फन्दामा नक्कली सुन बेच्ने गिरोह

बाँकेमा लामो समय देखि नक्कली सुन बेच्दै आएको एउटा गिरोहलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले नेपालगन्जबाट ४ केजी भएको सिमावट युक्त सुन सहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद भएको वस्तु २ केजी ३ सय ५ ग्राम रहेको बताउद उक्त वस्तुमा सुन नभई फलाम र सिसा रहेको जनाएको छ ।

 

 
‘सर्व साधरणहरु झुक्याएर सुनको नाममा फलाम बेच्ने गरेको अवस्थामै रंगे हात पक्राउ गरिएको हो’, दैनिक नेपालगन्ज कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले भने, ‘यिनीहरुको गिरोहले नयाँ र अनुभवहीन ब्यक्तिहरुलाई सुनको नाममा ठगी गर्दै आएको हो ।’ एक जना ब्यक्तिलाई तस्करहरुले सुनको नाममा फलाम बेच्न लागेकै समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको एसपी तामांगले बताए । शनिबार राति करिब साढे नौ बजे कारकाँदोमा रहेको एक होटलबाट सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 
क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले बाँके बैजापुर बस्ने मंगल प्रसाद थारु, सिन्धुपाल्चोक बस्ने कृष्णलाल श्रेष्ठ र दाङको तुलसीपुर बस्ने पूर्ण बहादुर विकलाई सुन सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेको अभियुक्तहरुबाट ५ वटा विस्कुटझैं आकारमा रहेको सुन जस्तो वस्तु बरामद भएको हो । श्रोतका अनुसार सुन भनेर दावी गर्ने वस्तु सुन नभई अन्य धातु रहेको छ । यद्यपि प्रहरी अनुसन्धान र जाँच अघि बढेकोले बरामद भएको बस्तुको विवरण पछि सार्वजनिक गरिने प्रहरी प्रमुख तामांगले बताए ।

 
पक्राउ परेका तीनै जना र बरामद नक्कली सुन जिल्ला प्रहरी कार्यालय बाँकेमा थप अनुसन्धानका लागि राखिएको छ । पक्राउ परेका दुई जना श्रेष्ठ र थारुले काठमाडौंबाट नेपालगन्जका व्यवसायीहरुलाई बिक्री गर्न सुन ल्याएको खुलेको हो ।
नेपालगन्जमा पक्राउ पर्दै आएको सुन कहाँबाट र किन तस्करी हुँदै आएको भन्ने सन्दर्भ कतिपयका लागि चिन्ताको विषय बन्ने गरेको छ । यद्यपि नेपालगन्ज मात्रै नभई नेपालका अन्य नाका बाट पनि सुन तस्करी हुने गरेको छ ।
सुन तस्करीको लागि नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र त्यसमा संलग्न कर्मचारी पनि बद्मान भइसकेको अवस्था छ । तस्करले विभिन्न शैली र तरिका प्रयोग गर्दै प्रहरीलाई समेत छल्ने गरेका उदाहरणहरु प्रशस्त छन् ।

 

 
राष्ट्र वैंकले व्यापार घाटा कम गर्ने उद्देश्यले परिणात्मक वन्देज लगाएपछि खासाबाट अवैध रुपमा सुन नेपाल भित्रने गरेको हो । व्यक्तिले तीन तोलासम्म सुनका गहना ल्याउन सिमा बाहिरबाट ल्याउन पाउने कानुनी प्रावधान छ । तर, भारतमा सुनको परिमाणमा केहि मिसावटयुक्त अन्य धातु प्रयोग गरेर नक्कली सुन बनाएर नेपाली क्षेत्रमा सर्व साधारणलाई ठगी गर्ने गिरोह फन्दामा परेको हो । प्रहरी अधिकारीहरुका अनुसार, पक्राउ परेका ब्यक्तिहरुले यसअघि दर्जन बढिलाई ठगी गरेका छन्, क्रमिक रुपमा उनीहरुलाई पनि खोजी गरिँदैछ ।

 

 
यसमा कति जना र को को संलग्न छन् भन्ने तथ्य विस्तारै बाहिर आउँछ, अनुसन्धानमा रहेका एक अधिकृतले भने, बाँकी विवरणहरुमा प्रहरीले सक्रियता अघि बढाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया