प्रदेश ५ बजेट विवाद, काँग्रेस विना नै प्रदेश बैठक

विधेयकमाथि छलफल जारी
बुटवल/समाचारदाता

दैनिक नेपालगन्ज

प्रदेश पाँचको बुधवारको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको उपस्थिति बिना नै बसेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्ने प्रयास गरेता पनि सत्तापक्षका सांसदहरुको उपस्थितिपछि सभामुख पूर्ण बहादुर घर्तिले बैठक सूचारु गरेका थिए ।

 
काँग्रेसले बैठक अवरुद्ध गर्ने संकेत गरेपछि मंगलबार पनि दुई पटक सूचना टाँस गरी बैठक स्थगित भएको थियो । सरकारले ल्याएको वार्षिक कार्यक्रममा असन्तुष्टि जनाउँदै आएको नेपाली काँग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेल लगायतका सांसद र मुख्यमन्त्री शंकर पोखरेल लगायत सत्तापक्षका सांसदहरुको बैठक बसी बुधवार संसद सूचारु गर्ने सहमति भएको थियो ।

 
तर, मंगलबार नै सूचना टांस गरी बुधबार १२ बजेको लागि बैठक बोलाइएकोमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उपस्थित नभएपछि बैठक सूचारु गरेको सत्तापक्षका सांसदहरुले बताएका छन् । आफुहरुको उपस्थिति बिना नै संसद बैठक बसेको प्रति नेपाली कांग्रेसका सांसदहरुले भने आपत्ती जनाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले प्रमुख प्रतिपक्षी दलको उपस्थिति बिना बैठक संचालन गर्नु संसदीय दलको मूल्य र मान्यता विपरित भएको दावी गरेका छन् ।

 

 
यता सत्तापक्षका सांसदहरुले भने संसदमा आफुहरुको दुईतिहाई बहुमत भएको र नेपाली कांग्रेस बाहेक प्रतिपक्षी दलका अरु सांसदहरुको पनि उपस्थिति भएकोले संसदीय मूल्य मान्यता अनुरुप नै बैठक संचालन भएको बताएका छन् । बुधवारको बैठकमा स्वतन्त्र सांसद तारा जिसी र फोरमका संसदीय दलका नेता सहसराम यादवको उपस्थिति रहेको थियो । कार्यव्यवस्था परामर्श समितिका सदस्य दधिराम न्यौपानेले आफुहरुले संसदीय कार्यविधी र संविधान अनुरुप बैठक बसेको दावी गरे । सरकारले राम्रो बजेट ल्याएको र संघियता कार्यान्वयनमा जाने भयो भन्ने डरले नेपाली कांग्रेसले विभिन्न वहानामा विरोध गर्दै आएको बताए । सरकारले ल्याएको बजेट र आर्थिक विधेयक सर्वसम्मत् पारित गर्ने नेपाली कांग्रेसका सांसदहरुले संसद विकास कोषको लागि संसदमा अवरोध गर्दै आएको उनले दावी गरे ।

 
कार्यव्यवस्था परामर्श समितिका अर्का सदस्य भुमिश्वर ढकालले संसदीय अभ्यासको हिमायती ठान्ने नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले संसदिय अभ्यासलाई बुझ्न नसकेको टिप्पणी गरे । बुधवारको बैठकमा सरकारले संसदमा पेश गरेको विनियोजित विधेयक माथिको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरुले भाग लिएका थिए । यसअघि सोमबारको बैठकमा १३ जना सांसदहरुले छलफलमा भाग लिएका थिए । आज विहीबारको बैठकमा बिनियोजन विधेयक माथीको छलफलमा उठेका बिषयमा बिभागिय मन्त्रीले जवाफ दिने र दफावार छलफलका लागि सभामा पेश गर्ने कार्यसूचि तय गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया