न्याय परिषद् ‘अब्बल’ बनाइन्छ

न्यायपरिषद्का सदस्य पदम प्रसाद बैदिकले न्याय परिषदलाई अब्बल बनाउन लागी आफुहरु प्रयासरत रहेको बताएका छन् । बुधवार नेपालगन्जमा न्यायपरिषद् सदस्य बैदिकले न्यायपरिषदका औजारहरु दुरुस्त छैनन् भन्ने आरोप लागिरहेको सन्दर्भमा ‘गन्जागोल हटाउने कार्यमा आफुहरु लागी परेको’ दावी गरे । ‘परिषद् अब नियुक्तिमा मात्रै केन्द्रित हुँदैन,’ बैदिकले न्यायाधीश उपर परेका उजुरीको छानविनसँगै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन परिषद् केन्द्रित हुने बताए ।

हालै न्यायाधीश नियुक्तिको प्रसङ्ग उल्लेख गर्दै न्याय परिषद सदस्य बैदिकले यस अघिका नियुक्तीमा बिकृति र बिसंगति भए पनि भित्र भित्रै सिमित हुने गरेकोमा यस पटक नेपाली संचार माध्यमले लोकतन्त्रको राम्रो उपभोग गरेको तर्क गरे ।

‘न्याय परिषद ऐन २०७३ को प्रभावकारी कार्यान्वयनमा न्याय परिषदको भूमिका’ बारे नेपालगन्जमा सरोकारवाला बीच दुई दिवसिय छलफल कार्यक्रमको उट्घाटन गर्न न्याय परिषद् सदस्य बैदिक नेपालगन्ज आइपुगेका हुन् ।

परिषद्का अर्का सदस्य राम प्रसाद सिटौलाले बिगतका काम कारवाहीको मुल्याङ्कन पद्धति र परिषद्लाई समय सापेक्ष बनाउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए । उनले सरकारले न्यायपालिकालाई कम बजेट दिने गरेको र त्यसमा पनि न्यायपरिषदलाई न्यून बजेट छुट्याएकाले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गरे ।

५ नं प्रदेश उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ६ नं प्रदेश उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बर बहादुर शाही, परिषद्का सचिव नहकुल सुवेदी, सहसचिव बम बहादुर बुढा मगर, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्द लगायतले बोलेका थिए ।

कार्यक्रममा न्यायपरिषदका पदाधिकारीका साथै ५ र ६ नं प्रदेशका न्यायाधीश, रजिष्ट्रार र श्रेस्तेदार र अन्य न्यायकर्मीहरुको सहभागितामा २ दिनसम्म विभिन्न विषयगत छलफल चल्नेछ । न्यायाधीशहरुको आचार संहिता निर्माण र कार्यान्वयन, न्याय परिषद ऐन २०७३ को प्रभावकारी कार्यान्वयनमा न्यायपरिषदको भुमिकाबारे छलफल गरिने आयोजकले जनाएको छ ।

त्यससँगै न्याय परिषद् नियमावली मस्यौदा र न्याय सेवा आयोग नियमावलीको मस्यौदा उपर छलफल गरि सुझाव संकलन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको परिषद्का सदस्य बैदिकले जानकारी दिए । बिगतमा न्यायपरिषद्ले गरेका काम कारवाही प्रति आलोचना भैरहेको सन्दर्भमा परिषद्ले आफ्नो सुद्धिकरण गरि स्वतन्त्र र सक्षम न्यायापालिकाको लागी कार्य गर्ने प्रयत्नमा लागेको बैदिकको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया