गाउँमा अवैध हतियार !

नेपालगन्जन्यूज/संवाददाता

सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले चौतर्फी रुपमा थालेको तयारीका बिच गाउँ गाउँमा रहेको हतियारले सुरक्षा अधिकारी माझ चिन्ता थपेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरीलाई पत्राचार गरि गाउँमा रहेका वैध हतियार संकलन कार्य अघि बढाउन निर्देशन दिएको एक साता भित्र मात्र ३ वटा हतियार प्रहरी युनिटमा जम्मा भएको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँकेमा अवैध हतियार नरहेको ठोकुवा गरेका छन् । ढुक्क हुनुस् जिल्लामा अवैध हतियार छैन’, उनले भने, ‘वैध हतियार संकलनको काम द्रुत गतिमा अघि बढेको छ ।’

‘हतियारबाट अवांछित गतिवधि नहोस् भन्नका लागि हरेक निर्वाचनको समयमा संकलन गर्ने र पछि हतियार धनीलाई फिर्ता गर्ने नियम छ’, जिल्ला अधिकारी पन्थले भने, ‘प्रहरीले संकलनको काम अघि बढाएको छ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज विर बहादुर थापाले भने, ‘यद्यपि वैध हतियार संकलनमा समस्या छैन, सुरुवात भएको छ, अहिले ३ वटा हतियार जम्मा भइसकेको छ ।’

जिल्ला प्रशासन कार्यालय बाँकेको अभिलेख अनुसार जिल्लामा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको छ । जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको छ । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा ८ सय ३४ वटा हतियार छ । ‘राप्तीपारि क्षेत्रमा वैध हतियार नामसारी भएर आएको बारे जानकारी छ’, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज नर बहादुर खड्काले भने, ‘हतियारले पछि सुरक्षामा जोखिम उत्पन्न गर्ने अवस्था हुन सक्ने भएकोले बेलैमा संकलन प्रक्रिया अघि बढाइएको छ । अझै संकलन भएको छैन, सूचना मात्रै दिइएको छ’, खड्काले भने, ‘दुई चार दिनमा संकलन हुने क्रम अघि बढ्छ ।’

संवेदनशिल क्षेत्र मानिएको राप्तीपारि, बाँकेको जयसपुर, बनकट्टी, कम्दी, बेतहनी, कोहलपुर, जयसपुर, पुरैना क्षेत्रमा अवैध हतियार रहेको प्रहरी श्रोतको प्रारम्भिक अनुमान छ । ‘सिमावर्ती क्षेत्रमा अवैध हतियारको आशंका गर्न सकिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी विरेन्द्र बस्यालले भने, ‘तर पुष्टि गर्नका लागि तह सम्म अनुसन्धान जरुरी छ ।’ ठोस प्रमाण फेला परेपछि त्यस्तो स्थानमा सर्च अप्रेशन चलाउन सकिने उनले संकेत गरे ।

‘स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्नका लागि सुरक्षा ब्यवस्था चुस्त बनाइएको छ’, मुद्दा इन्चार्ज विर बहादुर थापाले भने,‘बाँकेमा कुनै प्रकारको अवांछित कार्य हुन नदिनका लागि प्रहरी सक्रिय छ ।’ स्थानीय तह निर्वाचनमा सुरक्षा ब्यवस्थाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय बाँकेको रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया