विश्व व्यापार संगठन (डब्लुटिओ) को नेपाल पनि सदस्य राष्ट्र हो । संगठनको सदस्य भैसकेपछि त्यसले निर्धारण गर्ने नीति नियम स्वदेशी उत्पादक उद्योगी तथा व्यवसायले पनि त्यसको पालना गर्नुपर्छ । राज्यले पनि डब्लुडिओको सदस्य राष्ट्रको हैसियतले स्वदेशी वस्तुको निर्यात बढाउने तथा आयात घटाउने खालले आफ्नो आन्तरिक नीति बनाउनु पर्ने र सोही अनुसार काम गरिरहेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । मंगलबार नेपालगन्जमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एमपिएस नेशनल इक्वारी प्लाइन्टले नेपालगन्जमा अन्तरक्रियाको आयोजना गरी एमपीएस प्रावधानहरु तथा आयात निर्यात निर्यात प्रक्रियाबारे सरोकारवालाहरुलाई जानकारी दिनुका तथा व्यवसायिक समस्याबारे बुझेको हो । कार्यक्रममा भन्सारका समस्यादेखि उपभोक्ता हित संरक्षण, व्यवसायिक हितका बारेमा छलफल गरिएको थियो ।
एमपीएस सम्झौता गरेका सदस्य राष्ट्रहरुमा मानव, पशुपंक्षी र बिरुवाको स्वच्छता र जीवन रक्षार्थ आवश्यक स्वच्छता र स्वस्थ्ता सम्बन्धी प्रावधान अवलम्वन गर्ने अधिकार सबै सदस्य राष्ट्रहरुमा हुने गर्दछ । कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक समेत रहेका कार्यक्रममा उपेन्द्र रायले विश्व व्यापार संगठनको सदस्य भएपछि त्यहाँबाट अवलम्वन हुने नीति सदस्य सबै राष्ट्रले पालना गर्नुपर्ने र त्यसको जानकारी स्वदेशी व्यवसायीलाई पनि हुनुपर्ने उनले बताए । रायले अब विश्व व्यापारमा उत्पादित वस्तुहरुको गुणस्तर मात्रै नभई कुन परिवेशमा भित्रिए भन्ने सम्मको प्रमाण, अध्ययन बुझाउनु पर्ने अवस्था सिर्जना भएको बताएका थिए ।
महानिर्देशक रायले नेपालबाट निर्यात बढाउने र आयात निरुत्साहित गर्न विभिन्न खालका कार्यमा राज्यको जोड रहने धारणा राखेका थिए । ‘तर, विश्व व्यापार संगठनको सदस्य हैसियतले पुष्टि विना वस्तु आयात, निर्यात रोक्न सकिंदैन’, उनले भने, ‘त्यसैले स्वदेशी कम्पनीले मापदण्ड पूरा गर्दै निर्यात बढाउने तर्फ अग्रसर हुनुपर्छ ।’ कार्यमा भैरहेको ढिलासुस्तीको गुनासो प्रति जवाफ दिंदै महानिर्देशक रायले विभाग जनशक्ति थप्नका लागि प्रयासरत् रहेको र सोही अनुसार व्यवस्थापन गर्दै जाने बताएका थिए । खाद्य बस्तुको स्वच्छता कायम गर्न प्रि बोर्डर कन्ट्रोल, बोर्डर कन्ट्रोल अनि पोष्ट बोर्डर कन्ट्रोल कार्य विभाग र मातहतका कार्यालयहरुले काम गरिरहेको जानकारी दिंदै कार्यान्वयनका लागि सहयोगको अपेक्षा समेत उनले गरे । उनले भन्सार बिन्दुमा नै मालवस्तुको चेकजाँच छिटो होस् भन्नेमा विभागले काम गरिरहेको र अवस्था छिट्टै सहज हुने बताएका थिए ।
विभागका महानिर्देशक रायले आन्तरिक उत्पादन नहुँदा विदेशबाट आयात हुने वस्तु रोक्दा आपूर्ति मै असहजताको बाध्याता सुनाएका थिए । ‘आन्तरिक उत्पादन वृद्धि हुँदै आत्म निर्भर हुने हो भने गुणस्तरहीन वस्तु आयात नै हुन पाउँदैनन्’, उनले भने ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जका प्रमुख एकराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विभागका वरिष्ठ खाद्य अधिकृत मोहन कृष्ण बुढाथोकीले नेपाल डब्लुटिओको सदस्य भएपछि अन्तर्राष्ट्रिय व्यापार बढेको बताएका थिए । उनले व्यापार बढेसँगै मापदण्डहरु थपिंदै गएकाले चुनौति र अवसर दुवै थपिएको जिकिर गरेका थिए । उनले कुनै एक देशमा उत्पादित वस्तु तथा पशुजन्य वस्तुमा संक्रमण तथा मापदण्ड पूरा नभएको पाइए अर्को देशमा रोक लाग्न सक्ने बताएका थिए । ‘विश्व व्यापार संगठनको सदस्य भएपछि स्वेदेशी उत्पादनमा अवसर र चुनौति दुवै भित्रिएको छ’, उनले भने, ‘चुनौति पार गर्दै निर्यात बढाउन सबै सरोकारवालाले काम गर्नुपर्छ ।’ उनले एमपीएसको महत्व बुझ्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा पशु क्वारेन्टाइनका वरिष्ठ पशु चिकित्सक डा. भक्त निहुरेले आन्तरिक उत्पादन वृद्धि भए विदेशी मालवस्तु सहज रोक्न सकिने अवस्था रहेको बताएका थिए । उनले क्वारेन्टाइनले आन्तरिक र बाह्य रुपमा पशुजन्य वस्तुबाट फैलन रोग फैलन क्वारेन्टाइनेले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताएका थिए । उनले भारतमा बर्डफ्लु देखिएपछि कुखुराको आयात रोकिएको उल्लेख गर्दै भने । उनले आन्तरिक उत्पादन वृद्धि भए कुनै न कुनै कारण देखाएर गुणस्तरहीन वस्तु आयात रोक्न सकिने बताए । डा. निहुरेले नेपालमा खसी, बाख्रा पालन बढी भएपछि भारतसँग विश्व व्यापार संगठनले तोकेको मापदण्ड अनुसार विभिन्न खालका सटिर्फिकेट माग गरेर आयात निरुत्साहित गरेको बताए ।
नेपाल–भारत सीमाको १ हजार ८ सय ८० किलोमिटर र चीन सँगको १ हजार ४ सय ३९ किलोमिटर खुला सीमा रहेको छ । वैधानिक बाहेक अवैधानिक आयात पनि हुने गरेको छ । भन्सारको आँखा छल्न खुला सीमा भएकाले सहज अवस्था छ भन्न सकिन्छ । आन्तरिक जनशक्ति र निगरानी पूर्वाधार कमीका कारण सीमामा हुने बेथिति सञ्चारमाध्यममा आइरहन्छ । जुन कुरा कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले पछि उठाएका थिए । उनले भन्सार निगरानी बढ्दा कोरोनाको असहज परिस्थितिमा पनि भन्सार संकलन बढेको उल्लेख गरेका थिए । अध्यक्ष चुन्नाको भनाईलाई भन्सार प्रमुख जय बहादुर भण्डारीले पनि समर्थन गरे । उनले भन्सार बढेपनि अझै पनि चोरी तस्करी हुने र व्यवसायीले नै भन्सार चोरीको मालसामान खरिद गर्ने गरेको उल्लेख गरेका थिए । ‘सबै इमान्दार हुने, गलत गर्नेको सूचना दिने हो भने कसैले चोरी पैठारी गर्न पाउँदैन’, उनले भने । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत अशोक बाबु सपाकोटाले भन्सारका आर्थिक अवस्था, आयात, निर्यात तथा भन्सार सुधारका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रमा टिप्पणी गर्दै उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष बसन्त गौतम, सुरेन्द्र दिप कार्की, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज, उपभोक्ता अधिकारकर्मी प्रभात कुमार ठकुरीले भन्सारको सहजता, खाद्य वस्तुको गुणस्तर चेकजाँच लगायतका बारेमा सुझाव दिएका थिए ।
सीमा सुरक्षा बल ३० गणका प्रमुख अशोक कुमार बमले आफु आएको सात महिना भएको र सो अवधीमा २ करोड बराबरको भन्सार छलीको सामान बरामद गरेको बताएका थिए । ‘सूचना कसैले दिंदैन, खुला सीमा भएकाले सबै ठाउँमा हाम्रा सुरक्षाकर्मी २४ घण्टा पुग्न सक्दैनन्’, उनले भने, ‘त्यसैले भन्सार छलीको दीर्घकालीन समस्या समाधान गर्न सीमामा निगरानीका लागि राम्रो सडक र ठाउँठाउँमा सीसी क्यामेरा जडान गर्न आवश्यक छ ।’