नेपालगन्जमा ५० बर्षपछि ‘हान’

ठूला लगानीका होटल व्यवसायीहरुको संगठन, होटल एशोसिएसन नेपाल (हान) स्थापनाको ५० बर्षपछि नेपालगन्जमा शाखा बिस्तार गरेको छ । मंगलबार नेपालगन्जमा केन्द्रीय समिति बैठक आयोजना गरेको हानले प्रदेश नं. ५ का अग्रणी व्यवसायीहरुको क्षेत्रीय भेला समेतको आयोजना गर्दै शाखा बिस्तार गर्ने निर्णय गरेको हो । त्यसका लागि हानका केन्द्रीय सदस्य असित समशेर राणाको नेतृत्वमा तदर्थ समिति गठन पनि गरिएको छ । ‘हानको यो १३औं शाखा हो’, महासचिव विनायक शाहले भने ।

 
व्यवसायिक एकता कमजोर हुदा यस क्षेत्रमा रहेका यथेष्ट पर्यटकीय सम्भावनाहरुको मार्केटिङ्ग हुन नसकेको हानका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले बताए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले पर्यटकलाई सहज र सरल आवागमनको व्यवस्था बनाउन राज्यको ध्यानाकर्षण पनि गरेका थिए । ‘भारतीय पर्यटकको लागि नेपालगन्ज केन्द्र बन्न सक्छ’, अध्यक्ष शाक्यले धार्मिक पर्यटनको गेटवे बनेको नेपालगन्जमा हान आउन ढिलो गरेको स्वीकार गरे । ‘पोखरा, चितवन र भैरहवा पछि नेपालगन्जमा हानको शाखा बिस्तार भैसक्नु पथ्र्यो’, शाक्यले भने ।

 
होटल उद्योगको स्थायीत्वका लागि चुनौति थपिएको धारणा राख्दै हानका अध्यक्ष शाक्यले सन् २०२० सम्म नेपालमा स्तरीय होटलका थप ४ हजार कोठा बिस्तार हुन लागेको बताए । ‘पर्यटक भने ८ लाख भन्दा बढाउन सकिएको छैन’, हानका महासचिव विनायक शाहले भने, ‘पूर्वाधारको सीमितता, विकासको सुस्त गतिले पर्यटकीय विकासको सम्भावनालाई अझ चुनौति थपिदिएको छ ।’

 
होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा नेपालगन्जमा बढ्दो लगानीले सम्भावनाको ढोका खोलेको हानका केन्द्रीय पदाधिकारीहरुको भनाइ थियो । ‘तर, नेपालगन्जको बाटो हु“दै पर्यटक आवागमन कसरी बढाउने भन्नेमा स्थानीय स्तरबाट योजना बनाउन जरुरी छ’, उनीहरुले स्थानीय होटल व्यवसायीहरुलाई भने, ‘त्यसका लागि विशेषज्ञता र अनुभवलाई हानले सहयोग गर्छ ।’

 
नेपालमा होटलका इन्टरनेशनल चेन बिस्तार समेत भैरहेको जनाउ दिंदै भारत र चीनका पर्यटकहरुका लागि मात्रै लक्षित गर्दै प्रचार, प्रसार र सुविधा बिस्तार गर्न सके पर्याप्त हुने व्यवसायिक अगुवाहरुको भनाइ थियो । ५० बर्ष अघि ८ वटा ठूला होटलले संगठित हुदै स्थापना गरेको हान भित्र देशभरीका १ हजार २ सय ७० वटा स्तरीय होटल संगठित भैसकेको महासचिव शाहले जानकारी दिए ।

 

हानले मुलुक संघीय संरचनामा गएकाले संस्थाको संरचना पनि सोही अनुरुप विकास र बिस्तार गर्ने योजना अनुसार नेपालगन्जमा भेला आयोजना गरिएको जनाएको छ ।
भेलामा इको टुरिजम डेभलपमेन्ट फोरम बर्दियाका अध्यक्ष मोहन चौधरीले ठाकुरद्वारा क्षेत्रका सम्भावनाहरु बारे छुट्टै प्रस्तुति गरेका थिए । भेलामा सहभागी विभिन्न व्यवसायीहरुले प्रहरी, प्रशासनबाट सुरक्षा उपलब्ध गराएर २४सै घण्टा पर्यटकहरुलाई आवागमनको सुविधा उपलब्ध गराउने अवस्थाको सिर्जना गर्न जोड दिएका थिए ।

‘हान’ नेपालगन्जमा राणाको नेतृत्व

होटल एशोसिएसन नेपाल (हान) नेपालगन्जको नेतृत्वमा असित समशेर राणा चयन भएका छन् । मंगलबार नेपालगन्जमा भएको प्रदेश नं. ५ स्तरीय भेलाले राणाको नेतृत्वमा नेपालगन्ज क्षेत्र स्तरीय शाखा बिस्तार गरेको हो ।
केन्द्रीय समितिको उपस्थितिमा भएको भेलाले गठन गरेको क्षेत्रीय शाखामा बर्दियाका कृष्ण प्रसाद भट्टराई प्रथम उपाध्यक्ष र कोहलपुरका रत्न बहादुर खड्का द्वितीय उपाध्यक्ष भएका छन् । नेपालगन्जका सरोज कुमार चन्द सचिव र तेज प्रसाद रेग्मी कोषाध्यक्ष भएको कार्यसमितिमा मोहनलाल चौधरी, राम बहादुर शाही, पदम वीर थापा, प्रतापकुमार शर्मा, लोकेन्द्र अर्याल, दिपेन्द्र अग्रवाल (दिपु), संजय सिंह र क्यान्डी शेरचन सदस्य छन् ।

प्रतिक्रिया

प्रतिक्रिया