नेपालगन्जमा दुई दिन चलेको ‘बाँके रोजगार मेला–२०८१’ नौ सय बढीले रोजगारी माग गर्दै आवेदन दिएका छन् । ‘नौ सय ६ जनाको आवेदन परेकोमा सबैलाई क्षमता, दक्षताका आधारमा रोजगारीसँग जोड्ने हाम्रो प्रतिबद्धता रहनेछ’, मेला समापन समारोहमा आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले भने ।
मेला संयोजक समेत रहेका संघका महासचिव भीम बहादुर रानाभाटले उद्देश्य प्राप्तिमा आयोजना सफल भएको भन्दै ७ जना अपांगता भएकाहरूलाई नियुक्ति नै भएको जानकारी दिए ।
‘९३ जनाको नियुक्ति प्रक्रिया अगाडि बढेको छ’, सबैभन्दा बढी सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीले रोजगारी दिएको जानकारी दिंदै मेला संयोजक रानाभाटले भने ।
समापन समारोहमा अध्यक्ष धामीले रोजगार मेलालाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, राप्तीसोनारीका अध्यक्ष तप्त बहादुर विष्ट लगायतले विभिन्न सहभागीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए । संघका कार्यसमिति सदस्य विष्णु श्रेष्ठले सञ्चालन गरेको समापन समारोहमा मेलाका विज्ञ परामर्शदार्ता सरोज कुमार चौधरीले मेलाको समग्र प्रगति विवरण प्रस्तुत गरेका थिए ।







