वटा राष्ट्रिय निकुञ्ज लगायत खाता जैविक मार्ग र कम्दी जैविक मार्ग समेत बाघको गणना गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुनले गणना गर्दा बाघको संख्या, बाघको बासस्थान, आहारा जन्य प्रजातिको घनत्वका बारेमा समेत अध्ययन हुने जानकारी दिए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा भइरहेको बाघ गणनाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बाघको बाघ स्थान उपयुक्त रहेकाले पनि संख्यामा सकारात्मक परिवर्तन आउने निकुञ्जले जनाएको छ ।
नेपाल सरकारले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने लक्ष्यलाई पुरा गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्याको बृद्धिले सन्तुष्ट हुन सकिने अवस्था आउने अधिकारीहरुको विश्वास छ । राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती वन लगायत जिल्ला बन क्षेत्रमा समेत संरक्षण क्रियाकलाप सक्रिय भएकाले बाघसँगै बाघका आहार जन्य प्रजातिको संख्या बृद्धि भइरहेको पत्रकारहरुलाई जानकारी दिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका निमित्त प्रमुख अशोक भण्डारीले क्रमिक रुपमा बाघको संख्या बृद्धि हुँदै गईरहेको हुँदा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज प्रदेश नं. ५ को प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्ने बताए ।