बास्केटबल प्रतियोगिता: सेमिफाइनल र फाइनल आजै

महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा तीन दिनदेखि जारी बास्केटबल प्रतियोगिता आज आफ्नो उत्कर्षमा पुगेको छ। आयोजक द थ्री चेयर्स र स्ववियूको सहकार्यमा सञ्चालन भइरहेको यो प्रतियोगिता आज साँझ सेमिफाइनल र फाइनल खेलहरूसँगै समापन हुँदैछ। प्रतियोगिताको पहिलो दिनदेखि नै सबल टिमका रूपमा उदाएको कर्णाली ले लगातार तीन खेलमा शानदार जित हात पार्दै अपराजित रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। कर्णालीले पहिलो खेलमा एनबीडब्लु (NBW) लाई ८९–५७, दोस्रो खेलमा चिसापानी हुपर्स लाई ६५–३७ र तेस्रो खेलमा A2BPS लाई ६३–५१ ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको हो। एनबीडब्लु ले पनि आफ्नो दोस्रो खेलमा बीबीए छैठौं सेमेस्टरलाई ७२–३७ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ।

समूह ‘बी’ तर्फ एनएसबीएल ले निरन्तर प्रभावशाली खेल प्रदर्शन गर्दै SVS विरुद्ध १२–३ को सहज जित दर्ता गर्‍यो। उसले यसअघि बास्केट हाउन्ड्सलाई हराएको टिम हो। अर्कोतर्फ, बास्केट हाउन्ड्स ले SVS विरुद्ध २२–११ को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ। यसरी, कर्णाली, एनएसबीएल, बास्केट हाउन्ड्स सेमिफाइनलमा पुगिसकेका छन् भने बाँकी अन्तिम एक स्थानका लागि आजै हुने छनोटीय खेलबाट टुंगो लाग्नेछ। प्रतियोगितामा कुल ३ दिनसम्म १५ भन्दा बढी खेल सम्पन्न भइसकेका छन्। तीव्र गति, रणनीति र टिम समन्वयले भरिएका यी खेलहरूले नेपालगन्जको बास्केटबल वातावरणलाई जीवन्त बनाइदिएको छ।

अब सबैको ध्यान आज साँझको सेमिफाइनल र त्यसपछिको महान फाइनलतर्फ केन्द्रित भएको छ। आज साँझ ४ बजे सेमिफाइनलका दुवै खेलहरूसँगै फाइनल पनि सम्पन्न गरिने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्। फाइनलमा जित्ने टिमलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ, जुन युवा खेलाडीहरूका लागि थप प्रेरणाको स्रोत बन्नेछ। प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन बाँके बास्केटबल युनियन का सचिव दीपक धोज शाही को सुपरभिजनमा भइरहेको छ ।

स्वास्थ्य सुरक्षाको लागि कैलपाल हस्पिटल एन्ड कलेजका मेडिकल विद्यार्थीहरूको टोली निरन्तर खटिरहेकाले प्रतियोगिता सुरक्षित र व्यवस्थित भएको छ। संयोजक सागरराज आचार्यका अनुसार, ´तीन दिनको यो प्रतियोगिता केवल अन्त्य नभई, नेपालगन्जमा बास्केटबलको दीर्घकालीन यात्राको थालनी हो।´

प्रतिक्रिया

प्रतिक्रिया