आगलागीबाट होलिया शोकाकुल (फोटो)

बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.१ होलियाको कुडवा गाउँमा आइतबार राती भएको आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ ।

घटनामा स्थानीय मुन्सीलाल मौर्यको ८ वर्षे छोरी राधा मौर्य, १० वर्षे छोरी सोनी मौर्य र ६ बर्षे छोरा पवन मौर्यको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि मृतक बालबालिकाको अन्तेष्टि भइसकेको पीडित परिवारले जानकारी दिएको छ ।

आफ्नो बज्यै संगै सुतेका बालबालिकाहरु भाग्न नसकेर मृत्यु भएको स्थानीय राम नरेश मौर्यले बताए । घटनास्थलमा पुगेका स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा एक घण्टा भित्र आगो नियन्त्रणमा आएपनि बालबालिकाको मृत्यु घटनास्थलमा नै भइसकेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज रण बहादुर खड्काले बताए ।

‘आगलागीको कारण बारे प्रष्ट नभएपनि खाना पकाएर राखिएको दाउरामा पुनः आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज खड्काले भने, ‘आगलागीको कारण पुष्टि हुन सक्ने आधार फेला परेको छैन ।’

आगलागीमा स्थानीय धनीराम यादन, गोर्वधन मौर्य, रामदुलारे मौर्य सहित ११ जनाको घर गोठ जलेर नष्ट भएको छ । प्रहरीका अनुसार ८ लाख २० हजार रुपैया“ बराबरको भौतिक क्षति भएको हो ।
घटना पछि सोमवार विहान रेडक्रसले राहत उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना अधिकारी प्रहलाद विश्वकर्माले तत्कालिन राहत विहानै उपलब्ध गराइएको बताए ।

सोमवार राती हावा तिव्र रहेकै बेलामा घटना भएको प्रहरीले जनाएको छ । ‘हावा हुरी लगत्तै घटना भएको हो’, इन्चार्ज खड्काले भने, ‘नियन्त्रणको प्रयास भएपनि हावाको गतिका कारण समयमा प्रयास सम्भव हुन सकेन ।’
घटनाको कारण प्रष्ट नहुँदा स्थानीयहरु पनि चिन्तित देखिएका छन् । ‘खाना पकाउने बेलामा आगो लागेको भए सहजै अनुमान गर्न सकिन्थ्यो’, स्थानीय त्रिभुवन यादवका अनुसार घटना भएको बेला अधिकांश मानिसहरु सुतिरहेका थिए । ‘अचानक आगो लागेको हल्ला भयो, र सबै जना आगो लागेको तर्फ दौड्न सुरु गरे’, उनले भने, ‘त्यहाँ पुग्दा बच्चा रहेको घर पूरै जलिसकेको थियो ।’

‘बच्चा भए नभएको बारे पहिला सबैलाई थाहा भएन’, प्रत्यक्षदर्शी गोबर्धन मौर्यले भने, ‘पछि घरमा बच्चा रहेको भनेपछि पूरै घर जलिसकेपछि बच्चाहरु बाँचेको अनुमान समेत गर्ने अवस्था थिए ।’

‘बच्चाको बुबा खेतमा गहुँ थ्रेसरिंग गर्न गएका बेलामा घटना भएको हो’, मौर्यले भने, ‘पछि मात्रै थाहा भयो घरमा बच्चा पनि जलेका रहेछन् ।’ गाउँका लागि यो निकै ठूलो घटना हो, अवोध बालबालिकाले विना कारण ज्यान गुमाउनु परेको पिडाका विच पूरै गाउँ शोकाकुल छ ।

करिब ४५ घरधुरी रहेको कुडवा गाउँमा अधिकाँश फुसका घर छन् । गाउँमा केहि पक्की घरका कारण आगो फैलिन पाएन, स्थानीय राम उदित मौर्य भन्छन्, निकै प्रयास पछि पम्पसेट चलाएर आगो निभाइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जिल्लाका प्रहरी प्रमुख एसपी टेक प्रसाद राई सहितका सुरक्षा अधिकारीहरुले घटनास्थलको अवलोकन गरि थप आवश्यक राहत उपलब्ध गराउने आश्वासन दिएका छन् ।
जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका जिल्ला अधिकारी पन्थले आगलागी घटनाका पीडितहरुलाई जनही १० हजार रुपैयाका दरले तत्कालिन राहत उपलब्ध गराएका छन् ।

यो पनि पढ्नुस्

‘पहिला श्रीमती, अहिले बच्चाले साथ छाडे’

प्रतिक्रिया

प्रतिक्रिया