रोजगारीमा ध्यान देऊ

नेपालगन्ज- वडामा महिला उद्योग संचालन गरि महिलाहरुलाई रोजगारीको सिर्जना गर्न स्थानीय सरकारको ध्यान जानुपर्ने नेपालगन्ज उप—महानगरपालिका वडा नम्बर १ को दिप ज्योती टोलका नागरिहरुले जोड दिएका छन् ।

बुधवार वडा नम्बर १ को दिप ज्योती टोलमा भएको जनताको आगनमा जनप्रतिनिधि कार्यक्रममा सहभागि भएका नागरिकहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा सहभागिहरुले वडाको वार्षिक योजना, वजेट तथा विकासको वारेमा आम नागरिकहरुले जानकारी पाउनुपर्ने सूचनाको हकको कार्यान्वयनमा वडाले पहल गर्दै आएको बताउँदै सुशासन प्रबद्र्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए । जनताको आगनमा जनप्रतिनिधि कार्यक्रमको माध्यामबाट वडाका महिला सदस्यहरु पनि टोल टोलमा आउनुले सबैले चिन्ने अवसर पाएको सहभागिहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै स्थानीय ओम प्रकास चन्दले भने, ‘वडामा ३ जना मात्रै जनप्रतिनिधि भएको बुझेका थियौं, कार्यक्रममा दुई जना महिला सदस्यहरुको उपस्थिति हुनाले महिला सदस्यहरुको सक्रियता बढेको पायौं ।’ वडाका प्रतिनिधिहरु टोलटोलमा गइ जनताका कुरा सुन्ने वातावरणको सिर्जना हुनु सकारात्मक भएको भन्दै यस्ता कार्यक्रम नियमित रुपमा सबै टोलहरुमा हुनपर्ने सहभागिहरुको भनाइ थियो ।
भौतिक पूर्वाधार निर्माण हुनु मात्रै विकास नभइ सामाजिक विकास, शिक्षा, स्वास्थ्य र मानविय सशक्तिकरणको विकास अझैं बढी महत्वपूर्ण भएको भन्दै सामाजिक विकासका कार्यक्रममा वडाले प्राथामिकता दिनुपर्ने सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा स्थानीय त्रिविक्रम मल्लले बेरोजगार युवा तथा महिलाहरुका लागि रोजगारको सिर्जना गरि आफ्नै टोलमा काम गर्ने वातारण बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा सदस्य सरस्वती महतले विगतमा वर्षहरुमा सिपमूलक तथा आयआर्जनमुलक तालिमहरु धेरै सञ्चालन भएपनि तालिम सिकेका सहभागिहरुले तालिमको सदुपयोग गर्न नसकेको बताइन् । तालिम सञ्चालन हुनुमात्रै ठुलो कुरा नभएको बताउँदै साँच्चिकै रोजगारी गर्ने प्रतिबद्धताका साथमा आउनेहरुका लागि सहयोग गर्न वडा कार्यालय पछाडी नहट्ने सदस्य महतको भनाइ थियो ।

बास नेपालगन्ज र एकाउण्टबिलिटी ल्यापद्वारा संचालित आर्थिक पारदर्शिताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्र्तगत सम्पन्न भएको उक्त कार्यक्रमा बासका निवर्तमान अध्यक्ष मन भण्डारी र कार्यक्रम सिएफे छविलाल सुनारले सुशासन, सामाजिक जवाफदेहिता र सूचनाको हकको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा ५० बढी स्थानीयको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया