बाँकेमा सहकारी युवा सम्मेलन, समृद्धिका लागि युवा उद्यम विकास प्रतिबद्धता

समृद्ध नेपाल निर्माणका लागि उद्यमशीलता विकासको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । पहिलो पटक नेपालगन्जमा बुधबार आयोजना गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि. (नेफ्स्कुन) को प्रदेश स्तरीय सहकारी युवा सम्मेलनले सात बुंदे साझा प्रतिबद्धता पत्र जारी गर्दै सहकारी र युवा उद्यमीमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने पहल अघि सारेको हो ।

 
प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका झण्डै ३ सय सहकारी सम्बद्ध युवा सम्मेलनले बचत तथा ऋण सहकारी मार्फत लगानी गरिने कुल ऋण लगानीको कम्तिमा २५ प्रतिशत रकम युवा उद्यमशीलता कार्यक्रम मार्फत परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अघिल्लो बर्षको तथ्यांकमा बचत तथा ऋण सहकारीले देशैभरी २ सय ६७ अर्ब लगानी गरेका छन्’, एक प्रश्नको जवाफमा नेफ्स्कुनका सूचना अधिकारी सञ्जय तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, सबै प्रदेशमा यसखालको युवा सम्मेलन गरी युवा उद्यमशीलतामा लगानी बढाउने अभियान थालिएको छ ।

 
‘आगामी ५ बर्षभित्र बचत तथा ऋण सहकारीमा आबद्ध युवा सदस्यहरुको २ प्रतिशत उद्यमी निर्माण गर्न प्रतिबद्ध’ भएका सम्मेलनका सहभागीहरुले प्रत्येक ५ बर्षमा कुल सदस्यको ३० प्रतिशत युवा सदस्य र नेतृत्व तहमा २० प्रतिशत युवा सहभागिताका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

 
समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय नारालाई साकार बनाउन युवा उद्यमशीलताको विकासमा सम्मेलनले जोड दिएको छ । सम्मेलनमा गरीवी न्यूनीकरण, सामाजिक एकता एवम् सद्भाव र स्वरोजगारी सिर्जना गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर मुलुक निर्माणका लागि क्रियाशिल हुने संकल्प सहित नेफ्स्कून, सम्बन्धित निकाय (पालिका, प्रदेश र संघ)को संयुक्त सहभागितामा बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत उद्यमशिलता समाधान विधि र उद्यम विकास निर्देशिका तयार गरी कार्यान्वयन गर्न प्रतिबद्धता जनाइएको थियो ।

 
सात बुंदे प्रतिबद्धतामा स्थानीय स्तरमा नै सहकारी मार्फत स्थानीय श्रोत, साधनको उपयोग गर्दै युवा लक्षित रोजगारी, उत्पादन वृद्धि र बजारीकरणका कार्यक्रम मार्फत सम्बन्धित निकायसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने उल्लेख छ । ‘युवा सदस्य अभिवृद्धिका लागि युवा उपसमिति गठन गरी रणनीतिक योजना सहित आगामी पाँच वर्ष भित्र कुल सदस्यको ३०% युवा सदस्य र नेतृत्व तहमा २०% युवा सहभागिता सुनिश्चितताको लागि नीतिगत व्यवस्था गर्न प्रतिवद्ध छौं’, साझा प्रतिबद्धतामा उल्लेख छ, ‘प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम तीनवटै प्रदेशको पारस्परिक समन्वयमा तीन तीन वटा साकोस मैत्री पालिका (गाउँ÷नगर÷ उपमहानगर÷महानगर) छनौट गरी युवा सहभागिता र उद्यमशिलता नमुना साकोस कार्यक्रम लागु गर्न प्रतिवद्ध छौं ।’

 
दुई सय ५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवाको सहभागिता रहेका सहकारी युवा सम्मेलनमा सहकारीमा युवा सहभागिता र युवा उद्यमशीलता, सहकारी र नेतृत्व विकासका विषयमा छलफलपछि साझा प्रतिबद्धता जारी गरिएको थियो ।

त्यसअघि सम्मेलनको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् । त्यसक्रममा उनले सरकारको अनावश्यक विरोध गर्नुभन्दा सुझाव दिन आग्रह गरेकी थिइन् । मन्त्री पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउँदै भनिन्, ‘युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन ।’ त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु पर्ने मन्त्री पौडेलको भनाइ थियो ।
मन्त्री पौडेलले बजारीकरण नहुँदा विचौलिया फष्टाइरहेको बताइन् । ‘पर्याप्त मात्रामा वस्तु उत्पादन हुन सकेका छैनन्’, मन्त्री पौडेलले भनिन्, ‘उत्पादित वस्तुले पनि राम्रो मूल्य नपाएर बिचौलियाको गोजी भर्ने काम भैरहेको छ ।’ उनले त्यस्तो प्रवृत्ति सहकारीको माध्यमबाट सरकारले अन्त्य गर्ने बताइन् ।

 
वस्तुगत सबैखाले सहकारीले युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुने बताइन् ।

 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी बस्नेतले सहकारीमा युवाको सहभागिता तीन प्रदेशका २१ जिल्लाका युवालाई लक्षित गरी सम्मेलनको आयोजना गरिएको जानकारी दिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले दशवर्ष अघि २००९ मा गरेको अध्ययन अनुसार सहकारी संस्थामा २० प्रतिशत मात्र युवा सहभागिता रहेको थियो भने नेतृत्व १५ प्रतिशत रहेको थियो । अहिले यो प्रतिशत अझ घटेको सङ्घका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको भनाइ छ । सापकोटाले सम्मेलनले युवालाई सहकारीमा आबद्ध हुन अभिप्ररित गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया