वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।

वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका– १३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताउनुभयो । खुला विद्यालयलाई तारबार गरी सुरक्षित गर्न निकुञ्जलगायत सरोकारवाला निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र १८ विद्यालय रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु आक्रमणको जोखिम बढेको हो । विद्यालय समयमा विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका सहायक संरक्षण अधिकृत उमेश पौडेलले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकालाई वन संरक्षण र त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुबैले सचेत गराउनुपर्ने र जथाभावी वनजङ्गल जान नहुनेबारे सचेत गराइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया