सनत रेग्मी
हाम्री नर्वदा दिदी अब केवल सम्झनामा सिमित रहनुभयो, उहाँको त्यो दिव्य, भव्य मुहार देख्न पाइन्न भनेर सम्झँदा आङ सिरिङ्ग हुन्छ । उहाँका बारेमा लेख्न दैनिक नेपालगन्जले आग्रह गर्दा मेरो कलम चल्ने अवस्था थिएन, न त नलेखी बस्ने परिस्थति । नेपालगन्जका प्रतिष्ठित व्यक्तित्व भुवनेश्वर खनालकी सुपुत्रीका रुपमा नर्वदा शर्मा खनालको जन्म २००१ सालमा नेपालगन्जमा भएको हो । नेपालगन्जमा उहाँ एक जना अग्रणी महिला र समाजसेवीको रुपमा चिनिनु हुन्छ ।
आफ्नो शिक्षा समाप्त गरेर काठमाडौंदेखि नेपालगन्ज फर्किए पछि उहाँ सरस्वती माध्यमिक विद्यालयमा शिक्षिका हुनुभयो । शिक्षा सेवाका साथ साथ उहाँ सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुभयो ।
म साहित्यप्रति अभिरुचि राख्ने भएकाले २०१९ सालमा नौलो पाइला पत्रिकामा ‘रश्मी’ का नाममा लेख्ने महिलाको हुनु होला भनेर खोजी पसें । यसैक्रममा साहित्यकार मोहनलाल श्रेष्ठसँग पनि परिचय भयो । उहाँ नौलो पाइलोको सम्पादक हुनुहुन्थ्यो । उहाँसँग नै थाहा भयो ‘रश्मी’ उपनामले लेख्ने नर्वदा शर्मा नै हुनुहुँदो रहेछ । उहाँकै सहयोगमा सर्वप्रथम नर्वदा दिदीसँग दिदीकै घरमा भेट्ने र परिचय प्राप्त गर्ने मौका मिल्यो । त्यसबेलासम्म म नेपालगन्जमा त्यति सुपरिचित थिइन । नर्वदा दिदीले मलाई विद्या कुटिरका प्रोपराइटर गोपाल शर्मा रेग्मीको छोराको रुपमा चिन्नु भएको रहेछ । त्यसपछि हाम्रो भेट र सन्दर्भ साहित्यको नै हुन्थ्यो । निकै पातलो भेटघाट हुन्थ्यो । बर्षमा २/३ पटक मात्र ।
नर्वदा दिदी सँगको घनिष्ठता भने २०३२ साल पछि नै बढेको हो । नर्वदा दिदी २०२४ सालमै नेपाल रेडक्रस सोसाइटीको सदस्य हुनुभएको थियो । त्यतिबेला रेडक्रसको चुनाव भएको नाम मात्रको हुन्थ्यो । अञ्चलाधीशको इशारामा हात उठाएर सदस्य चुनिने वा मनोनित गरिने परम्परा थियो । २०२८ सालमा रेडक्रस जिल्ला समितिको चुनाव पनि त्यसैगरी सम्पन्न भएको थियो । २०३२ सालमा भने रेडक्रसको विधिवत चुनाव हुने भयो र खेमराज श्रेष्ठज्यूले हामीहरुलाई सदस्यता प्रदान गर्नुभयो । खेमराजजीले हाम्रो टिममा नर्वदा दिदी, प्रताप बहादुर शाह, कमला मिश्र, रणेन्द्र हमाल, नेब बहादुर शाक्य, सनत रेग्मी आदी थियौं । खेमराज श्रेष्ठले प्रजातान्त्रिक युवा समूहलाई प्रश्रय दियो भनेर तत्कालीन अञ्चलाधीशले शेखर शर्माको अध्यक्षतामा एउटा अलग टिम खडा गरे त्यसमा हाम्रो साथी अजीतकुमार शर्मा र चन्द्रमान श्रेष्ठ पनि सामिल भए । निर्वाचन सम्पन्न हुँदा नर्वदा दिदी सहित हामी सबै निर्वाचित भयौं । र, शेखर शर्माको टिमबाट हाम्रो साथी अजीतकुमार शर्मा र चन्द्रमान श्रेष्ठ निर्वाचित भए । त्यतिबेलादेखि नर्वदा दिदीसँग घनिष्ठ सम्बन्ध हुँदै गयो । समयक्रममा खेमराजजीले नर्वदा दिदीलाई उपाध्यक्ष र मलाई मन्त्रीको कार्यभार सुम्पनु भयो ।
त्यसबेला राप्तीपारीका गाउँहरुमा आगलागी र बर्षामा राप्ती किनाराका गाउँहरुमा आगलागी हुन्थ्यो । त्यतिबेला मानवीय कार्यमा नर्वदा दिदी सधैं अग्रसर हुनुहुन्थ्यो । नर्वदा शर्मा, सनत रेग्मी, तापस शाह, अजीत शर्मा शिक्षकहरुबाट शान्ति श्रेष्ठहरु तातो हावा र लुको परवाह न गरी राप्तीपारीको गाउँहरुमा जान्थ्यौं । र, खेमराजजीको नेतृत्वमा राहत वितरणमा लाग्थ्यौं । राप्तीको डुबानमा कम्मर कम्मरसम्मको पानीमा हिडेर गाउँगाउँमा राहत वितरण गर्दथ्यौं । महिला भएपनि नर्वदा दिदी यसक्रममा अग्रपंक्तिमा नै रहन रुचाउनु हुन्थ्यो ।
नर्वदा दिदी, मृदु भाषी र सबैलाई स्नेह गर्ने हुनु हुन्थ्यो । फिल्डमा गएको बखत उ हाँले हामी सबैको लागि खाना बनाएर लिएर जानु हुन्थ्यो र समयमा मिलाएर त्यो खाना खान्थ्यौं ।
नर्वदा दिदी, शिक्षाको क्षेत्रमात्र होइन सामाजिक अभियानको रुपमा नै प्रस्तुत हुने गर्नु हुन्थ्यो । नारी विकास केन्द्र होस् वा परिवार नियोजन संघ अथवा क्षयरोग निवारण संघ, सबैको स्थापना र व्यवस्थापनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ ती संस्थाको विकासका लागि के कस्ता योजना बनाउन उचित हुन्छ भनेर हामीसँग सरसल्लाह लिई रहनु हुन्थ्यो । अरु संघ, संस्थामा संलग्नता भएपनि उहाँ विशेष गरेर रेडत्रसको कार्यक्रमलाई विशेष प्राथमिकता दिनु हुन्थ्यो । स्व. खेमराज श्रेष्ठज्यूको निधन पश्चात लामो समयसम्म उहाँ रेडक्रसको नेतृत्वमा रहनु भयो । उहाँको कार्यालयमा म उहाँको निकटतम सहयोगीका रुपमा मन्त्री पदमा रहेर उहाँलाई सघाउँथे । उहाँ रेडक्रसमा चुर्लुम्म डुब्नु भएको थियो त्यसैले रेडक्रसमा उहाँको पहिचान उचालिंदै थियो । उहाँ रेडक्रसको जिल्ला शाखाको उपसभापति, सभापति, केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षसम्म हुनु भयो । दिदीकै प्रेरणा र प्रोत्साहनले म पनि जिल्ला शाखाको उपमन्त्री, मन्त्री, केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष सम्म भएँ । दिदी उपसभापति छउन्जेल म जिल्लामा निर्वाचित भइ रहन्थे । दिदीले छोडेपछि म पनि चुनाव लड्न छाडे । साथीहरुको सद्भावका कारण केन्द्रीय सभासद् र जिल्ला कार्यसमितिको सदस्य अहिले पनि छु ।
नर्वदा दिदीको नेतृत्वमा जिल्ला कार्यसमितिमा रहेछ । जसरी काम गर्न सकियो त्यो दिदीको सद्भाव र सहयोगकै कारण हो । मेरो राजनीतिक कारणले अञ्चलाधीश र सिडियोको दबाबलाई थेक्दै मलाई निरन्तर सहयोग दिदीबाट मात्र होइन स्व. खेमराजजीबाट पनि भइरह्यो ।
दिदी र म दुई कार्यकाल केन्द्रीय समितिमा रह्यौं । दिदी उपाध्यक्ष र म केन्द्रीय सदस्य भएर र म उपाध्यक्ष र दिदी केन्द्रीय भएर । केन्द्रीय कार्यसमितिको बैठक होस् वा राष्ट्रिय अधिवेशनहरु अथवा केन्द्रीय तालिम सेमिनारमा हामी सँगै जान्थ्यौं । दिदीले बाटोका लागि खाना बनाएर लग्नु हुन्थ्यो, हामी मिलिजुली रमाइलोसँग यात्रा गर्दथ्यौं । दिदीसँग रेडक्रसमात्र होइन, जिल्ला शिक्षा समितिमा पनि सँगै काम गर्ने मौका पाइयो । धेरै कुरा सिकियो ।
दिदीको वैचारिक चिन्तन, प्रजातान्त्रिक थियो । अन्याय वहाँ सहन सक्नु हुन्नथ्यो । शिक्षकहरुको समस्या बुझेर उहाँले शिक्षक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निभाउनु भयो । शिक्षक संघ, संगठनको विभाजनमा उहाँ खिन्न हुनुहुन्थ्यो । तर, उहाँको कुरा सुन्ने को ? सबै त शिक्षक संघ र संगठनमा विभाजित थिए । उहाँ शिक्षक संघमा भएपनि शिक्षक संगठन सँग पनि बरोबरको व्यवहार गर्न चाहनु हुन्थ्यो ।
नेपालगन्जको सामाजिक क्षेत्रमा उहाँको महत्वपूर्ण ठाउँ थियो नै । त्यसैले उहाँ एक पटक नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य हुनुभयो । उहाँको सामाजिक कार्यको कदर गर्दै । तत्कालीन महाराजाधिराजबाट उहाँलाई राज्य परिषद्को सदस्यमा पनि मनोनित गरिएको थियो । राज्य परिषद्सँग उहाँको सम्बन्ध जुटेपछि काँग्रेस सँग उहाँको सम्बन्ध टुट्यो । तर, उहाँको व्यक्तिगत व्यवहारले गर्दा उहाँलाई सबै पार्टीका अग्रपंक्तिका नेताहरुले सम्मान गर्दथे र सबैसँग उहाँको राम्रो सम्बन्ध थियो ।
नर्वदा दिदी साहित्य र साहित्यकारहरुलाई साह्रै माया गर्नु हुन्थ्यो आफु स्वयंममा प्रखर साहित्यकार नभए पनि उहाँ साहित्य भनेपछि हुरुक्क हुनुहुन्थ्यो । मैले नेपालगन्जमा म.प.सा. संस्कृति कला प्रतिष्ठान गठन गर्दा उहाँबाट राम्रो सहयोग पाएको थिएँ । त्यस संस्थाबाट भएको बृहत उपन्यास गोष्ठी, प्रेम प्रकाश मल्ल मधुकर अभिनन्दन तथा साहित्यकारहरुको सम्मेलन आदी कार्यक्रमहरुमा उहाँले पूर्ण सहयोग गर्नुभएको थियो र राजधानीबाट आएका १५ जना साहित्यकारहरुको खानपानको व्यवस्था उहाँले नै गरिदिनु भएको मलाई सम्झना भइरहेछ ।
नर्वदा दिदी सामाजिक साहित्यक र राजनीतिक क्षेत्रमा महिला सहभागिता होस् भन्ने चाहनुहुन्थ्यो । यस विषयमा उहाँको टिप्पणी निकै तिखो र व्यङ्ग्यात्मक हुन गर्दथ्ये । विशेष गरी महिला शिक्षा र सामाजको सबै क्षेत्रमा महिलाको अग्रता हुनुपर्नेमा उहाँको विशेष जोड रहन्थ्यो ।
जीवनभर सामाजिक सेवामा समय बिताउनु हुने नर्वदा दिदीले वैवाहिक जीवनमा अभिरुचि देखाउनु भएन । उहाँ आजीवन एक महिला भएर बस्नुभयो ।
भन्छन्, असल मानिसको धैर्यको परीक्षा लिन इश्वर सधंै तत्पर रहन्छ । नर्वदा दिदी पनि एउटा असल मानिस हुनुहुन्थ्यो । इश्वरले उहाँको धैर्यको कठोर परीक्षा लिनुभयो । उहाँलाई क्यान्सर जस्तो डरलाग्दो रोग लाग्यो । तर नर्वदा दिदीले निकै धैर्यताका साथ त्यसलाई पनि सहनु भयो । उहाँ बिरामी भएर घर बसेको बखत हामी भेट्न जाँदा उहाँलाई कहिले पनि दुःखित र चिन्तित देखिएन । उहाँ बढो धैर्यताका साथ क्यान्सर जस्तो भयानक रोगसँग जुझिरहनु भयो । अन्ततः २०७६ साल जेठ १० गते एकाविहान २ बजे सम्म जुझिरहनु भयो र अन्तमा इहलोक छाडेर परमधाम तिर प्रस्थान गर्नुभयो ।
बाँकेले एकजना अग्रणी शिक्षा सेवी, समाजसेवी गुमायो । यो नेपालगन्जका लागि ठूलो क्षति हो । नर्वदा दिदीको पवित्र आत्माले परमधाम पाओस् । हामी उहाँको जीवनबाट केही सिक्न सकौं । सरलता, जीवटता, संघर्ष र सेवाकी प्रतिमूर्ति नर्वदा दिदीलाई हार्दिक श्रद्धासुमन ।