सुर्खेत – कर्णाली प्रदेशसभाको बैठकले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको आइतबार बसेको चौथौ अधिवेशनको २५ औँ बैठकमा प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको हो ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि विधेयक बहुमतले पारित भएको हो ।
प्राङ्गारिक कृषि अभियान
प्रदेशसभा सदस्य अमरबहादुर थापाले विधेयकको छलफलमा भाग लिँदै प्रदेश सरकारले यसलाई अभियानका रुपमा लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गाउँगाउँमा अर्गानिकको महत्व बुझाउनका लागि सरकारले विज्ञको व्यवस्था गर्नुपर्ने थापाको भनाइ छ । भौगोलिक रुपमा विकट भएको प्रदेश भएको हुनाले राज्यले सञ्चालन गर्ने हरेक योजना तथा कार्यक्रमसँग जोडेर अभियानका रुपमा लागू गर्न उहाँले सुझाउनुभयो ।
सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री केसीले कर्णालीलाई अर्गानिक बनाउन सरकारले अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । तीन तहको उचित समन्वय र सहकार्यबाट कर्णाली प्रदेश अर्गानिक बन्ने भन्दै उहाँले यसमा सबैको महत्वपूर्ण योगदान आवश्यक रहेको बताउनुभयो । नेपालमा पहिलो पटक अर्गानिक कानून बनेकाले सबैभन्दा पहिला कर्णाली प्रदेश नै अर्गानिक बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाई मृत्यु घटनाको विरोध
प्रदेशसभा बैठकमा सुर्खेतको जङ्गलमा ठूलो सङ्ख्यामा मृत भेटिएका गाईगोरुको विषयले चर्चा पाएको छ । प्रदेशसभाको आइतबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले बाँकेले दैलेख–सुर्खेतलाई ‘डम्पिङ साइट’ गराएको भन्दै आपत्ति जनाउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक सीता नेपालीले दैलेख मगाइएका भनिएका गाई किन बाटोमै मारियो ? भनेर प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकारले छानबिन समिति बनाएर दोषी जुनसुकै ओहदाको भए पनि कारबाही गर्नुपर्ने बताउनुभयो । यही भदौ १३ गते राति नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेखको शीरस्थान क्षेत्रमा लैजान भनि ल्याइएका ३७० गाई गोरु सुर्खेतको सुब्बाकुना र कटकुवा जङ्गलमा बेवारिसे छाडिएका थिए । तीमध्ये ३७ गाई गोरु मृत फेला परेका थिए ।
अर्का सदस्य पद्मा खड्काले गाई मारिएको स्थान वीरेन्द्रनगर उपत्यकाको उत्तरी जलाधार क्षेत्र भएको र त्यहाँको पानीको मुहान दुर्गन्धित भई महामारी आउने खतरा रहेका तर्फ सजग गराउनुभयो । प्रदेशसभा सदस्य विन्दमान विष्टले नेपालगञ्जदेखि कटकुवासम्म गाई ल्याउँदा प्रहरीले के हेरेको थियो ? भनी प्रश्न गर्नुभयो । “रुट परमिट नै नभएका गाडीलाई कसले–कसरी अनुमति दियो ?, छाडा गाई गोरु कुन स्वार्थका लागि मगाइएको हो ?, तत्काल छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
‘भ्रष्टबहादुर’को संज्ञा
कालिकोटबाट प्रतिनिधित्व गर्नुहुने सत्तारुढ नेकपाका प्रदेशसभा सदस्य कुर्मराज शाहीले प्रदेश सरकार र सांसदलाई ‘भ्रष्टबहादुर र लुटबहादुर’को संज्ञा दिन थालिएको बताउनुभयो । कर्णाली राजमार्गमा खाल्डै खाल्डा, प्रदेश राजधानीकै सडकको अवस्था नाजुक हुँदा जनताले थुपै्रपटक यस्तो आरोप लगाएको आफूले सुनेको उहाँले बताउनुभयो ।
बैठकमा प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीका गाउँघरमा प्रदेशसभा सदस्य र प्रदेश मन्त्रीले योजना पारिदिएवापत कमिशन असुल्ने गरेको चर्चा चलेको बताउनुभयो । उहाँले रुकुम पश्चिम, कालिकोटलगायत जिल्लामा प्राविधिकसँग मिलेर उपभोक्ता समितिले लाखौँ बजेट दुरुपयोग गरेको विवरण आइरहेको जनाउँदै सम्बन्धित मन्त्रालयलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो । (रासस)