आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगशाला तयार हुँदैछ । रंगशालाको निर्माण कार्य सम्पन्न गर्न प्रतिक्षा गरिएको भीआइपी प्याराफिटको पहिलो चरणको सामाग्री सोमाबार राती नेपालगन्ज रंगशाला आइपुगेको छ । त्यससँगै प्राविधिकहरुको टोलीले प्याराफिट फिटिङ्गको काम अगाडि बढाएका छन् ।
भिआइपी प्याराफिटको फिटिङ्ग १० दिनभित्रै सक्ने लक्ष्य राखेपले लिएको छ । जसका लागि चार जना चिनियाँ सहित राखेपको प्राविधिक टोलीले काम अगाडि बढाएको हो । ‘१० दिनभित्रै प्याराफिटको जडान सक्ने लक्ष्य राखेका छौं’, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आवश्यक परे कार्यसमय बढाउनेदेखि जनशक्ति थप्ने सम्मका काम गर्न सकिन्छ ।’
भीआइपी प्याराफिटको दोस्रो चरणको सामाग्री पनि पाँच दिन अघि नै कलकत्ताबाट हिडिसकेको छ । ‘प्याराफिटको बाँकी सामान तीन दिनभित्रै नेपालगन्ज पुग्नेछ’, सदस्य विष्टले भने । राखेपले आठौंका लागि निर्मार्णाधिन सम्पूर्ण भौतिक संरचनाहरु चैत्र २५ सक्ने लक्ष्यका साथ काम अगाडि बढाएको जनाएको छ । ‘रंगशाला बाहेक अन्य ठाउँमा निर्माण भैरहेका संरचना पनि ५/७ दिनमा तयार हुनेछन्,’ सदस्य सचिव विष्टले भने, ‘नेपालगन्ज र दाङ्गको सेन्थेटिक ट्रयाक पनि समयमा नै सक्नेछौं ।’
राखेप सदस्य सचिव विष्टले आगामी चैत्र २५ गते भित्र पूर्वाधार सक्ने र २७ गते प्रतियोगिता उद्घाटन गर्ने लक्ष्यका साथ काम भैरहेको बताए । ‘हामी चैत्र २५ मै प्रतियोगिताका लागि तयार अवस्थामा रहने छौं’, उनले भने, ‘यद्यपि, प्रतियोगिताको मिति भने चैत्र १५ गते बस्ने राखेपको बैठकले तय गर्नेछ ।’
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रदेश ५ र नेपालगन्जबासीले आठौंका लागि गरेको प्रतिक्षा घडी अन्त्य हुने समय आएको बताएका छन् । भीआइपी प्याराफिटकै कारण यसअघि प्रतियोगिता सार्नु परेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अब प्रतियोगिता आयोजनाका लागि आशंका गर्नुपर्ने कुनै ठाउँ छैन ।’
चाइनाबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगन्ज रंगशाला आइपुगेको भिआइपि प्यारापिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्यारापिट जडानको काम गरिरहेको बताउँदै उनले छिटो काम सक्न रातदिन काम गर्ने बताए ।
रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्यारापिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् । ‘इन्जिनियरलाई जे–जे चाहिन्छ उक्त सामान तत्काल उपलब्ध गराउनुस,’ उनले भने ।
दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्ट सँगै प्रदेश नं. ५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँको उद्घाटन गर्ने तयारीमा छन् । चैतको अन्तिममा भएपनि आठाँैको उद्घाटन गर्ने राखेपको योजना छ । ‘आठौँ २०४२ सालपछिको ऐतिहासिक उपलब्धी हुनेछ’ सदस्य सचिव विष्टले भने । अहिले सवा अर्ब बढीको पूर्वाधार बनेको छ । आठांैले नेपालगन्जलाई पूर्वाधारयुक्त सहर बनाइदिएकोमा नेपालगन्जबासी उत्साहित छन् ।
०७५ भित्रै आयोजनाको बाध्यता
समाचारदाता
दैनिक नेपालगन्ज
आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा नगरिएपछि यसै बर्षभित्र प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता राखेप समक्ष छ ।
प्रतियोगिताका लागि बनाइएका सबै सामाग्रीहरुमा आठौं राष्ट्रिय २०७५ अंकित गरिएको छ । त्यसैले पनि प्रतियोगिता यो बर्ष आयोजना गर्न नसके करोडौं रुपैयाँ थप व्यायभार पर्ने देखिन्छ ।
‘मेडलदेखि खेलाडीको पोशाकसम्ममा आठौं राष्ट्रिय खेलकुद २०७५ अंकित गरिसकिएको छ’, एक खेल पदाधिकारीले भने, ‘कम्तिमा उद्घाटनसम्म भएपनि यसै महिनामा नगर्ने हो भने करोडौं नोक्सान ब्यहोर्नुपर्नेछ ।’
प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण समयमा नसकिंदा मंसिरमा गर्नु पर्ने प्रतियोगिता पुस, माघ, फागुन, चैत भन्दै सर्दै आइरहेको छ । प्रतियोगिताको मिति नतोकिएपनि चैत्र भित्रै प्रतियोगिता गर्न तयारीका सबै काम राखेपले जारी राखेको छ ।