प्रदेश ५ मा डेढ लाख आर्थिक इकाइ, बाँकेमा होलसेल तथा खुद्रा प्रतिष्ठानहरु ११ हजार १ सय ९२ वटा

१८ हजार बढी आर्थिक इकाइहरु रहेको बाँकेमा ११ हजार बढी होलसेल तथा खुद्रा प्रतिष्ठानहरु रहेको विभागले सार्वजनिक गरेको छ

प्रदेश ५ मा डेढ लाख आर्थिक इकाइहरु रहेको तथ्यांक केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । गत बर्ष वैशाख, जेठमा देशव्यापी गरिएको आर्थिक गणनाको नतिजा तथ्यांक विभागले सार्वजनिक गरेको हो । सरकारले छुट्टै आर्थिक गणना कार्यालय स्थापना गरेर देशभरी आर्थिक इकाइहरुको विवरण संकलन गरेको छ ।


केन्द्रीय तथ्यांक विभागका अनुसार, प्रदेश ५ का १२ वटा जिल्लाहरुमा १ लाख ४७ हजार ७ सय ८९ वटा आर्थिक इकाइहरु रहेका छन् । जसमा ४ लाख ७४ हजार २ सय ६४ जना संलग्न छन् । आर्थिक इकाइहरुमा कार्यरत रहेको पुरुषको संख्या ३ लाख ६ हजार ८ सय ९२ र महिलाहरुको संख्या १ लाख ६७ हजार ३ सय ७२ रहेको छ ।


प्रदेश ५ को बाँकेमा १८ हजार ६ सय ६६ वटा आर्थिक इकाइहरु गणना गरिएको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । जसमा कृषि, वन सम्बन्धी २ सय ४, उत्पादन सम्बन्धित २ हजार ५१ र निर्माण सम्बन्धी १० वटा आर्थिक इकाइ रहेका छन् ।


बाँकेमा होलसेल तथा खुद्रा प्रतिष्ठानहरु ११ हजार १ सय ९२ वटा, ट्रान्सपोर्ट तथा भण्डारण सम्बन्धी ६२ वटा, आवास तथा खाना सम्बन्धी २ हजार ३ सय ८० वटा, सञ्चार सम्बन्धी ५४ वटा, वित्तीय तथा विमा सम्बन्धी २ सय २१ वटा, रियल स्टेट सम्बन्धी ३ वटा र प्रविधि सम्बन्धी १ सय २७ वटा आर्थिक इकाइहरुको गणना गरिएको छ ।


बाँकेमा शिक्षासँग सम्बन्धित ६ सय ९२ वटा संस्था रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । मानव स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुको संख्या ३ सय १२ वटा, कला, मनोरञ्जन सम्बन्धी १९ वटा र अन्य विविध प्रतिष्ठानहरुको संख्या १ हजार १ सय ६२ वटा रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।


बाँकेमा रहेका आर्थिक इकाइहरुमा ६४ हजार ८ सय ८२ ले रोजगारी पाएको अभिलेखिकरण गणनाका क्रममा गरिएको छ । जसमा पुरुषको संख्या ४४ हजार ३ सय ३३ र महिलाहरुको संख्या २० हजार ५ सय ४९ रहेका छन् ।


बाँकेमा सबैभन्दा बढी रोजगारी होलसेल र खुद्रा बिक्रेता क्षेत्रमा रहेको तथ्यांकले देखाएको छ । होलसेल र खुद्रा व्यवसायिक प्रतिष्ठानमा २२ हजार १ सय ५५ जना रोजगारीमा रहेका छन् भने उत्पादनमूलक क्षेत्रमा १५ हजार ३ सय १० जना रोजगारीमा रहेको तथ्यांक छ । वित्तीय क्षेत्रमा २ हजार २२, होटल व्यवसायमा ६ हजार ४ सय ५० ले रोजगारी पाएका छन् । शिक्षा क्षेत्रमा ९ हजार ५ सय ५५ जनाले रोजगारी पाएका छन् भने अन्य विविध आर्थिक इकाइमा २ हजार ७ सय ३६ जना कार्यरत रहेको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।


बाँकेका आर्थिक गणना कार्यालयले आठ वटै स्थानीय तहमा गणना गरेको थियो । बाँकेमा भएको आर्थिक गणनाको तथ्यांक छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख पोम नारायण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया