बरमुडामा कहिले खेल्ने ?

प्रादेशिक खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भिम ओली भन्छन्, ‘जिम्मा पाएको निर्माण कम्पनीले हस्तान्तरण नगर्दासम्म उपयोग गर्न सकिने अवस्था छैन ।’

राष्ट्रिय खेलकुदको महाकुम्भ, आठौं राष्ट्रिय खेलकुद सकिएको २ महिना पुगेको छैन । हजारौं खेलाडी बीच कयौं प्रतिष्पर्धा थेगेको नेपालगन्जमा खेलमैदानको समस्या सुन्दा जो कसैलाई पनि अचम्भित बनाउन सक्छ । तर, अवस्था त्यस्तै छ ।


आइतबार जिल्ला लिग फुटबलको फाइनल खेल भइरहँदा प्रहरी तालिम केन्द्रको कारकादौं स्थित मैदान चर्काे गर्मीबीच उडेको धुलोले २ किलोमिटर दुरीमा रहेको अत्याधुनिक सुविधा सम्पन्न नेपालगन्ज रंगशाला र त्यहाँको अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदानलाई लोभ्याइरहेको थियो । सायद त्यसैले बिझाएर होला, जिल्ला लिगको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने, ‘करोडौंका खेल पुर्वाधार खेलाडी पर्खिएर बसेका छन्, खेलाडी मैदान नपाएर धुलोमाटो भएर खेल्नुपर्ने यो अवस्था प्रति खेद छ ।’ आफ्नो वडाको घरेलु टिम धम्बोझीले जितेको खुशी भन्दा खेलाडीले भोगेको सास्तीबाट आहत भएरै होला उपाधि विजेता धम्बोझी क्लबका पूर्व अध्यक्ष समेत रहेका नगरका प्रवक्ता रिजालले यो अवस्था सक्दो छिटो अन्त गर्न आव्हान गरे ।


हुनपनि एक सातादेखि चलेको लिग फुटबलका लागि बाँके जिल्ला फुटबल संघले मुस्किलले प्रहरी तालिम केन्द्रको मैदान प्राप्त गरेको हो । ‘यही पनि बडो मुस्किलले उपलब्ध भयो’, संघका अध्यक्ष भोजराज शाहीले दैनिक नेपालगन्जसँग भने, ‘फाइनलका लागि देउ भन्दा पनि नेपालगन्ज रंगशालाको खेलमैदान उपलब्ध गराइएन ।’ प्रतियोगिताका लागि पटक पटक खेलमैदान माग गर्दा पनि विभिन्न बहानामा नदिइएको सम्बद्धको भनाइ छ । तालिम केन्द्रको मैदान धुलाम्मेमात्र होइन, प्रहरी घेराभित्र भएकाले दर्शकको सहज उपस्थितिमा समस्या देखिएको आयोजकको ठम्याइ छ ।


दुई साताभित्रै जिल्लास्तरीय अर्काे फुटबल प्रतियोगिताको तयारीमा बाँके जिल्ला फुटबल संघ छ । असार १३ गतेदेखि जिल्लाका २० बढी विद्यालयस्तरीय टिमको सहभागितामा प्रतियोगिता घोषणा गरिएको छ । ‘मैदानको तनाव उस्तै छ’, अध्यक्ष शाही भन्छन्, ‘रंगशाला नपाइने निश्चित छ, कहाँ गर्ने म्यानेज गर्दैछौं ।’


गत वर्षदेखि काम चलाउ मैदानका रुपमा नेपालगन्ज १ को धम्बोझीमा प्रयोग गरिंदै आएको मैदानलाई विकसित गरि ‘एन्फा ग्राउण्ड’ बनाइँदैछ । असार मसान्तसम्म प्रदेश सरकारको झण्डै १ करोड लगानीमा मैदान बनिरहेकाले त्यसपछि समस्या टर्ने आशा अध्यक्ष शाहीको छ ।
मैदान नहँुदा दुई वर्षयताका प्रदेश स्तरका प्रदेशस्तरका छनोट खेलहरु नेपालगन्जले गुमाउनु परेको पीडा सम्बद्धहरुको छ । अहिलेको मैदान अभाव भने खेल पदाधिकारीको उदासिनताका कारण भएको गुनासो सम्बद्धहरुको छ । जे सुकै बहाना बनाइएपनि फाइनल खेललाई रंगशालामा व्यवस्थापन गर्न सकिने दावी उनीहरुको छ । तर, यो कुरामा सम्बद्ध खेल पदाधिकारी सहमत छैनन् ।

आठौं राष्टिय खेलकूद प्रतियोगिताले नेपालगन्जको खेल इतिहासमै धेरै खेल पूर्वाधार दिएको छ । तर, सञ्चालन कार्यविधि नबन्दा त्यसको स्थानीय उपयोगिताको फाइदा खेलाडीले अहिले सम्म पनि लिन पाएका छैनन् । ‘नेपालगन्जमा हुनुपर्ने उपराष्ट्रपति चिल्ड्रेन्स गेम्स प्युठान पुग्यो, १२ सय खेलाडीले प्रतिनिधित्व गर्ने राष्ट्रपति कप पनि बाँकेमा आयोजना हुने अवस्था छैन’, प्रादेशिक खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भिम ओली भन्छन्, ‘जिम्मा पाएको निर्माण कम्पनीले हस्तान्तरण नगर्दासम्म उपयोग गर्न सकिने अवस्था छैन ।’ मैदान निर्माणकै क्रममा रहेकाले गोर्खा सैनिकको भर्ना क्याम्प समेत लगाउन नसकिएको जानकारी दिंदै अध्यक्ष ओलीले धेरै अवसरहरुबाट वञ्चित हुनुपरेको बताए । ‘तर यो सबै पूर्वाधारकै विकासका लागि हो’, अध्यक्ष ओलीले भने ।


सञ्चालन कार्यविधि बनाएर उपयोगिताको नीति कार्यान्वयनमा ल्याइने जानकारी दिंदै अध्यक्ष ओलीले सबै खेल पूर्वाधारहरु ठेकेदारबाट सरकारलाई हस्तान्तरण भएपछि मात्र उपयोग गर्न पाइने अध्यक्ष ओलीले जानकारी दिए । ‘अझैपनि फिनिसिंग लगायतका काम भइरहेका छन्’, काम अझै नसकिएको जानकारी दिंदै अध्यक्ष ओलीले भने । उनका अनुसार, बरमुडा घाँसको स्थायित्वदेखि छेउछाउका पूर्वाधारलाई पूर्णता दिने काम भैरहेको छ । ‘अहिले पनि घाँसमा मलिलो माटो हालेर मैदानलाई आकर्षक बनाउने काम भैरहेको छ,’ ठेकेदारका तर्फबाट सम्पूर्ण काम सकेपछि मात्रै हस्तान्तरण हुने जानकारी दिंदै भने, ‘बर्षात्को पानीदेखि डुबानसम्मको अवस्था हेरेर जिम्मा दिए अनुसारको काम भए नभएको परीक्षण पछि मात्रै हस्तान्तरण हुनेछ ।’


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले खेल पूर्वाधारहरु खेलकुदको विकास र खेलाडीहरुकै उपयोगिताका लागि भएकाले निर्माण कार्य सकिएपछि प्रादेशिक खेलकुद परिषद्लाई नै उद्घाटन पछि जिम्मेवारी दिइने बताए । ‘त्यसपछि आवश्यक कार्यविधि बनाएर उपयोग व्यवस्था हुनेछ,’ सदस्य सचिव विष्टले दैनिक नेपालगन्जसँग भने ।
हस्तान्तरण नभएका नेपालगन्ज रंगशाला स्थित खेल मैदान मात्रै होइन कबर्ड हल, सुटिङ्ग रेन्ज, जुडो, पौडी पोखरी लगायतका कुनै पनि पूर्वाधारमा खेल गतिविधि भएका छैनन् । नेपालगन्ज रंगशाला मात्रै २५ करोडको लागतमा पुनर्निर्माण भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया